ईश्वर बिश्वकर्मा
चरिकोट, असार २९
गौरीशंकर गाउँपालिका वडा नं ८ खारेमा सुधारिएको चुलो प्रयोग गर्ने घरपरिवार बढेका छन् ।
दाउरा र समयको बचत हुने भएकाले वडामा सुधारिएको चुलो प्रयोग गर्न थालिएको हो ।
पालिकाको वडा नं ८ खारेमा ४ सय ५० घर परिवारले सुधारिएको चुलो प्रयोग गर्न थालेका छन् ।
वडाले गत बर्षदेखि सुधारिएको चुलो जडान अभियान सञ्चालन गरेको थियो । त्यो बर्ष ३५ घरमा चुलो जडान गरिएको थियो । चालु आर्थिक वर्ष भने ४ सय १५ घरमा सुधारिएको चुलो जडान गरिएको वडाध्यक्ष उदय बहादुर खड्काले बताए । कोरोना भाइरसको कारण गरिएको लकडाउनको बेला पनि प्राविधिकहरुले घरघरमा पुगि चुलो जडान गरिदिएका थिए । कतिपय परिवारले चुलो जडान नगर्ने बताएका थिए । तर सुधारिएको चुलोको महत्वबारे सबैलाई सचेतना प्रदान गरेपछि उनिहरुले चुलो बनाएका छन् । सुधारिएको चुलो जडानका लागि वडाले ३ लाख रुपैयाँ विनियोजन गरिएको थियो । अन्य चुलोमा खाना पकाउँदा दाउरा पनि धेरै खर्च हुने हँुदा वन जङ्गलको संरक्षण र राम्रो स्वास्थ्यका लागि सुधारिएको चुलो प्रयोग अभियानलाई प्राथमिकता दिइएको उनले बताए ।
धुवाँ कम निस्किने, दाउरा कम लाग्ने, खाना छिटो पाक्ने जस्ता फाइदा भएकोले आफ्नो घरमा सुधारिएको चुलो जडान गरिएको स्थानीय देवराम बुढाथोकीले बताए ।
घरको परम्परागत चुलोमा भन्दा बढी स्वस्थ्यको लागि पनि फाइदा हुने भएकोले पनि सुधारिएको चुलो बनाउनु पर्ने उनि बताउँछन् ।
Be the first to comment on "गौरीशंकर गाउँपालिका वडा नं ८ मा सुधारिएको चुलोकाे प्रयोग बढ्दै"