चरिकोट अस्पतालमा ७ सय भन्दा बढिले गरे सुरक्षित गर्भपतन

इश्वर बिश्वकर्मा
चरिकोट, भदौ १८
दाेलखाकाे सदरमुकाम चरिकाेटमा अवस्थित प्रस्तावित चरिकोट अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) बाट ३ वर्षको अवधिमा ७ सय ७३ जना महिलाले सुरक्षित गर्भपतन गरेका छन् ।
आर्थिक वर्ष २०७४÷०७५ मा २ सय ४० जनाले सुरक्षित गर्भपतन गरेका थिए । २०७५÷०७६ माग २ सय ५१ जना महिलाले अस्पतालमा सुरक्षित गर्भपतन गरेका अस्पतालका सुचना अधिकारी शान्ति प्रसाद न्यौपानेले बताए ।
गत वर्ष २०७६÷०७७ मा अघिल्लो वर्षहरुको तुलनामा गर्भपतन गराउने बढेका छन् । गत वर्ष २ सय ८२ जना महिलाले अस्पतालबाट सुरक्षित गर्भपतन गराएको उनले बताए ।
१८ हप्तासम्मको गर्भपतनको इजाजत प्राप्त अस्पतालमा सुचिकृत स्वास्थ्यकर्मीद्वारा मापदण्ड अनुसार नि ः शुल्क सुरक्षित गर्भपतनको सुविधा उपलब्ध रहेको छ । सचेतना बढाई गर्भपतन गर्ने अवस्था नै आउन नदिनु पर्ने सुचना अधिकारी न्यौपाने बताउँछन् । अस्पतालबाट स्थाई बन्ध्याकरण गत वर्ष १ सय ८४ जनाले मात्र गरेका छन् । जसमा भ्यासेक्टोमी १ सय २१ जना पुरुष र मिनील्याप ६३ जना महिलाले प्रयोग गरेको सुचना अधिकारी न्यौपानेले बताए । त्यसैगरि परिवारकाे नियाेजनकाे अस्याइ साधन प्रयाेग गर्ने न्युन रहेकाे उनले बताए ।
                                                                  ‘बाध्यता बिनाको असुरक्षित गर्भपतन  गर्नु अपराध’

महिला अधिकारकर्मी एवं आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीले सुरक्षित गर्भपतन महिलाहरूको स्वास्थ्य समस्या वा बाध्यता समाधानको उपाय रहेको बताइन् । बाध्यता र समस्या भएका महिलालाई सम्मानपूर्वक सुरक्षित गर्भपतन सेवा लिन पाउनु अधिकार हो । तर कुनै बाध्यता र समस्याबिनै गरिने गर्भपतन अधिकार नभएर अपराध र विकृति रहेको उनले बताइन् ।  साथै लिङ्ग पहिचान गरेर  लुकिछिपी गर्भपतन गर्ने गरिएकाे पाइएकाेले त्यसतर्फ राज्यकाे ध्यान जानुपर्ने उनि बताउछिन् । कतिपयले त असुरक्षित रुपमा गर्भपतन गराउने पाइएकोले गर्भपतन गराउँदाको असर, जोखिम, परिवार नियोजन सम्बन्धी ज्ञान, यौन तथा प्रजनन् शिक्षालाई बृहत बनाउनु पर्ने अध्यक्ष कार्की बताउँछिन् ।
                                                                      

                                                                      गर्भपतन सम्बन्धी कानुनी प्रावधान के छ त ?

मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद (१३)को गर्भ संरक्षण विरुद्धको कसूर अन्तर्गत दफा १८९ मा यदि गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यान खतरामा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त राय भई गर्भवती महिलाको मञ्जुरीले बाह्र हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था रहेको छ । साथै, जवर्जस्ती करणी वा हाडनाता करणी बाट रहन गएको अठार हप्तासम्मको गर्भ तथा रोग प्रतिरोधात्मक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग शरीरमा भएकी महिलाको मञ्जुरीले गर्भपतन गराउन सकिन्छ ।

साथै सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १५, सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय नीति, २०६० र सुरक्षित गर्भपतन सेवा प्रक्रिया, २०६० अनुसार अवाञ्छित वा गर्भवती महिलाको स्वास्थ्यमा खतरा उत्पन्न हुन सक्ने अवस्थामा गर्भपतन गराउने जायज ठानिन्छ । तर मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १८८ (२) अनुसार कसैले गर्भवती महिलालाई करकाप गरी वा धम्की दिइ वा ललाई फकाई वा प्रलोभनमा पारी गर्भपतन गराउन हुँदैन र गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान गरि गरिने गर्भपतनलाई गैरकानुनी कार्य मानिएको छ ।

कसैले यस्तो कसूर गरेमा वा गराएमा गर्भधारणको अवधी हेरी १ बर्ष देखि ५ वर्ष सम्म कैद र दश हजार सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । त्यसैगरि, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य ऐन २०७५ को दफा १६ मा बलपूर्वक गर्भपतन गराउन नहुने र दफा १७ मा लिङ्ग पहिचान गरी गर्भपतन गर्न नहुने कुरा उल्लेख रहेको छ । उक्त व्यवस्थाले व्याप्त रहेको छोरा प्रतिको मोह र छोरी प्रतिको पुर्वाग्रह तथा भेदभावका कारण हुने स्त्री जातिको भ्रुण हत्याको परिपाटीलाई रोक्ने प्रयत्न गरेको छ ।

Shares

Be the first to comment on "चरिकोट अस्पतालमा ७ सय भन्दा बढिले गरे सुरक्षित गर्भपतन"

Leave a comment

Your email address will not be published.


*