चरिकाेटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख ८
प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्केले निर्वाचनको बेला पत्रकारहरुले आचारसंहिता पूर्ण पालना गर्नुपर्ने बताउनुभएको छ । बिहीबार दोलखा सदरमुकाम चरिकोटमा आयोजित स्थानीय तहको निर्वाचनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सदस्य मास्केले निर्वाचनका बेला सञ्चारगृह र सञ्चारकर्मीहरुले निर्वाचन  र पत्रकार  आचारसंहिता पालना गरी सत्य, तथ्य र निष्पक्ष समाचार सामाग्री सम्प्रेषण गरेर निर्वाचनलाई धाँधलीरहीत र शान्तिपूर्ण बनाउन सहयोग गर्नुपर्ने बताउनुभएको हो । कार्यक्रममा आचारसंहिता उल्लंघन गरी सम्प्रेषित समाचारहरुको उदाहरणसहित कार्यपत्र प्रस्तुत गर्नुहुँदै उहाँले सञ्चारकर्मीको गलत समाचार सामाग्रीले समाजमा नकरात्मक प्रभाव पर्ने तथा कहिलेकाँही गम्भिर दुर्घटना समेत निम्त्याउन सक्ने बताउनुभयो । निर्वाचनको बेला सञ्चारकर्मीहरु कसैको लोभमा नपरी निष्पक्ष तवरबाट आफ्ना पाठक, स्रोता तथा दर्शकलाई समाचार सामाग्री प्रस्तुत गर्नुपर्ने सुनाउनुभयो । निर्वाचनको बेला प्रेस काउन्सिल नेपाल थप सशक्त रुपमा सञ्चारमाध्यम र सञ्चारकर्मीले उत्पादन गर्ने गरेका सामाग्रीको निगरानी तथा अध्ययन गरिरहेको बताउनुहुँदै त्यस क्रममा आचारसंहिता विपरीतका सामाग्री उत्पादन गरेको पाइएमा कारबाही गरिने भएकोले सजग र सचेत भएर काम गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका पुर्व अध्यक्ष जीवन लामाले निर्वाचनको बेला पत्रकारहरुले आचारसंहिता पूर्ण रुपमा पालना गरी निर्वाचन स्वच्छ रुपमा सम्पन्न गर्नलाई सघाउनुपर्ने बताउनुभयो । पत्रकारहरुले सचेत भए प्रेस काउन्सिल नेपालले कारबाही गर्नुपर्ने अवस्था नै नआउने सुनाउनुभयो । हुराडेक नेपाल दोलखाले सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजना र चरिकोट मिडिया फाउण्डेसनले आयोजना गरेको उक्त अन्तरक्रियामा जिल्ला स्थित क्रियाशील सञ्चारकर्मी करिब २५ जनाको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "चरिकाेटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*