को–को बन्दैछन् मुख्यमन्त्री ? यस्तो छ समीकरण

काठमाडौं । सातै प्रदेशमा सरकार गठनको प्रक्रिया अघि बढिरहँदा नेकपा एमाले, माओवादी कन्द्र र मधेसवादी दलभित्र प्रदेशको मुख्यमन्त्री को बन्ने भन्ने कसरत सुरू भइसकेको छ । मुलुक संघीयतामा जाँदा आगामी फागुन ३ गतेभित्र सातै प्रदेशमा प्रादेशिक सरकार गठन हुनेछ ।

नेकपा एमालेले प्रदेश संसदीय दलको नेता चयन र मुख्यमन्त्री टुुंग्याउने जिम्मा सम्बन्धित प्रदेशका सांसदको जिम्मामा छाडेको छ भने माओवादी केन्द्रले पार्टी हेडक्वाटरले नै तय गर्ने निर्णय गरेको छ । तर, त्यसअघि प्रदेश कमिटीसँग छलफल गर्ने उसको तयारी छ ।

प्रदेशसभामा दलहरूको सिट संख्याका आधारमा २ नम्बर प्रदेशमा बाहेक अन्य सबै प्रदेशमा वाम नेतृत्वको सरकार बन्ने निश्चितजस्तै छ । निर्वाचनपछि दोस्रो ठूलो दल कांग्रेसको भने कुनै पनि प्रदेशमा सरकार बन्ने सम्भावना देखिएको छैन । त्यसैले कांग्रेसभित्र यसबारेमा बहस नभएको नेताहरू बताउँछन् । २ नम्बर प्रदेशमा भने मधेसवादी दलको सरकार बन्ने निश्चितप्रायः छ ।

प्रदेश एकको मुख्यमन्त्रीमा दुई पूर्वमन्त्रीको दाउ
१४ जिल्ला समेटिएर बनेको प्रदेश नम्बर सामरिक महत्त्वको प्रदेश हो । चीन र भारतका अलावा भुटान र बङ्गलादेशसँग पनि सीधा सम्पर्क कायम गरेर व्यापार विस्तार गर्न सक्ने प्रदेश एकको मुख्यमन्त्रीको दौडमा एमालेका दुई प्रभावशाली नेता देखिएका छन् ।

गठबन्धनको भागवन्डामा मुख्यमन्त्री र सभामुख एमालेको भागमा परेपछि पार्टी सचिव तथा पूर्व पर्यटनमन्त्री भीम आचार्य र वैकल्पिक पोलिटव्युरो सदस्य तथा पूर्व सञ्चारमन्त्री शेरधन राई मुख्यमन्त्रीको आकांक्षीका रूपमा देखिएका हुन् । प्रदेश एकमा एमालेको एकल बहुमत छ । कुल ९३ सिटको प्रदेशसभामा एमाले एक्लैका ५१ जना सांसद छन् । १५ जना सांसद रहेको माओवादी केन्द्रको भागमा भने उपसभामुख परेको छ ।

कसले मार्ला बाजी ?
एमालेले प्रदेश संसदीय दलको नेता सर्वसम्मतबाट टुंगो लाग्न नसके मतदानद्वारा गर्न निर्देशन दिइसकेको छ । अतः प्रदेश नम्बर एकमा सर्वसम्मत दलको नेता चयन हुन कठिन देखिन्छ । र, आचार्य र राईकै बीचमा प्रतिस्पर्धा देखिन्छ । त्यसो त पछिल्लो समय पार्टी पोलिटव्युरो सदस्य तथा मोरङ– ४ (ख)बाट निर्वाचित सांसद जीवन घिमिरेले पनि आफूलाई दाबेदार बताउँदै आएका छन् । तथापि उनको उमेदवारीको घोषणा ‘मन्त्री पदको बार्गेनिङ’का लागिमात्रै भएको एमाले नेता बताउँछन् ।

राई पार्टी अध्यक्ष केपी शर्मा ओली नजिक छन् भने आचार्यलाई पछिल्लो समय नेता माधव नेपाल समूहले समेत रुचाएका छैनन् । स्थानीय तह निर्वाचनमा टिकट वितरणमा अनियमितता गरेको भन्दै आचार्यविरुद्ध त पार्टी कार्यालयमा उजुरी नै परेको थियो । त्यसैले पनि नेता नेपाल समूहले उनको सट्टामा घिमिरेको नाम चर्चामा ल्याएको हो । नेता नेपाल समूहका नेताहरु आचार्यले महाधिवेशनमा पनि खुलेर सहयोग नगरेको बताउँछन् ।

टिकट वितरण पार्टी पद्धति र प्रचलित विधिसम्मत नगरेको भन्दै तलका नेपाल पक्षीय कार्यकर्ताले आचार्यलाई उमेदवार नै नबनाउन दबाब दिइरहेको स्रोत बताउँछ । आचार्य एक नम्बर प्रदेश संगठन कमिटीका संयोजकसमेत हुन् । सोही कमिटीका सहसंयोजक रहेका राई सकेसम्म सर्वसम्मत दलको नेता चयन हुने र समझदारी नजुटे निर्वाचनबाटै भए पनि मुख्यमन्त्री बन्ने दाउमा छन् । ५१ सांसदमध्ये आफ्नो समर्थनमा ३६ सांसद् रहेको दाबी गर्दै कुनै हालतमा मुख्यमन्त्रीबाट पछि नहट्ने राई निकट स्रोतको दाबी छ ।

“हाम्रो पक्षमा नै ३५–३६ जना सांसद हुनुहुन्छ, चुनावै भए ४५–६ हुने गरी तयारी गर्दैछौँ । तर, पार्टी एकीकरणको प्रक्रियामा जुटेकाले दलको नेता चयनमा चुनाव नगर्ने, समझदारीबाटै टुंग्याउने प्रयास पनि छ,” राई निकट स्रोतले  भन्यो ।

सभामुखमा पनि तीन जना नेताहरूले दाबी गरिरहेका छन् । पाँचथर (क)का गणेश काङवाङ, सुनसरी– ४ (क)का जगदीश कुशियत, सुनसरीकै सर्वध्वज सावाँ लिम्बू प्रदेश १ का सभामुखका दाबेदार हुन् ।

प्रदेश २ मा मधेसवादीको सरकार, प्रमुख प्रतिपक्षी एमाले
प्रदेश नम्बर दुईमा भावी मुख्यमन्त्रीका लागि राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच छलफल चलिरहेको छ ।  माघ २१ गते बस्ने बैठकले तय गर्ने राष्ट्रिय जनता पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए । उनका अनुसार दुई दलबीच मुख्यमन्त्री चक्रिय प्रणालीमा गर्ने कि अन्य विधि अपनाउने भन्ने तय भइसकेको छैन ।
१०७ सदस्यीय प्रदेशसभामा राजपाका २५ र संघीय समाजवादी फोरम नेपालका २९ सांसद् छन् ।

“हामी छलफलमा छौँ, २१ गते बस्ने बैठकले तय गर्छौं,” मनिषकुमारले  भने । प्रदेश नम्बर दुईको मुख्यमन्त्रीको नेतृत्व फोरमले पाए सभामुख राजपाले लिनेछ । मुख्यमन्त्रीमा फोरमका लालबाबु राउतको नाम चर्चामा छ भने सभामुखमा मनिषकुमार सुमनले चाहना राखेका छन् । “कानुनको विद्यार्थीसमेत भएकाले सभामुखमा आफूलाई योग्य ठानेको हुँ,” उनले भने ।

विपक्षी दलको नेतामा पनि प्रतिस्पर्धा
प्रदेश नम्बर दुईको प्रमुख प्रतिपक्षी एमाले हो । १०७ सदस्यीय प्रदेशसभामा एमालेका २१ सांसद छन् । प्रदेश नम्बर दुईमा पनि एमालेको संसदीय दलको नेता सर्वसम्मत चयन हुने सम्भावना न्यून छ । सप्तरी– १(क)बाट निर्वाचित पूर्वमन्त्री सत्यनारायण मण्डल र महोत्तरी– ४(ख)बाट निर्वाचित शत्रुध्न महतोले दलको नेता बन्ने आकांक्षा राखेका छन् । मण्डल प्रदेश संगठन कमिटी संयोजक हुन् भने महतो पार्टी पोलिटव्युरो सदस्य हुन् ।

“हामी सकेसम्म सर्वसम्मत नेता चयन गर्छौं,” महतोले बाह्रखरीसँग भने, “नभए चुनावबाहेक अरू विकल्प छैन ।” मुख्यमन्त्री बन्ने आकांक्षामा दुई–दुईपटक प्रतिनिधिसभामा निर्वाचित भइसकेको मानिस तल उठ्न राजी भएको बताउँदै मुख्यमन्त्री बन्ने सिट संख्या नभएपछि विपक्षी दलको नेता बन्न पाउनुपर्ने उनको माग छ ।

प्रदेश ३ मा तीव्र कसरत, मुख्यमन्त्री बन्न गुट बदली

प्रदेश नम्बर ३ मा एमालेको एकल बहुमत छ । ११० सदस्यीय प्रदेशसभामा एमाले एक्लैको ५८ सिट रहेको छ  भने माओवादीका २३ सांसद थपिँदा दुई तिहाइ नै पुग्छ । त्यसैले एमालेभित्र मुख्यमन्त्री बन्न बहुआकाङ्क्षी देखा परेका छन् ।

एमालेभित्र प्रदेश नम्बर ३ की संयोजक अष्टलक्ष्मी शाक्य, पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, अरुण नेपाल लगायत नेताको नाम चर्चामा छ ।
तथापि नेता नेपाल पक्षले शाक्यकै नाममा जोडबल गरेपछि चौलागाईं र अरुण नेपाल पछि हट्ने स्रोत बताउँछ ।

यता मुख्यमन्त्री बन्नकै लागि धादिङ– १(क)बाट निर्वाचित पाण्डे केपी ओली समूहतिर लागेका छन् । नेता नेपाल पक्षले मुख्यमन्त्री नबनाउने पक्कापक्की भएपछि पाण्डे त्यता लागेको बताइन्छ । सुरूमा प्रतिनिधिसभामा उठ्ने चर्चा चलाइएकी शाक्य मुख्यमन्त्री बनाउने आश्वासन पाएपछि प्रदेशमा उठ्न राजी भएकी थिइन् । शाक्यको सम्बन्धमा प्रदेश संगठन कमिटीले औपचारिक निर्णय नै गरेको स्रोतको दाबी छ ।

त्यसैगरी ३ नम्बरको मुख्यमन्त्रीमा रामेश्वर फुयाल, सानु श्रेष्ठ र केशव स्थापितको नामसमेत चर्चा छ । “म विगत ३५ वर्षदेखि राजधानी केन्द्रित भएर पार्टीमा काम गरिरहेको छु,” फुयाँलले आफूले उमेदवारी दिने बताउँदै  भने, “सकेसम्म सर्वसम्मत नभए बहुमत सदस्यले मलाई दलको नेता चयन गर्नुहुनेछ र म मुख्यमन्त्री बन्नेछु ।”

उनले राजधानी प्रदेशको नेतृत्व गर्न राजधानीको माटोमा भिजेको हुनुपर्ने जिकिर गर्दै मुख्यमन्त्रीको चर्चा चलाइएका सबै नेताले आफूलाई सहयोग गर्ने दाबी गरे ।
प्रदेश नम्बर तीनमा पार्टी अध्यक्ष ओली र नेता नेपाल पक्षको ३५–२० को अनुपात रहेको स्रोतको दाबी छ ।

प्रदेश नम्बर ४ मा गुरुङद्वयको दाबी
प्रदेश नम्बर ४ मा पनि मुख्यमन्त्री सर्वसम्मत रूपमा टुंगिने सम्भावन न्यून छ । ६० सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद छन् र प्रतिस्पर्धामा सचिवद्वय पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ छन् ।

पृथ्वीसुब्बा पार्टी संगठन विभाग प्रमुख हुन् भने किरण प्रदेश संयोजक छन् । गुटका हिसाबले पृथ्वीसुब्बा ओली निकट मानिन्छन् भने किरण उपाध्यक्ष वामदेव गौतम निकट हुन् ।
पार्टीभित्रको आन्तरिक समीकरण मिलाउन पनि किरणलाई नै दलको नेता र मुख्यमन्त्री बनाउनुपर्ने दबाब ओलीलाई बढेको स्रोतको दाबी छ ।

मुख्यमन्त्रीका दाबेदार किरण गुरुङले पार्टीको मंगलबार बसेको स्थायी कमिटीको बैठकले प्रदेश सरकार गठनका सम्बन्धमा कार्यविधि बनाएर पठाउने तयारी गरिरहेको बताउँदै राष्ट्रियसभा निर्वाचन पूर्व प्रदेश सरकार गठन केही नहुने जानकारी दिए ।

“पार्टीले सकेसम्म सर्वसम्मत नेता चयन गर्न भनेको छ, नभए गोप्य मतदानद्वारा नेता टुंग्याउन निर्देशन दिएको छ, त्यही अनुसार प्रदेश सरकार गठन प्रक्रिया अघि बढ्छ,” उनको भनाइ थियो । सके सर्वसम्मत, चुनावै भए पनि आफू दलको नेता चुनिने उनको विश्वास छ । “सकेसम्म सर्वसम्मत दलको नेता बन्ने मेरो प्रयास रहन्छ, नभए पनि जित्न पुग्ने मत छ,” उनले भने ।

प्रदेश पाँचमा शंकर पोखरेल पक्का 
प्रदेश पाँचमा भने एमाले स्थायी कमिटी सदस्य एवम् दाङ– २(क)बाट निर्वाचित शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्कापक्की छ । सुरूदेखि नै एकल प्रतिस्पर्धीका रूपमा देखिएका पोखरेल मुख्यमन्त्री बन्ने आश्वासनमै प्रदेशसभा सदस्यमा उठ्न राजी भएका थिए ।

कुल ८७ सदस्यीय प्रदेशसभामा एमालेका ४१ सांसद छन् । माओवादी केन्द्रका २१ सांसद र कांग्रेसका १९ सांसद छन् । पाँच नम्बर प्रदेशको सभामुख भने माओवादी केन्द्रको भागमा परेको छ ।

प्रदेश ६ मा महेन्द्रबहादुर शाही
प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र नरेश भण्डारीको नाम चर्चा छ । कालिकोट (ख)बाट विजयी शाही पूर्व ऊर्जामन्त्री समेत हुन् । भण्डारी जुम्ला (ख)बाट निर्वाचित सांसद हुन् ।

प्रदेश नम्बर ६ आफूले पाउने पर्ने भन्दै माओवादी केन्द्रले सुरूदेखि नै अडान राख्दै आएको थियो । ४० सदस्यीय प्रदेशसभा रहेको प्रदेश ६ सात प्रदेशमध्ये सानो प्रदेशसमेत हो । प्रदेश ६ मा एमालेका २० सांसद छन् भने माओवादी केन्द्रका १३ सांसद् छन् । प्रत्यक्षतर्फ एक सिट जितेको कांग्रेससँग ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक सांसद् छन् ।
प्रदेश ६ को सभामुख भने एमालेको भागमा परेको छ ।

सातमा चौधरी की धामी ?
माओवादी केन्द्रको भागमा परेको प्रदेश सातमा भने दुई जना आकांक्षी देखिएका छन् । प्रदेश नम्बर सातमा वीरमान चौधरी र मानबहादुर धामीले मुख्यमन्त्रीमा दावी गर्दै आएका छन् ।

चौधरी कैलाली ३ (क)बाट निर्वाचित हुन् भने धामी दार्चुला (ख)बाट विजयी उमेदवार हुन् । ५३ सदस्यीय प्रदेशसभामा एमालेका २५ सांसद छन् भने माओवादीका १४, कांग्रेसका १२ र राजपाका दुई सांसद प्रदेशसभामा छन् ।

एमाले–माओवादी केन्द्रबीच भएको भागवण्डानुसार प्रदेश नम्बर १, ३, ४, र ५ को मुख्यमन्त्री एमालेले पाउने छ । त्यस्तै ६ र ७ नम्बर प्रदेश माओवादी केन्द्रको भागमा परेको छ ।
त्यसैगरी १, ३, ६ र ७ को सभामुख पनि एमालेले पाएको छ । त्यस्तै ४ र ५ को सभामुख भने माओवादी केन्द्रले लिनेछ । एमालेले सभामुख लिएको प्रदेशमा माओवादीले उपसभामुख लिनेछ भने माओवादीबाट सभामुख भएको प्रदेशमा एमालेले उपसभामुखमा उमेदवारी दिनेछ ।

Shares

Be the first to comment on "को–को बन्दैछन् मुख्यमन्त्री ? यस्तो छ समीकरण"

Leave a comment

Your email address will not be published.


*