चरिकोटमा विज्ञान सामग्री प्रदर्शनी सम्पन्न

चरिकोट ः सदरमुकाम चरिकोटमा विज्ञान सामग्री प्रदर्शनी सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई दोलखाको आयोजनामा माध्यमिक विद्यालय स्तरीय विज्ञान सामग्री प्रदर्शनी कार्यक्रम शुक्रवार सम्पन्न भएको हो ।
सदरमुकामको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयमा सम्पन्न प्रदर्शनीमा दोलखामा रहेको नौ स्थानीयतहहरुमा यसअघि नैं सम्पन्न भएको प्रदर्शनीमा प्रथम भएका जिरी नगरपालिका बाहेकका आठ वटा स्थानीयतहबाट छनोट भएका विद्यालयहरु सहभागी थिए । प्रदर्शनीमा गौरिशंकर गाउँपालिकाबाट निलकण्ठेश्वर मावि, विगू गाउँपालिकाबाट शान्तिआदर्श मावि, कालिञ्चोक गाउँपालिकाबाट कालिनाग मावि(सिंगटी), बैतेश्वर गाउँपालिकाबाट हनुमन्तेश्वर मावि, मेलुङ गाउँपालिकाबाट त्रिभुवन मावि, तामाकोशी गाउँपालिकाबाट गोल्मेश्वर मावि, शैलुङ गाउँपालिकाबाट दुर्गा मावि तथा भीमेश्वर नगरपालिकाबाट मोर्डन नेपाल स्कुल सहभागी थिए । अप्रतियोगी विद्यलयको रुपमा पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयले पनि प्रदर्शनीमा भागलिएको थियो ।
प्रदर्शनीमा सहभागी विद्यालयहरु मध्ये त्रिभुवन मावि, मेलुङ प्रथम, मोर्डन नेपाल स्कुल द्वितीय, हनुमन्तेश्वर मावि तृतीय तथा शान्ति आदर्श मावि, लादुक ले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने विद्यालयले क्रमस पाँचहजार , तीनहजार, दुईहजार तथा एकहजार नगद तथा प्रमाण पत्र प्राप्त गरेका थिए । प्रथमहुने विद्यालले बाग्मती प्रदेश स्तरीय विज्ञान सामग्री प्रदर्शनीमा भाग लिन पाउने उक्त अवसरमा जानकारी दिइएको थियो ।
विद्यार्थीमा विज्ञानप्रति रुची जगाउन तथा उनीहरुमा अन्तरनिहित सिर्जनशिलतालाई प्रस्फुटन गर्न मद्दत पुगोस भन्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको शिक्षाविकास तथा समन्वय इकाई दोलखाका प्रमख शंकरबाबु श्रेष्ठले उक्त अवसरमा बताउनु भएको थियो । इकाई प्रमुख श्रेष्ठको सभापतित्व तथा जिल्ला समन्यव समितिका संयोजक बर्जुराम घतानीको प्रमुख आतिथ्यता तथा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, नेपाल पत्रकार महासंघ दोलखाका सभापती दिपशंकर चौलागाईं, कालिञ्चोक माविका प्रअ नवराजप्रसाद न्यौपाने, पशुपति कन्या मन्दिर माविका प्रअ गोविन्दनारायण मानन्धर, कालिनाग माविका प्रअ दाताराम नेपाल लगायतको उपस्थिति थियो ।

Shares

Be the first to comment on "चरिकोटमा विज्ञान सामग्री प्रदर्शनी सम्पन्न"

Leave a comment

Your email address will not be published.


*