घरघरमा खानेपानीको धारा

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र १२
शैलुङ गाउँपालिका–४ निगाले डिलमुनिसीवासीले सहजै खानेपानी उपभोग गर्न थालेका छन् । खानेपानी सुरक्षा तथा वास उत्थानशीलता परियोजना अन्तर्गत स्थानीयको घरआँगनमै धारा निर्माण गरी खानेपानी वितरण सुरु गरिएको हो । वाटर एड नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्च दोलखाको समन्वयमा सञ्चालित सो परियोजनाले निगालेका स्थानीयको सहज र दिगो रुपमा खानेपानी उपभोग गर्न पाउने सपना साकार पारिएको छ । परियोजनामार्फत ४४ वटा व्यक्तिगत धारा र दुई वटा सामुदायिक धाराका साथै अन्य खानेपानी संरचना निर्माण भएका छन् । मिटर जडित धाराको पानी उपभोग गरेपछि प्रति धारा एक सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने व्यवस्था गरिएको छ । घर नजिकै खानेपानीको धारा बनेपछि समयको बचत हुनुका साथै खानेपानीका लागि झन्झटिलो अवस्था अन्त्य भएको छ । यहाँका नागरिकको जीवन शैली र दैनिकीमा परिवर्तन आउने भएको छ । मुहानलाई व्यवस्थित गरी पाइप मार्फत घरमै पानी आएपछि खुशीयाली नै छाएको उपभोक्ता चेतबहादुर नेपालले बताउनुभयो । वाटर एड नेपालको ३६ लाख दुई हजार ७१५, गाउँपालिकाको पाँच लाख ८० हजार २७९ र उपभोक्ता जनश्रमदान छ लाख ९४ हजार १०९ गरी कुल ४८ लाख ७७ हजार १०३ रुपियाँ लागतमा खानेपानी धारा सहित संरचना निर्माण गरिएको हो । जडित धाराहरुलाई दिगोपनाको लागि ५७ हजार रुपियाँको मर्मत कोषको व्यवस्था गरिएको सामुदायिक विकास मञ्चका अध्यक्ष राजु थापाले बताउनुभयो ।

Shares

Be the first to comment on "घरघरमा खानेपानीको धारा"

Leave a comment

Your email address will not be published.


*