घरदैलोमा उम्मेद्वार

प्रमुखका उमेद्वार हरिवँश चाैलागाइ

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख १७
२०७४ को स्थानीय निर्वाचनमा दुई दलीय गठबन्धनलाई पराजित गर्दै दाेलखाका नौ वटै पालिका र अधिकांश वडामा एमालेले नेतृत्व पायो । उसले फेरी पनि आफ्नो विरासत जोगाउने दाउले आसन्न निर्वाचनमा होमिएको छ । तर यो पटक उसले चार दलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनमा एमालेबाटै छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी दलसँगै छ। यो गठबन्धन एमालेको विरासत भत्काउने योजना बुनेर चुनावी मैदानमा उत्रिन लागेको छ । पाँच वर्ष अघि पराजित हुदाँको तितो अनुभवलाई भुलेर यो पटक मिठो परिणाम लिने कांग्रेस र माओवादीका उम्मेद्वारहरुले सोच बनाएका छन् । गठबन्धन र एमालेले आ–आफ्नो तर्फबाट सक्षम, बलियो उम्मेदवारहरु खडा गरेर चुनावी मैदानमा भिड्दै छ। अहिले सो राजनीतिक दलहरु नेता तथा कार्यकर्ताहरु आफ्ना उम्मेदवरहरुलाई जिताउन मत माग्दै जनताको घरदैलोमा पुग्न थालेका छन् । आ–आफ्नो पार्टीको चुनावी गीत घन्काउँदै, झन्डा हल्लाउँदै गाउँमा एक पटक फेरी नेताहरुको चहलपहल बढ्दा रौनकता छाएको छ ।
बैशाख ११ र १२ गते शक्ति प्रदर्शनसहित उम्मेद्वारी मनोनयन दर्ता गरेका राजनीतिक दलका उम्मेद्वारहरु नेता तथा कार्यकर्ताहरुसँगै अहिले गाउँबस्ती छिरेका हुन् । भीमेश्वर नगरपालिकामा एमाले र गठबन्धनतर्फका विभिन्न पदका उम्मेद्वारहरुले आफुले नेतृत्व पाएमा भीमेश्वर नगरपालिकाको समृद्धिका लागि काम गर्ने योजना सुनाउँदै घरदैलो अभियानलाई तीव्र बनाएका छन् । नगरपालिकामा एमालेतर्फबाट प्रमुखका उम्मेद्वार हरिवंश चौलागाईँ र उपप्रमुखका उम्मेद्वार कमला बस्नेत मतदाताको घरमा पुगिरहनुभएको छ । नगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखमा कांग्रेसबाट ईश्वरनारायण मानन्धर र उपप्रमुखका उम्मेद्वार समाजवादीबाट संगिता प्राखिन घरदैलोमा पुगिरहनुभएको छ । प्राचिन, ऐतिहासिक र सांस्कृतिक नगरी भीमेश्वर नगरपालिकाको नेतृत्वमा पुग्न अहिले उहाँहरु मतदाताको घरमा पुगिरहनुभएको हो । मत माग्दै उम्मेद्वारहरु घरदैलोमा आउन थालेसँगै मतदाताहरु पनि कसलाई जिताउने भन्ने विषयमा केन्द्रीत छन् ।
एमालेबाट प्रमुखका उम्मेद्वार हरिवंश चौलागाईँले नगरबासीको हित र नगरको समृद्धिका लागि आफु प्रमुख बन्न चाहेको र सोहीअनुरुप अहिले मतदाताको घरमा पुगिरहेको सुनाउनुभयो । उहाँले मत माग्नको लागि मात्र नभई भीमेश्वर नगरबासीको आवश्यकता र चाहना बुझ्नको लागि पनि गाउँटोलमा सक्रिय भएको सुनाउनुभयो । २०४८ सालदेखि नै राजनीतिक जीवन सुरुवात गर्नुभएका चौलागाईले २०७४ को निर्वाचनमा भीमेश्वर नगरपालिका वडा नं. ४ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । उहाँ अहिले वडाध्यक्षबाट राजिनामा दिएर पालिका अध्यक्ष बन्ने कसरतमा लाग्नुभएको हो ।
एमालेबाट भीमेश्वर नगरपालिकामा उपप्रमुखका उम्मेद्वार कमला बस्नेत पनि अहिले चुनावी अभियान अन्तर्गत नागरिकको घरदैलोमा दिनहुँ पुगिरहनुभएको छ । अहिलेको उहाँको दैनिकी नै नागरिकको घरदैलोमा पुग्ने भएको छ । २०७४ को स्थानीय निर्वाचनमा उपप्रमुख पदमा निर्वाचित बस्नेत पुनः दोहोरिने चाहना अनुरुप सोही पदका उम्मेद्वार हुनुभएको हो । पहिलो पाँच वर्षे कार्यकालमा नगरको समृद्धिमा उल्लेख्य योगदान दिएको दाबी गर्नुहुने उपप्रमुखका उम्मेद्वार बस्नेत फेरी जित्ने दाबी गर्नुहुन्छ । एमाले तर्फबाट नगरपालिकाको ९ वटै वडाका लागि वडाध्यक्ष र वडा सदस्य पदका उम्मेद्वारहरु अहिले घरदैलो अभियानमा व्यस्त छन् । स्थानीय तह निर्वाचनका लागि भीमेश्वर नगरपालिकामा एमालेले प्रतिबद्धता पत्र समेत सार्वजनिक गरिसकेको छ । नगरको समृद्धिका लागि तयार पारिएको उक्त प्रतिबद्धता पत्रमा ९० बुँदे प्रतिबद्धता रहेको छ ।
गठबन्धनका तर्फबाट कांग्रेसका ईश्वरनारायण मानन्धर पनि जित्ने दाबीका साथ प्रमुखको उम्मेद्वार भएर घरदैलोमा पुगिरहनुभएको छ । चुनाव नजिकिदैँ गर्दा उहाँले घरदैलो अभियान तीव्र बनाउनुभएको छ । प्रमुखका उम्मेद्वार मानन्धर २०७४ सालमा प्रमुखका प्रत्यासी हुनुहुन्छ । त्यो बेला भरत केसीसँग उहाँले पराजित हुन परेको थियो । २०३८ सालदेखि निरन्तर समाजसेवा र राजनीतिमा सक्रिय नेता कांग्रेसका प्रिय नेता हुनुहुन्छ । विकासप्रेमी नेतको रुपमा स्थापित मानन्धरलाई पुनः कांग्रेसले भीमेश्वर नगरपालिकाको प्रमुख पदका लागि टिकट दिएको हो । मानन्धरले भन्नुभयो “भीमेश्वर नगरपालिकाको समग्र विकास र सुशासनका निम्ति मेरो उम्मेद्वारी हो । त्यसैले यो पटक जनताले मलाई अत्याधिक मतले विजय गराउने छन् ।” अहिले घरदैलो अभियानमा जुट्नुभएको मानन्धर सामाजिक सञ्जालमार्फत पनि चुनावी प्रचारप्रसारमा सक्रिय हुनुभएको छ । केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा उहाँले सार्वजनिक गर्नुभएको वृत्तचित्र सयौँले सेयर गरेका छन्, भने करिब ९० हजार भियुज छ। मतदातालाई आकर्षित गर्न भड्किलो र खर्चिलो शैली अपनाउनुभन्दा समय अनुकुल प्रचारशैली अबलम्बन गरिएको उहाँले बताउनुभयो । उहाँले मतदाता आकर्षणका लागि फेसबुकलाई पनि माध्यम बनाएको सुनाउनुभयो।
उपप्रमुख पदका उम्मेद्वार संगिता पाख्रिन पनि आफ्नो पक्षमा मत आकर्षित गर्न नागरिकको घरदैलोमा पुगिरहनुभएको छ । उहाँले उपप्रमुखको जिम्मेवारी पाएमा नगरको समृद्धिका लागि नागरिकसँगै रहेर काम गर्ने बताउनुभयो । समाजवादीका नेता तथा कार्यकर्ताबीच कुशल नेतृका रुपमा परिचित पाख्रिनले आफू नगरपालिकाको उपप्रमुखमा सक्षम सावित गरेर देखाउने बताउनुहुन्छ। प्रमुख र उपप्रमुखका उम्मेद्वारसहित नौ वटै वडाका लागि वडाध्यक्ष र सदस्य पदका उम्मेद्वारहरुले अहिले चुनाव केन्द्रीत अभियान सञ्चालन गरिहेका छन् ।
जिल्लाको अन्य सबै स्थानीय तहमा पनि विभिन्न पदका उम्मेद्वाहरु घरदैलो अभियानमा व्यस्त भएका छन् । दिउँसोको समयमा गाउँगाउँमा राजनीतिक दलको चुनावी चहलपहल बढेको छ । उम्मे्दवारहरु विभिन्न काम गर्ने प्रतिबद्धतासहित आफूलाई विजयी गराउन नागरिकहरुलाई अनुरोध गरिरहेका छन् । गाउँगाउँमा घरदैलो अभियानलाई तीव्र बनाइरहेका नेता तथा कार्यकर्ताहरु प्रविधिको उपयोग गर्दै सामाजिक सञ्जालमा समेत चुनाव केन्द्रीत प्रचारमा व्यस्त छन् ।

Shares

Be the first to comment on "घरदैलोमा उम्मेद्वार"

Leave a comment

Your email address will not be published.


*