इश्वर बिश्वकर्मा
चरिकोट, असार ७
दोलखामा कोरोना बिरुद्धको पाँच सय ६४ डोज खोप खेर गएको पाइएको छ । जिल्लामा गत वर्षको माघदेखि हालसम्म कोभिशिल्ड र भेरोसिल गरी दुई प्रकारको खोप अभियान सञ्चालन भएको छ । यो अभियानमा पाँच सय ५७ डोज कोभिशिल्ड र सात डोज भेरोसिल खोप खेर गएको स्वास्थ्य कायार्यालय दाेलखाले जनाएकाे छ । जिल्लामा १६ हजार ४ सय ७० डोज कोभिसिल्ड खोप प्राप्त भएको थियो । ति मध्ये पहिलो र दोस्रो डोज गरी १५ हजार दुइ सय ७३ डोज खोप लगाइएको छ । चार सय २० डोज खोप स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक पठाइएको थियो । लक्षित समुहले खोप लाउन नचाहेको र खोप बाँकी रहने भएपछि स्वास्थ्य मन्त्रालयको निर्देशनमा काभ्रेपलाञ्चोक पठाइएको हो । बाँकी पाँच सय ५७ डोज खोप खेर गएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिसिल्ड खोपको एक वटा भायलमा १० डोज खोप हुन्छ । भायल खोलेपछि १० डोजै खोप ६ घण्टा भित्र लगाइसक्नु पर्छ । यदी नलगाइएको खण्डमा खोप खेर जान्छ । दोलखामा ६५ वर्षभन्दा माथी उमेर समुह लक्षित खोप अभियानमा धेरै मात्रामा खोप खेर गएको स्वास्थ्य कार्यालय प्रमुख अर्जुन पौडेलले जानकारी दिए । त्यस्तै जिल्लामा पाँच हजार चार सय डोज भेरोसिल खोप प्राप्त भएकोमा पहिलो मात्रा दुई हजार छ सय ७४ जनाले लगाएका छन्, भने सात डोज खोप खेर गएको छ । बाँकी खोप कार्यालयमा सुरक्षित रहेको बताइएको छ । भेरोसिलको एक भायलमा एक डोज मात्र खोप हुन्छ । जो व्यक्तिले खोप लाउन चाहेको उसलाई एक भायल खोलेर लगाइन्छ । जसले गर्दा कोभिसिल्डको तुलनामा भेरोसिल खोप कम मात्रामा खेर गएको कार्यालय प्रमुख पौडेलले बताए । उनका अनुसार खोप खेर जानुमा खोपकर्ताको भुल, खोप ओसारपसारमा असावधानी लगायत प्रमुख कारण रहेको छ । खोपमा अनियमितता नभएको दाबी गर्दै स्वास्थ्य कार्यालय प्रमुखले पहुँच र शक्तिको भरमा खोप लगाइदिएको वा खोप गायब पारिएको भन्ने आरोप निराधार रहेको स्पष्ट पारेका छन् । उनले जिल्लामा कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरु निर्धारित समयमै दोस्रो मात्रा लगाउन नपाएकोमा चिन्तित नहुन अनुरोध गरेका छन् । नेपालमा खोप प्राप्त हुने बितिकै शीघ्र रुपमा जिल्लामा आवश्यक खोप ल्याउन पहल गर्ने कार्यालय प्रमुख पौडेलले प्रतिबद्धता जनाएका छन् । उनले भने ’कोभिड बिरुद्धको खोपको पहिलो मात्रा लगाइसकेपछि दोस्रो मात्रा अनिवार्य रुपमा लाउनुपर्छ । तर अहिले खोप अभाव रहेकोले लगाउन सम्भव छैन् । यद्यपी पहिलो मात्रा लगाएकाहरुले चिन्ता लिनुपर्दैन । खोप प्राप्त गर्न सरकारले खोप उत्पादक देशसँग पहल गरिरहेको र प्राप्त हुने बितिकै दोस्रो मात्रा लगाएकाहरुलाई प्रमुख प्राथमिकता दिइने छ ।‘
Be the first to comment on "खेर गयो पाँच सय ६४ डोज, कसको दोष ?"