खिम्ती २ को निर्माण फागुनदेखि

 

दीक्षण समाचार
चरिकोट, ११ पुस
दोलखा र रामेछापको सीमा तथा रसुवामा निर्माण हुने ४८.८ मेगावाटको खिम्ती–२ एवं २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाको निर्माण आगामी फागुनबाट सुरु हुने भएको छ । दुवै आयोजनाको निर्माणपूर्वका सबै काम पूरा भएको छ । खिम्ती–२ पिपुल्स इनर्जी लिमिटेड र लाङटाङ आरएम गु्रपअन्तर्गतको मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्दैछन् । दुवै आयोजना एउटै व्यापारिक घरानाले निर्माण गर्न लागेका हुन् ।
खिम्ती–२ को अहिलेसम्म विस्तृत आयोजना प्रतिवेदन (डिपिआर), हाइड्रोलोजिकल मोडलिङ लगायत काम पूरा भइसकेको पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्ण आचार्यले बताए । ‘ठेकेदारलाई काम गर्ने कार्यादेश समेत दिइएको छ, चिनियाँ ठेकेदारलाई सुरुको १० प्रतिशत पेश्की रकम दिएपछि काम सुरु हुन्छ,’ उनले भने, ‘एक महिनाभित्र सबै काम सकेर फागुनदेखि निर्माण सुरु गर्ने तालिका छ ।’ आचार्य नै अध्यक्ष रहेको मल्टी इनर्जीले निर्माण गर्ने लाङटाङको निर्माण पनि एकै समयमा सुरु हुने उनले जानकारी दिए ।
खिम्तीतर्फ अहिलेसम्म २ वटा बेली ब्रिज, आवश्यक विद्युतको जोहो, क्याम्प, पहुँचमार्ग लगायत काम सकिएको छ । यस्तै, लाङटाङको हकमा समेत यी सबै काम पूरा भएको आचार्यले जानकारी दिए । दुवै आयोजना इपिसी–एफ (अध्ययन, खरिद, निर्माण तथा आर्थिक स्रोत व्यवस्थापन) मोडलमा चिनियाँ कम्पनीले निर्माण गर्न लागेका छन् ।
खिम्ती निर्माण गर्न चीनको चोङक्विङ वाटर टर्बाइन वक्र्स (सिडब्लूटिडब्लू) ले ८ करोड ८० लाख अमेरिकी डलरमा ठेक्का पाएको छ । उक्त आयोजनामा सानिमा बैंकको अगुवाईमा १० बैंकले लगानीको प्रत्याभूति गरिदिनेछन् । यसैगरी, लाङटाङ खोला पनि खिम्ती–२ निर्माण गर्ने चिनियाँ कम्पनीले नै पाएको छ । यसमा सनराइज बैंकको अगुवाईमा ३ बैंकले लगानी प्रत्याभूति गरिदिनेछन् ।
दुवै आयोजनामा १० प्रतिशत पेश्की खर्च पाएपछि चिनियाँ ठेकेदारले आफैं लगानी ल्याएर निर्माण गर्नेछन् । आयोजनाबाट विद्युत उत्पादन भएको ७ सय दिनपछि चिनियाँ कम्पनीलाई ऋण तिर्नुपर्नेछ । खिम्तीको लागत करिब ९ अर्ब र लाङटाङको निर्माण लागत करिब ४ अर्ब ५ करोड रुपैयाँ अनुमान गरिएको छ । खिम्तीबाट २०७८ साल असारसम्म र लाङटाङबाट २०७७ साल पुसभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

Shares

Be the first to comment on "खिम्ती २ को निर्माण फागुनदेखि"

Leave a comment

Your email address will not be published.


*