विनोद शर्मा,चरिकोट –भीड जम्मा भएको छ । खैलाबैला मच्चिएको छ । गएरातीको पहिरोबाट प्रभावित र जनप्रतिनिधिको उपस्थितिले भीड जम्मा भएको हो । वडा अध्यक्षलाई प्रभावितले घेरेर राखेका छन् । कोही खोज, उद्धार र बेपत्ताको खोजी गरिदिन माग गर्दै छन् । कोही प्राथमिक उपचार र राहतको माग गरिरहेका छन् । त्यत्तिकैमा वडा सचिव, सुरक्षा निकाय र रेडक्रसका प्रतिनिधिहरु आइपुग्छन् । प्रभावितहरुले विवरण संकलन गर्न आएको टोली ढिला आइपुगेको भनेर आक्रोश पोख्छन् । राजनीतिक दलका प्रमुख प्रतिनिधिले आफ्ना मान्छेको धेरै क्षति भएको देखाउँदै विवरण टिपाउन पहल गर्छन् । टोली नेताले क्षतिको एकीन विवरण संकलन भएपछि खोज उद्धार, प्राथमिक उपचार, राहत वितरण लगायतका काम गर्न सहज हुने बताउँदै काम गर्ने वातावरण बनाइदिन आग्रह गर्छन् । टोलीले भरेको फरामका आधारमा प्रभावितले समयमैं सहयोग पाउने, उनीहरुको जीवन रक्षा र भोलीका दिनमा हुन सक्ने जोखिमबाट संरक्षण हुनका लागि लेखाजोखा गर्नु पर्ने सम्झाउँछन् । यहि क्रममा नगरपालिकाका मेयर तथा प्रमुख जिल्ला अधिकारी समेतको अनुगमन हुन्छ । प्रभावितले बेपत्ताको खोजी, खोज उद्धार, प्राथमिक उपचार र राहतको लागि ढिला भैरहेको भनेर ध्यानाकर्षण गराउँछन् । टोलीले भरेको विवरणको आधारमा राहत लगायतका काम अगाडी बढाइने र जतिसक्दो छिटो सहयोग पठाउने प्रतिवद्धता गर्दै प्रमुख जिल्ला अधिकारी फर्कन्छन् । त्यसपछि प्रभावितले घटनास्थलको वस्तुस्थिति, हालसम्मको राहत वितरणको अवस्था तथा तत्काल गर्नु पर्ने कामका बारेमा विवरण टिपाउँछन् । वडा सचिव नेतृत्वको टोली प्रारम्भिक द्रुत लेखाजोखा फारम भरेर फर्कन्छ ।
यो घटना बास्तविक नभई प्रारम्भिक द्रुत लेखाजोखा सम्बन्धी दुई दिनको तालिमको प्रयोगात्मक अभ्यास गर्दाको दृश्य हो । भीमेश्वर नगरपालिकाको आयोजनामा वडा स्तरीय सरोकारवालाका लागि भएको तालिमका सहभागीले विपद् लेखाजोखा मार्गदर्शन २०७२ अनुसार लेखाजोखा फारम भरेका छन् । विपदपछि प्रतिकार्य योजना बनाउन, पीडितहरुको जीवन रक्षा गर्न र समयमैं राहत उपलब्ध गराउनका लागि प्रारम्भिक लेखाजोखा गर्न सक्ने जनशक्ति तयार गर्ने उद्धेश्यले नगरपालिकाले तालिम आयोजना गरेको हो ।
सोमबारबाट सुरु भएको तालिमको (मँगलबार) नगरपालिकाका वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नविन कुमार लामाले समापन गर्नु भएको छ । समापन समारोहमा बोल्दै उहाँले भूकम्पपछि गरिएको प्रारम्भिक द्रुत लेखाजोखामा भएको कमजोरीका कारण केहि घरधुरी लाभग्राहीको सूचीमा पर्न नसकेको बताउनुभयो । ‘२०७२ को भूकम्प लगत्तै गरिएको प्रारम्भिक द्रुत लेखाजोखका क्रममा भएको कमजोरीका कारण साँच्चैको पीडित घरधुरी पनि लाभग्राहीको सूचीमा पर्न सकेको छैन । यथार्थ तथ्याङ्क आयो भने मात्रै नगरपालिकाले समयमैं योजना बनाएर श्रोत पहिचान गरेर पीडितलाई सहयोग प्रदान गर्न सक्छ ।’ वडा नम्बर ६ का अध्यक्ष समेत रहेका लामाले भन्नुभयो, ‘विगतका सिकाइहरुका आधारमा हामीले समुदायसम्म दक्ष जनशक्तिको आवश्यकता महशुस गरेर तालिम प्रदान गरेका छौं । युवाहरुले पनि तालिम पाउनु भएको छ । विपदका बेला आफ्नो जिम्मेवारी के हो भन्ने मनन गरेर व्इवहारमा लागु गर्नुहुनेछ भन्ने अपेक्षा छ ।’
विपदमा समुदाय नैं पहिलो प्रतिकार्यकर्ता भएकोले नगरपालिकाले वडास्तरमा २०÷२५ जना दक्ष जनशक्ति तयारी अवस्थामा राख्ने योजनामा रहेको अध्यक्ष नविन कुमार लामाले जानकारी दिनुभयो । नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति इन्जिनियर सुरेश राउतले तालिमका सहभागीलाई प्रारम्भिक द्रुत लेखाजोखा गर्ने जनशक्तिका रुपमा नगरपालिकाले सूचीकृत गरि आवश्यकता अनुसार परिचालन गर्ने बताउनुभयो ।
युरोपेली आयोगको मानवीय सहायता विभाग र युएनडिपीको आर्थिक सहयोगमा स्थानीय साझेदार संस्था हुराडेक नेपालसँगको समन्वयमा भीमेश्वर नगरपालिकाले तालिम आयोजना गरेको हो । यसअघि भएको नगरस्तरीय तालिममा नगर विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु, सुरक्षा निकाय, साझेदार संघ संस्था, नगरपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो । यस तालिममा वडास्तरीय विपद व्यवस्थापन समितिका संयोजकहरु, सदस्य सचिवहरु, टोल सुधार समिति, युवा क्लव, स्वयंसेवक समूहका प्रतिनिधि लगायतको सहभागिता रहेको छ । युएनडिपीले स्थानीय साझेदार संस्था हुराडेक नेपाल र सिडिएफ नेपालसँगको सहकार्यमा बहुप्रकोपीय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि परियोजना कार्यान्वयन गरिरहेको छ ।
Be the first to comment on "खैलाबैला मच्चिएपछि…."