ईश्वर विश्वकर्मा
चरिकोट, भदौ ११
दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबार अन्तर मावि नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । १५ औँ पुस्तकालय दिवसको अवसरमा गौरीशंकर सामुदायिक पुस्तकालयद्धारा आयोजित प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले उद्घाटन गर्नुभयो ।
सो क्रममा बौद्धिक वृत्ति विकासका लागि पुस्तकालय महत्वपूर्ण रहेको बताउँदै प्रजिअ खतिवडाले पुस्तकालय जाने र अध्ययन गर्ने संस्कृति त्याग्न नहुने सुनाउनुभयो । उहाँले जिल्लाको सबै पालिकामा पुस्तकालय विस्तार गरी त्यसलाई समुदायको शैक्षिक र बौद्धिक विकासको केन्द्र बनाइनुपर्नेमा जोड दिनुभयो । समाजमा चरित्रवान्, प्रतिभावान्, बौद्धिक र दक्ष जनशक्ति निर्माणको लागि पुस्तकालय ज्ञान र शिक्षाको खानी रहेको उहाँको तर्क थियो । प्रजिअ खतिवडाले विद्यार्थीहरूको बौद्धिक विकास र परीक्षणका लागि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनु असल कार्य रहेको बताउनुभयो । यस्ता कार्यक्रम तथा गतिविधिले पुस्तकालय प्रतिको आकर्षण बढ्ने उहाँको भनाइ थियो ।
उद्घाटन कार्यक्रममा पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतले बाजेदेखि नातिसम्म, किसानदेखि अनुसन्धानकर्ता सम्मको स्वतस्फुर्त अध्ययन थलोको रुपमा पुस्तकालय सञ्चालनमा रहेको बताउनुहुँदै पुस्तकालयले समुदायमा शैक्षिक, सामाजिक, सांस्कृतिक र आर्थिक समृद्धिका लागि काम गरिरहेको बताउनुभयो । विद्यार्थी जीवन बौद्धिक विकासको चरम समय भएकोले ज्ञान र शिक्षाका लागि पुस्तकालय र विद्यालय परिपुरक रहेको उहाँले बताउनुभयो । संसार जित्न शिक्षा सबैभन्दा शक्तिशाली अस्त्र भएकोले अहिलेको समयमा शिक्षा प्राप्त नगरेको मानिस शक्तिहीन हुने उहाँको तर्क थियो ।
“पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ” भन्ने नाराका साथ आयोजित हाजिरी जवाफ प्रतियोगितामा भीमेश्वर नगरपालिकाका सामुदायिक र संस्थागत १६ वटा विद्यालय समूह सहभागी भएका थिए । ती समूह बिच भएको प्रतिस्पर्धामा मोर्डन नेपाल बोर्डिङ स्कुल प्रथम, कालिञ्चोक मावि द्वितीय, कुटिडाँडा मावि तृतीय र द राइजिङ स्टार बोर्डिङ स्कुल सान्त्वना भएको छ । विजयी प्रतियोगीहरूले क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगद सहित प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । १२ गते तिज विषेश कार्यक्रममा बिजेताहरूलाई पुरस्कार वितरण गरिने पुस्तकालयका अध्यक्ष बस्नेतले बताउनुभयो ।
सदरमुकाम चरिकोटमा अवस्थित सबैको साझा गौरीशंकर सामुदायिक पुस्तकालय २०६० सालमा स्थापना भई निरन्तर शैक्षिक विकासमा योगदान दिने एक मात्र पुस्तकालय हो । १० हजार भन्दा बढी पुस्तक सङ्ग्रहित पुस्तकालयमा पुस्तक मात्र होइन, खेलकुद, मनोरञ्जन र प्रविधि र प्राविधिक प्रयोगको समेत सुविधा रहेको छ । शान्त, सुन्दर र आकर्षक स्थानमा रहेको उक्त पुस्तकालय अपाङ्गमैत्री र विपत प्रतिरोधी भवनमा सञ्चालित छ ।
Be the first to comment on "चरिकोटमा पुस्तकालय दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता"