चरिकोटमा पोषण प्रदर्शनी मेला सम्पन्न

ईश्वर विश्वकर्मा
चरिकोट, असार १२
दोलखाको सदरमुकाम चरिकोटमा आइतबार विद्यालयस्तरीय पोषण प्रदर्शनी मेला सम्पन्न भएको छ । पोषणयुक्त खानाको महत्व सहितको सचेतना अभिवृद्धिका लागि भीमेश्वर नगरपालिकामा सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत मेला आयोजना गरिएको हो ।
मेलामा सामुदायिक तथा संस्थागत विद्यालयले तयार तथा व्यवस्थापन गरेको पोषणयुक्त खानेकुराको प्रदर्शन गरिएको थियो । जंगफुडलाई निषेध गरी सन्तुलित भोजनको नियमित सेवन गरे मानव शरीर स्वस्थ हुने र चिरायु जीवन यापन गर्न सकिने मेलामा सहभागी विद्यार्थीहरूले दर्शकहरूलाई जानकारी दिएका थिए । जंगफुड हेर्दा आकर्षक हुने र खाँदा निकै स्वादिलो हुने भएपनि कालान्तरमा शरीरमा हानी हुने भएकोले त्यसको सेवनमा प्रतिबन्ध लगाइनुपर्ने बताएका थिए । उनीहरूले आफ्नै गाउँघरमा उत्पादित अन्नबालीबाट बनेका परिकारको सेवन लाभदायक हुने मेलाका दर्शकहरूलाई जानकारी दिएका छन् । मेलामा पौष्टिकयुक्त खाना प्रदर्शन गरिनुका साथै पौष्टिकयुक्त युक्त आहार, स्वस्थ शरीर लगायतका नारा र जानकारीमूलक पर्चा र पोस्टरहरू राखिएको छ । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक श्याम खड्काले मेला आयोजना गर्नुको मुख्य उद्देश्य पोषण सम्बन्धी सचेतना अभिवृद्धि र पोषण अवस्थामा सुधार ल्याउने रहेको बताउनुभयो । उहाँले यस्ता किसिमका कार्यक्रमले सचेतना वृद्धि गरी स्वस्थ र दक्ष नागरिक बन्न उत्प्रेरणा मिल्ने बताउनुभयो । मानव शरीरमा स्फूर्ति र शक्ति कायम गर्नका लागि पोषणयुक्त खानेकुराको मात्रा मिलाई सेवन गर्नुपर्ने हुन्छ । तर कतिपयले अझै पनि ज्ञान र सीपको अभावमा पोषणयुक्त खानेकुराबाट वञ्चित हुँदा पोषण अवस्था खस्कदो रहेको अवस्थामा सचेतना सहित पोषण  अवस्थामा सुधारका लागि मेलाले सहयोग गर्ने देखिएको स्वास्थ्य संयोजक खड्काले बताउनुभयो । निरोगी जीवनका लागि पोषणयुक्त खानेकुराको विकल्प नरहेको उहाँको भनाइ थियो । मेलामा १२ वटा भन्दा बढी विद्यालयका पोषणयुक्त खानेकुरा र सन्देश सहित स्टल राखिएको थियो ।

Shares

Be the first to comment on "चरिकोटमा पोषण प्रदर्शनी मेला सम्पन्न"

Leave a comment

Your email address will not be published.


*