दीक्षण दैनिक
चरिकोट, बैशाख २९
दोलखाका तिन स्थानीय तहले नयाँ भेरियन्ट सहितकाे काराेना संक्रमण भएमा अाफ्ना नागरिकहरुलाई पोषण खर्च उपलब्ध गराउने भएका छन् । जिल्लाको भीमेश्वर नगरपालिका, कालिन्चोक गाउँपालिका र शैलुङ गाउँपालिकाले कोरोना संक्रमित भएका व्यक्तिहरुलाई पोषण खर्च उपलब्ध गराउने भएका हुन् । भीमेश्वर नगरपालिकाले नगरभित्रका स्थायी रुपमा बसोबास गर्ने नागरिक संक्रमित भएमा पोषण खर्चबापत २ हजार रुपैयाँ उपलब्ध गराउने बताएको छ । त्यसैगरी कालिन्चोक गाउँपालिका अाफ्ना नागरिकलाई कोरोना संक्रमण पुष्टि भएको खण्डमा पोषण खर्चबापत एकमुष्ठ १ हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ । गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले संक्रमित भई होम आइसोलेसन बसेका र अस्पताल भर्ना भएका सबैलाई पोषण खर्च उपलब्ध गराइने बताए । त्यस्तै शैलुङ गाउँपालिकाले १४ दिन अवधीभर होम आइसोलेशनमा बसेका कोराना प्रभावितलाई प्रतिदिन ५ सय रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणबाट जोगिन सबैले प्रयास गर्नैपर्छ । सबै नागरिकलाई कोरोनाबाट सुरक्षित राख्न विविध प्रयासहरु भईरहेका छन् । यद्यपी कोहीकसैलाइ कोरोना सँक्रमण भएमा आवश्यक सन्तुलित भोजन प्राप्त गर्न पैसाको अभाव नहोस् भनेर यस्तो निर्णय गरिएको पालिकाहरुले जनाएका छन् ।
Be the first to comment on "कोरोना संक्रमितलाई पोषण खर्च दिदैँ दोलखाका ३ स्थानीय तह"