गौरीशंकर गाउँपालिकामा मतदाता फकाउँदै उम्मेद्वार

चरिकोट (दीस)ः मंसिर १६ गते हुने उपनिर्वाचन हुन ३ दिन बाँकी रहदा दोलखाको गौरीशंकर गाउँपालिकामा रिक्त उपप्रमुख पदका उम्मेदवारहरूले मतदाताहरुसँग भोट माग्न व्यस्त छन् । निर्वाचन हुने स्थानमा आज राती १२ बजेदेखि मौन अवधी सुरु हुँदै छ । मौन अवधी सुरु हुनु अघि पालिकाका विभिन्न स्थानमा भोट माग्दै घर दैलो अभियान निरन्तरता दिएका थिए। आज सम्म मात्र उम्मेद्वारले सभा तथा घर दैलो अभियानलाई तीब्रता दिन पाउने छन् ।आज राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि निर्वाचन प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । मंसिर २ गते निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरेका उम्मेद्वारले मतदातालाई रिझाउन दलहरुले पालिकाका विभिन्न स्थानमा सभा समेत गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिकामा दलहरुकातर्फबाट सात जना र स्वतन्त्रबाट ९ जनाले उम्मेद्वारी दिनु भएको छ। यस पालिकामा चूनावमा त्रिपक्षिय भीडन्त हुने अनुमान गरिएको छ । जानकारहरुले गौरीशंकर गाउँपालिकामा नेपाली कांग्रेस , नेकपा एमाले , माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरेका छन् । चुनाब भएकाले फरक नतिजा आउन सक्ने अनुमान गर्नेहरु पनि रहेको छन् । नेपाली कांग्रेसले पासदिकी तामाङ (शेर्पा) लाई उम्मेदवार बनाएको छ । उहाँ गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुखमा निर्वाचित स्वर्गीय श्यामसुन्दर तामाङकी श्रीमती हुनुहुन्छ । श्यामसुन्दरले सुरु गरेका अधुरा काम पूरा गर्न श्रीमतीलाई उम्मेदवार बनाएको कांग्रेसका नेताहरूको बताउँदै आएका छन् । नेताहरुले श्याम सुन्दर तामाङले जित हासिल गरेको र उहाँकोकार्यकाल नसकिदै निधन भएका कारण पनि सहानुभूती मत आउने कारण आफ्नो उम्मेद्वार विजयी हुने कांग्रेस नेताहरुहरुको भनाई रहेको छ । नेकपा एमालेले गौरीशंकर गाउँपालिका–७ सिक्पाश्वरकै उमा मगर शेर्पालाई उम्मेदवार बनाएको छ । उहाँ पनि अहिले मतदाता रिझाउन मतदाताको घरदैलोमा चुनावी प्रचारका लागि पुग्नु भएको छ । एमालेबाट उम्मेदवार बनेकी उमा मगर शेर्पा निर्माण व्यवसायी हुनुहुन्छ। एमालेको आधार क्षेत्र भएकाले अघिल्लो चुनाबमा गठबन्धका कारण आफ््नो उम्मेद्वारले हारेको र अहिलेको उपनिर्वाचनमा विजयी हुने एमालेले दाबी गर्दै आएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पा (डोल्मा)लाई उम्मेद्वार बनाएको छ । शेर्पा गाउँमै बसेर स्वास्थ्य स्वयंसेविका, सामुदायिक मेलमिलापकर्ता र सहकारी अभियानमा जोडिनु भएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा ५ वटा वडामा वडा अध्यक्ष सहित कार्यपालिकामा समेत विजयी भएकाले यो पालिकामा संगठन राम्रो भएकोले केन्द्रको उम्मेद्वारमा आफ्नो बिजयी हुने सो पार्टीले बताउदै आएको छ । त्यसैगरी, संसदको चौथो दल राजस्वाले गोमा श्रेष्ठलाई उम्मेद्वार बनाएको छ । पुराना दलसँग रुष्ट भएकाले आफ्नो उम्मेद्वारलाई मतदातले मत हाल्नेमा सो पाटीका नेताहरु बताउँछन। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले मनकुमारी श्रेष्ठलाई उम्मेद्वार बनाएको छ । सो पार्टी पनि मतदाता रिझाउँदै भोट मागिरहेको छ । नेकपा एकीकृत समाजवादीले गौरीशंकर गाउँपालिका–५ की रविना खड्कालाई उम्मेदवार बनाएको छ । स्नातकोत्तर अध्ययनरत खड्का विद्यार्थी आन्दोलनबाट उदाएकी र विभिन्न संघ संस्थामा काम गरेको कारण युवा पुस्ताले मत हाल्नेमा सो पार्टी विश्वस्त रहेको देखिन्छ ।
स्वतन्त्र उम्मेदवारहरूमा अप्सरा विश्वकर्मा, अम्बिका श्रेष्ठ , दीपक तामाङ, दिलबहादुर बस्नेत, द्वारिका बुढाथोकी , पुष्प कार्की, मधुरा कार्की, शिवशम्भु तामाङ, र सर्किमा शेर्पाले पनि उम्मेद्वारी दिनु भएको छ । गौरीशंकर गाउँपालिकामा २०७९ को स्थानीय तह निर्वाचनको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसबीच संयुक्त गठबन्धन गरी चुनावमा होमिएको थिए। सो चुनावमा नेकपा एमाले निकटतम प्रतिस्पर्धी भएको थियो। पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विश्वास कार्की र उपाध्यक्षमा नेपाली कांग्रेसका श्यामसुन्दर तामाङ विजयी हुनु भएको थियो। तामाङको डेढ वर्ष अघि हृदयघातका कारण निधन भएपछि गौरीशंकर गाउँपालिकामा उपनिर्वाचन हुन लागेको छ।

Shares

Be the first to comment on "गौरीशंकर गाउँपालिकामा मतदाता फकाउँदै उम्मेद्वार"

Leave a comment

Your email address will not be published.


*