क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरू गर्ने

चरिकोट (दीस): क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र मर्मत सम्पन्न गरी विद्युत् उत्पादन सुरू गर्ने तयारी गरिएको छ। आयोजनाको व्यवस्थापन, परामर्शदाता, र निर्माण व्यवसायीबीच छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन सुरू गर्ने लक्ष्य लिएको हो।

१५ दिनभित्र विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मतसम्भार सम्पन्न गर्न समयतालिका तय गरिएको माथिल्लो तामाकोसी आयोजनाका अधिकारीहरूले बताएका छन्। गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचनाहरू (हेडवर्क्स) मा ठूलो क्षति पु¥याएको थियो।

पहिरोका कारण तामाकोसी आयोजनाका कर्मचारी तथा नेपाली सेनाका जवानको मृत्यु भएको थियो। पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रूम) भवन, बालुवा थिग्र्याउने पोखरी (डिस्याण्डर), र बाँधबाट डिस्याण्डरसम्म पानी पु¥याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको छ।

आंशिक रूपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलान भत्काएर मर्मत गरिनेछ। यसैगरी, कल्भर्टको भित्ता र सिलिङमा देखिएका चिराहरूको ग्राउटिङ गर्ने काम समानान्तर रूपमा अगाडि बढाइएको जनाइएको छ। दायाँतर्फको अर्को डिस्याण्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रूमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइनेछ। यो काम आगामी वर्षायाम सुरू हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य छ।

वर्षाले क्षति पुगेको प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ। हाल मर्मत भइरहेका आयोजनाको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले अनुगमन समेत गरेको छ।

हिउँदयाममा विद्युत्गृह सञ्चालन गर्न नसकेमा आन्तरिक रूपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुने देखिएकाले सञ्चालक समितिको टोलीले विद्युत्गृह छिटो सञ्चालन गर्न अपनाउनुपर्ने उपायहरू स्थलगत अनुगमनका क्रममा तय गरेको छ।

अनुगमनका क्रममा कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोसीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिएमा देशभित्रको माग अनुसार विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मतसम्भारमा सबैलाई गम्भीर र संवेदनशील भएर लाग्न आग्रह समेत गर्नुभएको छ।

4o
Shares

Be the first to comment on "क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरू गर्ने"

Leave a comment

Your email address will not be published.


*