इश्वर बिश्वकर्मा
चरिकाेट जेठ १७ दोलखाको गौरीशंकर गाउँपालिकामा गाउँकार्यपालिकाको प्रथम बैठक सम्पन्न भएको छ । गाउँकार्यपालिका सदस्य चयनका लागि १३ गते निर्वाचन भएको थियो । त्यसबाट ६ जना सदस्य निर्वाचित भएपछि पूर्णता पाएको गाउँकार्यपालिकाको प्रथम बैठक सोमबार सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष विश्वास कार्कीको अध्यक्षता सम्पन्न बैठकले विपद् व्यवस्थापन समिति र न्यायिक समिति गठन गरेको छ । गाउँपालिका अध्यक्ष कार्की र उपाध्यक्ष श्यामसुन्दर तामाङको संयोजकत्वमा विपद् व्यवस्थापन समिति र उपाध्यक्ष तामाङको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको हो ।
बैठकले तीन वटा निर्णय गरेको छ । पूर्ण अपाङ्गता भएका व्यक्ति र सुत्केरी आमालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, गाउँपालिका क्षेत्रभित्र विद्यालय जान सवारी साधनको प्रयोग नहुने भएकाले अर्को व्यवस्था नभएसम्म पहिले झैँ विद्यालय सञ्चालन हुने तथा आइतबार बिदा नदिने र सुरीमा पालिका कार्यालय रहेकोमा आगामी आर्थिक वर्षमा पालिकाको तल्लो भेगका नागरिकको सहजता र सुविधालाई लक्षित गरी भोर्लेमा सेवा केन्द्र स्थापना गरी आइतबार र सोमबार सेवा प्रवाह गर्ने निर्णय गरिएको पालिका अध्यक्ष कार्कीले बताउनुभयो ।
Be the first to comment on "गौरीशंकर गाउँपालिकामा प्रथम गाउँकार्यपालिका बैठक सम्पन्न, यस्ता छन् निर्णय"