ईश्वर बिश्वकर्मा
चरिकोट, साउन १४
दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा पर्ने गौरीशंकर संरक्षण क्षेत्र (जिक्याप) मा विदेशी पर्यटकको आवागमन बढेको छ । कोरोना महामारीको कारण अघिल्ला वर्षहरुमा प्रायः सुनसान रहेको संरक्षण क्षेत्रमा कोरोना महामारी साम्य भएपछि पर्यटकीय चहलपहल बढ्न थालेको हो ।
संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसीप्रसाद दाहालका अनुसार गत आर्थिक वर्ष २०७८÷०७९ मा तीन सय ३१ पुरुष र एक सय ७१ महिला गरी पाँच सय २ जना विदेशी पर्यटकको आवागमन भएको छ । ति मध्ये सार्क राष्ट्रका ३५ पुरुष, १२ महिला सहित ४२ जना, र अन्य देशका दुई सय ९६ पुरुष, एक सय ५९ महिला गरी चार सय ५६ जना रहेका छन् । उनीहरुबाट प्रवेश शूल्कबापत भ्याट बाहेक १३ लाख ६० हजार रुपैयाँ संकलन भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा सार्क राष्ट्रका चार र अन्य देशका २६ गरी कुल ३० जना मात्र विदेशी पर्यटक आएका थिए । गत वर्ष भने विदेशी पर्यटकको संख्या तुलनात्मक रुपमा अत्यन्तै धेरै रहेको छ । सूचना अधिकारी दाहालले कोरोना महामारी मत्थर भएपछि पर्यटकीय गतिविधि चलायमान हुनुका साथै संरक्षण क्षेत्र भित्र विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको बताउनुभयो । विदेशी पर्यटकको तथ्याङ्क राखिने भएपनि आन्तरिक पर्यटकको भने राखिदैन । संरक्षण क्षेत्रमा आन्तरिक पर्यटक अत्यधिक आउने गरेका छन् । सूचना अधिकारी दाहालका अनुसार पर्यटकहरुलाई संरक्षण क्षेत्रमा निर्धारित शूल्क तिरेर प्रवेश अनुमति दिइन्छ । विदेशीले प्रतिव्यक्ति तीन हजार रुपैयाँ र आन्तरिक पर्यटकले एक सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने नियम छ ।
संरक्षण क्षेत्रमा पर्यटकीय गतिविधि बढ्दा त्यहाँका होमस्टे समेत फस्टाउन थालेको छ । बन्द रहेका होमस्टेहरु अहिले कोरोना न्यून भएपछि खुलेर पर्यटकलाई खान, बस्नको सुविधा दिन थालेका छन् । संरक्षण क्षेत्रभित्र ८२ वटा होमस्टे रहेका छन् । स्थानीय संस्कृत तथा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरी सञ्चालित होमस्टेका सञ्चालकहरुलाई संरक्षण क्षेत्रले विभिन्न समयमा तालिमका साथै आवश्यक सामाग्रीहरु उपलब्ध गराएको छ । सोही कारण होमस्टेमा आउने पर्यटकहरुलाई गुणस्तरीय सेवासुविधा दिन सहज भएको छ । कोरोना महामारीको बेला पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको थियो । बिचमा केही महिना हराएको कोरोना फेरी फैलिन सुरु गरेकोले पर्यटन व्यवसायीहरुमा पुनः निराशा छाउन थालेको छ ।
Be the first to comment on "गौरीशंकर संरक्षण क्षेत्रमा बढ्दै विदेशी पर्यटक"