इश्वर बिश्वकर्मा
चरिकोट, माघ २०
दोलखाको भीमेश्वर नगरपालिकाले नगरभित्रका २० जना गम्भीर रोगीलाई नगद १०–१० हजार रुपैयाँ वितरण गरेको छ ।
मृगौला खराब भएका, मुटुका रोगी, क्यान्सर र स्पाइनल इन्जुरीका रोगीको उपचारमा सहयोगको लागि नगरले चालु आवको साउन देखि हालसम्म २० जनालाई उपचार खर्च वितरण गरेको हो । ८ जना क्यान्सर रोगी, ५ जना मुटु रोगी, ४ जना मृर्गौला खराब भएका र २ जना स्पाइनल इन्जुरीका बिरामीलाई उपचार खर्च प्रदान गरिएको नगरका स्वास्थ्य शाखा संयोजक श्याम बहादुर खड्काले बताए । नगरले २०७४÷०७५ देखि नै नगरका स्थायी व्यक्तीलाई गम्भिर रोग लागेमा उपचार खर्च उपलब्ध गराउदैँ आएको छ । सो वर्षदेखि हालसम्मको अवधीमा १ सय ६६ जनाले उपचार खर्च प्राप्त गरिसेकेका छन्। स्वास्थ्य संयोजक खड्काका अनुसार आव २०७४÷७५ मा ४५ जना, २०७५÷०७६ मा ५० जना, २०७६÷०७७ मा ५० जनाले उपचार खर्च प्राप्त गरेका छन् । स्वास्थ्य संयोजक खड्काले नगर भित्रका नागरिकलाई गम्भीर रोग लागे त्यस्ता नागरिकको उपचारमा थोरै भएपनि सहयोग पुगोस् भन्ने ध्येयका साथ उपचार खर्च वितरण कार्यक्रम सञ्चालन गरिएको बताए । “गम्भीर रोगीको उपचारमा धेरै पैसा लाग्छ । हुन त सरकारले उपचारमा केही सहुलियत प्रदान गरेको छ ।” उनले भने “तर पनि आर्थिक अभावकै कारण थप उपचारमा समस्या भएकालाई नगरले उपचार खर्च उपलब्ध गराउने गरेको छ । जसले गर्दा नगरभित्रका गम्भीर रोग लागेका रोगीलाई थोरै भएपनि सहयोग मिलेको विश्वास हामीले लिएका छौँ ।” नगर भित्रका गम्भीर रोगीले आफु रोगी रहेको प्रमाण स्वरुप आवश्यक कागजात सहित नगरपालिकाको कार्यालयमा निवेदन दिएमा नगरले एक पटकमात्र उपचार खर्च उपलब्ध गराउने गरेको छ ।
Be the first to comment on "गम्भीर रोगीलाई नगरपालिकाको उपचार खर्च १० हजार"