खाडीचौर–चरिकोट सडकको फागुनदेखि कालोपत्रे हुने

श्रृजनकुमार घिमिरे
चरिकोट, ११ पुस
खाडीचौर–चरिकोट सडकको २ महिनापछि कालोपत्रे सुरु हुने भएको छ । सडक विस्तार आयोजनाले बुधबार प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको कार्यकक्षमा आयोजना गरेको बैठकमा निर्माण व्यवसायीले फागुनदेखि कालोपत्रे सुरु गर्ने प्रतिबद्धता गरेका हुन् ।
लामोसाँघु–जिरी सडक विस्तार आयोजनाको पहलमा भएको छलफलमा निर्माण व्यवसायी, परामर्शदाता र जिल्लाका सरोकारवालाहरु जनप्रतिनिधिको उपस्थिति थियो । बैठकमा सडक विस्तारको दोस्रो प्याकेजका निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि दिपक सापकोटाले अहिले प्राविधिक कारणले ढिलाइ भए तापनि केही दिनमै कामले तिव्रता पाउने दाबी गरे ।
दोस्रो प्याकेजेको मुडेदेखि हलहलेसम्म सबबेसको काम भइरहेको छ । अब चाँडै बोच र चरिकोटबाट पनि उपकरण सहितको २ वटा टोली थपिने जानकारी दिए । फागुनसम्म सब बेसको काम गर्ने र निर्माण सामाग्री जुटाएर फागुनदेखि कालोपत्रे सुरु गर्ने उनले प्रतिबद्धता गरेको आयोजना प्रमुख समेत रहेका सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख धर्मेन्द्रकुमार झाले जानकारी दिए ।
भीमेश्वर नगरपालिका वडा नं. ९ यानमारामा गत वर्ष नै क्रसर जोडेको छ । तर विद्युत लाइन जडानमा ढिलाइ भएकाले क्रसर नचलेपछि अब केही दिनमै क्रसर समेत चल्ने र १० दिन भित्रै ३ वटै टोलीले काम गर्ने बताए । २ प्याकेजमा काम सुरु भए तापनि पहिलो प्याकेजको व्यवसायी कम्पनीका प्रतिनिधिहरु भने बैठकमा सहभागी थिएनन् । पहिलो प्याकेजको २५ किलोमिटरमा खाडीचौरदेखि सुरु गरेको सब बेस विच्छ्याउने काममा गुणस्तरहिन सामाग्री प्रयोग गरेको भन्दै आयोजनाले काम रोकेको छ ।
“नाली र अरु संरचनाको काम जारी रहेको छ” उनले भने “गुणस्तरीय सामाग्रीय प्रयोग नभएको देखिएपछि काम रोक्न ठेकेदारलाई निर्देशन दिएका छौं ।” सडक ६ महिनादेखि अलपत्र अलपत्र सडक एक महिना अघिदेखि कामले गति लिन थालेको थियो ।

पहिलो प्याकेजको ठेक्का तोड्न सक्ने
पहिलो खण्डको जिम्मा पाएको निर्माण कम्पनीको काम २४ महिनामा पूरा हुने गरी २०७२ भदौमा सम्झौता भए तापनि समयमा काम नसकिएपछि एक वर्ष म्याद थप भएको थियो । त्यो म्याद पनि सकिएको ३ महिना वितेको छ । आयोजना प्रमुख झाले अब पहिलो प्याकेजको निर्माण व्यवसायीले म्याद नथपिएकाले मासिक साँढे ३ लाख हर्जना तिर्नु पर्ने बताए । उनले अब काममा आलटाल गर्ने ठेक्का तोडेर नयाँ प्रक्रियामा जान सक्ने बताए ।
पहिलो प्याकेजको खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटरमा भारतीय कम्पनी सिमाञ्चल, नेपाली कम्पनीहरु गौरीपार्वती र सुनौला खिम्तीले संयुक्त रुपमा ठेक्का पाएका छन् । पहिलो प्याकेजको काम ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएकोमा ६० प्रतिशत भुक्तानी भइसकेको छ ।
पहिलो प्याकेजमा नेपाली निर्माण कम्पनीको आधिकारिक प्रतिनिधि सुनौला खिम्तीका कार्यकारी निर्देशक धर्मराज भण्डारी भए तापनि उनले डेढ वर्षदेखि काम नगर्दा सडक अलपत्र परेको थियो । उनलाई प्रहरीले काम नगरेपछि गत जेठमा पक्राउ गरी समयमा काम पूरा गर्ने सर्तमा छाडेको थियो । पछिल्लो सयमा गौरीपार्वतीले कामको जिम्मा लिएर गरिरहेको छ । अहिले सुनौला खिम्तीले कर छली गरेको विषयमा अख्तियारले समेत फाइल तानेका कारण पहिलो प्याकेजको समस्या पुनः बल्झिएको छ ।
सडकको परामर्शदाता कम्पनी इटेको नेपालका इन्जिनियर श्याम खाँडले दुवै प्याकेजले तिब्र गतिमा काम गरे एक वर्षमा सबै काम पूरा हुने बताए । दोस्रो प्याकेजको मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटरको लागि भारतिय कम्पनी सकिल हैदर संगथको साझेदारीमा शंकरमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्का जिम्मा पाएका हुन् । ७० करोड ७० लाख ३४ हजारमा ठेक्का सम्झौता गरेको छ ।
दुवै प्याकेजमा सुनौला खिम्ती कन्ट्रक्सनले जेभीमा काम गरेको थियो । पहिलो प्याकेजमा पूरै र दोस्रो प्याकेजमा १५ किलोमिटर काम उसैले गर्दै आएको थियो । कम्पनीको आर्थिक अवस्था बिग्रिएर टाट पल्टेपछि दुवै प्याकेजको काम गरेको बील वापतको भुक्तानी पनि आन्तरिक राजश्व कार्यालयले रोक्का राखेपछि काममा थप समस्या आएको थियो । अहिले अदालतको आदेशबाट सम्बन्धित कम्पनीको बाहेक अरुको खाता फुकुवा गर्ने आदेशपछि कामले गति पाएको हो ।

Shares

Be the first to comment on "खाडीचौर–चरिकोट सडकको फागुनदेखि कालोपत्रे हुने"

Leave a comment

Your email address will not be published.


*