चरिकोटमा बसपार्क नहुँदा पार्किङ अस्तव्यस्त

ईश्वर बिश्वकर्मा ÷चरिकोट, दोलखामा सवारी साधनको चाप बढ्दो छ । तर पार्किङको समस्या पनि उत्तिकै देखिएको छ । जिल्लाको सदरमुका चरिकोटमै व्यवस्थित बसपार्क छैन । जसले गर्दा बजार अव्यवस्थित देखिएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र चरिकोटमा बसपार्क अभावमा जथाभावी सवारी साधन पार्किङ हुने गरेको छ । सडकमा जथाभावी सवारी साधन पार्क गरिँदा दुर्घटनाको जोखिम बढ्नुका साथै सवारी आवागमनमा समस्या हुने गरेको छ । बसपार्क नहुँदाको असर पैदलयात्रुलाई समेत देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख विष्णुराज पुरीले चरिकोटमा बसपार्क अभावमा अव्यवस्थित पार्किङको समस्या बढेको सुनाउनुभयो । “सडक विभाग अगाडीको क्षेत्रलाई बस स्टोप भनि निर्धारण गरिएको थियो । तर यातायात व्यवसायीहरुले त्यसैलाई बसपार्कमा परिणत गरिदिएछन् । अनि त्यो भन्दा तलतिरको सडकलाई नै बसपार्क भन्ने चलन रहेछ । तर त्यो बसपार्क होइन र त्यसलाई बसपार्क भन्न मिल्दैमिल्दैन ।” उहाँले भन्नुभयो “बस पार्क गर्ने ठाउँ नै अन्त नभएपछि सवारी चालकले बस सडकमै पार्क गर्नुपर्ने बाध्यता रहेको छ । त्यसले गर्दा दुर्घटनाको जोखिम बढेको छ, भने अर्काे तर्फ बजार कुरुप देखिएको छ ।” जिल्लाको सदरमुकाममै बसपार्क नभएको जिल्ला पहिलो पटक देखेको सुनाउँदै पुरीले भन्नुभयो, “मैलेँ १७–१८ वटा जिल्लामा काम गरेँ । तर सदरमुकाममै बसपार्क नभएको जिल्ला दोलखा मात्र पाएँ ।” उहाँले थप्नुभयो “चरिकोटमा अहिले बसपार्क भनिएको ठाउँ वास्तवमा बसपार्क होइन । तर यसैलाई बसपार्क भनेर सवारी साधन पार्किङ गर्ने गरेका छन् ।“ जुनसुकै ठाउँमा सवारी साधन चल्ने थालेपछि बसपार्कको अवधारणा लागू गरिएको हुन्छ । तर चरिकोटमा भने बसपार्क नै बनाइएको छैन। “सडक निर्माण गर्ने क्रममा सुरुमै बसपार्क निर्माण गरिनुपर्ने हो । तर यहाँ त्यस्तो नभएको पाइएन ।” उहाँले भन्नुभयो “ भानुभक्त नेपाल ट्राफिक प्रमुख हुँदा बसपार्कको विषयमा छलफल भएको रहेछ । त्यो छलफलले बसपार्क बनाउने निर्णय गरिएको भन्ने सुनिएको छ । तर म नयाँ भएकोले पुरा जानकारी पाएको छैन ।” नगरपालिकाका ईन्जिनियर सुरेश राउतले नगरपालिकाले  बसपार्क बनाउने योजना ल्याएको भएपनि बसपार्कको लागि उपयुक्त ठाउँ अभावमा त्यसले साकार रुप नलिएको सुनाउनुभयो । उहाँले भन्नुभयो, बसपार्क बनाउन अध्ययन भईसकेको छ । दुई वटा स्थानमा गरिएको अध्ययनको क्रममा गौरीशंकरबाल गृहको नजिक बसपार्क निर्माण गर्नु उपयुक्त देखिएको छ । तर सामुदायिक वन क्षेत्रको जग्गा भएकोले प्रदेश सरकारले लगानी गर्न मानेन । सोही कारण त्यस क्षेत्रमा बसपार्कको योजना अनुसारको कामले सफलता पाउन सकेन ।“ उहाँले चरिकोटमा बसपार्क निर्माण गरी पार्किङलाई व्यवस्थित गरिनु आवश्यकता रहेको सुनाउनुभयो । उहाँका अनुसार अस्थायी रुपमा सानो ’भेयिकल‘को लागि पुस्तकालयको तलतिरको खाली भागमा पार्क बनाउने काम सुरु भएको छ ।

Shares

Be the first to comment on "चरिकोटमा बसपार्क नहुँदा पार्किङ अस्तव्यस्त"

Leave a comment

Your email address will not be published.


*