चरिकोट (दीस)ः गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुन गइरहेको उपनिर्वाचनमा १६ जनाको उम्मेदवारी परेको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ६ राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी उक्त संख्यामा उपाध्यक्ष पदमा उम्मेदवारी परेको हो । निर्वाचन कार्यालयमा आइतबार गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि १६ जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृतको कार्यालय गौरीशंकरले जनाएको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार कुल १६ उम्मेद्वार मध्ये सात जनाले विभिन्न दलका तर्फबाट उम्मेद्वारी दिएका छन् भने बाँकी स्वतन्त्र उम्मेदवार परेका छन्। दलका तर्फबाट उम्मेद्वारी दिनेहरूमा नेपाली कांग्रेसबाट पासदिकी तामाङ (शेर्पा) , नेकपा एमालेको तर्फबाट उमा लुङ्गेली मगर (शेर्पा) , नेकपा माओवादी केन्द्रका तर्फबाट निमलेकी शेर्पा रहनुभएको छ। यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गोमा श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मनकुमारी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीबाट रविना खड्का तथा जनता समाजवादी पार्टीको तर्फबाट सपना कार्की खड्काले उम्मेद्वारी दिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै, यो उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारसमेत नौ जना रहेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवारमा अप्सरा विश्वकर्मा, अम्बिका श्रेष्ठ, दीपक तामाङ, दिलबहादुर बस्नेत, द्वारिका बुढाथोकी, पुष्प कार्की, मधुरा कार्की, शिवशम्भु तामाङ तथा सर्किमा शेर्पा रहनुभएको छ । स्वतन्त्र उम्मेदवारको संख्या धेरै देखिए पनि मुख्य प्रतिस्पर्धा परम्परागत दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचमै हुने गौरीशंकरका स्थानीयको अनुमान छ । नेपाली कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार पासदिकी तामाङ दिवंगत उपाध्यक्ष श्यामसुन्दर तामाङकी धर्मपत्नी भएकाले यो निर्वाचन जित्नु कांग्रेसका लागि प्रतिष्ठाको विषय बनेको छ । त्यसैगरी, एमालेका शक्तिशाली नेता पोलिटब्युरो सदस्य पार्वत गुरुङ तथा नेकपा माओवादी केन्द्का नेता एवं सांसद गंगा कार्की, नेताहरू देवी खड्का तथा विशाल खड्काको गृहपालिका भएको र माओवादी केन्द्रले बहुमत वडा सहित पालिका अध्यक्षसमेत जितेको स्थानीय तह भएकाले माओवादी केन्द्र र एमालेका लागि पनि यो निर्वाचन प्रतिष्ठाको विषय बन्न पुगेको छ । तर, कतिपय स्थानीयले भने परम्परागत दलहरूप्रति आजित भएका युवाको झुकावका कारण पनि मत परिणाम फरक आउन सक्ने अनुमान गरेका छन् । यसैबीच स्थानीय तहको उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको हो । मंसिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निणर्य गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका रहेको छ । त्यस्तै मंसिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३बजे देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
Be the first to comment on "गौरीशंकर गाउँपालिकामा उपनिर्वाचनका लागि १६ जनाले दिए उम्मेद्वारी"