घटायो तनको बल तर घटाएन मनको बल

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ १४
देवराज खड्का र उनकी श्रीमती शुसिला फूँयाल (खड्का) लाई बैशाख अन्तिमतिर एकैचोटी ज्वरो र रुघाखोकीले सताएपछि पिसिआर परीक्षणको लागि नमूना स्वाब दिए । तामाकोशी गाउँपालिका ५ सहरेस्थित भंगेरीका उनिहरु नेगेटिभ नतिजा आउने आशा सहित घरमै सुरक्षित बसे । तर केहिदिनको पर्खाइपछि उनिहरुले पोजेटिभ नतिजा व्यहोर्न बाध्य भए । पिसिआर परीक्षणको नतिजाले दुबै जना कोरोना संक्रमित भएको देखायो । सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा दिनदिनै मानव मृत्युको खबर सुनेका उनिहरु आफंैलाई कोरोना लाग्दा सुरुमा त आतिए । तर आत्मबल दरिलो भए कोरोनालाई परास्त गर्न सकिन्छ, भन्ने पनि उनिहरुले सुनेका थिए । स्वस्थ हुने हिम्मतका साथ स्वेच्छाले होम आइसोलेशनमा सुरक्षित बसे । पहिल्यैदेखि परिवारबाट छुट्टियर बसेका कारण परिवारबाट अलग्गिनु परेन । कोरोना भाइरस पुष्टि भएको ३ दिनपछि देवराजलाई अलि गाह्रो भयो । दुबैजनालाई सामान्य रुघाखोकी, ज्वरो र शरीर हल्का शिथिल भएको महशुस भएपछि उनिहरुको मन आतियो । तर फोनमार्फत् स्वास्थ्यकर्मीले दिएको सुझावअनुरुप सिटामोल खाए । केहिदिनपछि रुघाखोकी मत्थर भयो । उनिहरु दुबैलाई खान मन त पट्टक्कै लागेन, तर पनि दुबै जना मिलेर खाना बनाउथे अनि मननलागीनलगाी खान्थे । झोलिलो खानेकुरा, भिटामिन खान्थे, पर्याप्त मात्रामा बेसारपानी, तुलसी पानी पिउदथे । सामाजिक सञ्जालमा सकरात्मक समाचार र हँसाउने भिडियो हेर्दथे । जसले गर्दा रुघाखोकी, ज्वरो लगायतका लक्षण उनिहरुबाट हराएर गयो । अनि १४ दिनपछि स्वास्थ्यकर्मीले उनिहरुलाई कोरोना संक्रमण मुक्त घोषित गरिदिए । संक्रमित भई होम आइसोलेसनमा रहेर १४ दिनको लडाईँपछि अहिले दुबै जना स्वस्थ्य भएका छन् । देवराजले भने ‘कोरोनाले अस्पतालमा गई हारगुहार गर्नूपर्ने अवस्था ल्याएन । स्वास्थ्यकर्मीको परामर्श र सुझावको परिपालना गरी घरमैँ बसेर कोरोनालाई हार खुवाइयो ।’ स्वास्थ्य कार्यालय दोलखाकाको बिहीबारसम्मको आँकडा अनुसार जिल्लामा हाल ८ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् । ति मध्ये ७ सय ९५ जना होम आइसोलेसनमा रहेका छन् । बाँकी संस्थागत आइसोलेसन र अस्पतालमा उपचाररत छन् । हालसम्म २ सय ४ पुरुष र १ सय २९ महिला गरी ३ सय ३३ जना कोरोनाबाट मुक्त भएका छन् । ति मध्ये अधिकांशले उच्च मनोबलका साथ होम आइसोलेसनमा नै बसेर कोरोनाबाट निको भएका छन् । तर स्वास्थ्य कार्यालय दोलखाले होम आइसोलेशनबाटै र पालिकास्तरीय आइसोलेशन र अस्पतालको उपचारबाट कति व्यक्ति कोरोना संक्रमण मुक्त भए भन्ने अभिलेख राख्ने गरेको छैन् । स्वास्थ्यकर्मीका अनुसार सामान्य रुघाखोकी लागेपनि तत्काल कोरोना जाँच गर्नुपर्छ । कोरोना संक्रमण पुष्टि भएपनि लक्षण नदेखिए वा स्वास्थ्य अवस्था सामान्य भएको खण्डमा संक्रमितले होम आइसोलेसनमा बसी स्वास्थ्यकर्मीहरुको सुझाव अनुसार औषधि सेवन तथा क्रियाकलाप गरेमा कोरोना संक्रमणलाई परास्त गर्न सक्दछन् । तर ति क्रियाकलाप गरेपनि लगातार रुघाखोकी लागिरहने, ज्वरो नघट्ने, पखाला लागिरहने भएमा तत्काल सम्बन्धित पालिकाको समन्वयमा अस्पताल जानुपर्ने हुन्छ । अस्पताल नगएमा कोरोना संक्रमितको ज्यान जोखिममा पर्ने स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

Shares

Be the first to comment on "घटायो तनको बल तर घटाएन मनको बल"

Leave a comment

Your email address will not be published.


*