काठमाडौं– प्रहरीको इन्काउन्टर योजनाबाट जाेगिएका गुण्डा नाइके सुजन पाैडेल (रमेश बाहुन) लागुऔषध मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई १० वर्ष कैद र ७५ हजार जरिवाना गर्ने फैसला सुनाएको छ।
न्यायाधीश नवराज दाहालको इजलाशले २०७१ साल साउन १४ गते उनीविरुद्ध दायर लागुऔषध मुद्दाको अभियोग सदर गर्दै सजाय ताेकेका हुन्। उनी पाँच वर्षदेखि पूर्पक्षका लागि कारागारमै छन्।
२०७१ साउन १९ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
भारतमा लुकेर बसेका उनलाई प्रहरीले २०७१ असार १० गते कलंकीबाट पक्राउ परेको भन्दै सार्वजनिक गरेको थियो। प्रहरीले कलंकीको खसी बजार छेउँमा हिडिरहेको बेला उनलाई नियन्त्रणमा लिँदा उनको साथबाट २८ दशमलव ४ ग्राम खैरो हिरोइन र पेस्ताोल बरामद भएको दावी गरेको थियो।
काठमाडौं उपत्यकामा गुण्डागर्दी मार्फत अबैध रकम असुलीमा संलग्न उनी लागुऔषध काराेवारमा समेत संलग्न रहेको प्रहरीको दावी थियो। साेही आधारमा उनीमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ को ६ (२)अनुसार मुद्दा दायर गरिएको थियो।
Be the first to comment on "गुन्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद"