कोरोना भाइरस नेपालः थप तीन जनाको मृत्यु

चरिकाेट    नेपालका विभिन्न जिल्लामा थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण र थप तीन जनाको मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार अपराह्ण दिएको छ।

यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,५४७ पुगेको छ।

अहिलेसम्म ५२ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा २२७ जना निको भएसँगै अहिलेसम्म १४,२४८ जना रोगमुक्त भएका छन्।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,२२७ व्यक्ति देशभरि छन्।

को हुन् मृतक?

अहिले पुष्टि भएका तीन जनाको मृत्यु बुधवार भएको हो।

मृत्यु हुनेहरूमा मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुष, पर्साको वीरगन्ज महानगरपालिकाका ७० र ६८ वर्षीय पुरुष रहेका छन्।

मोरङका पुरुषको धरानमा भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको र निज भारत आवतजावत गरिरहने व्यक्ति भएको बताइएको छ।

पर्साका ७० वर्षीय पुरुष भने मुटु तथा मधुमेहको बिरामी रहेको र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि साउन ८ देखि उपचाररत रहेको बताइएको छ।

अर्का पुरुषमा भने मिर्गौलाको समस्या रहेको र झाडापखालाको उपचारका अस्पताल भर्ना भएका थिए।

प्रदेश १ मा पहिलो मृत्यु

प्रदेश १ को बासिन्दाको कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो पटक मृत्यु भएको हो।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको बुधबार साँझ मृत्यु भएको हो।

ज्वरो आएर उपचारका लागि केही दिनअघि कोशी अस्पताल विराटनगर पुगेका उनलाई चिकित्सकले कोरोनाभाइरसको लक्षण देखिएको भन्दै स्वाब सङ्कलन गरेका थिए।

कोशी अस्पतालकै आइसोलेशनमा रहेका उनको बुधबार दिउँसो सङ्क्रमण पुष्टि भएको थियो।

उनको स्वास्थ्य जटिल बन्दै गएपछि थप उपचारका लागि लगिएको र त्यहाँ आईसीयूमा भर्ना गरेलगत्तै उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

उनी दुई महिनाअघि भारतबाट आएर क्वारन्टीनमा पीसीआर परीक्षण गराउँदा नेगेटिभ आएपछि उनी घर फर्किएको बताइएको छ।

सीमाक्षेत्रमै घर भएका कारण पछि उनी भारततर्फ गएको र उतै सङ्क्रमित भएर फर्किएको हुनसक्ने बताइएको छ।

बिहीवार थपिएका १८ जनासहित प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या ९९३ पुगेको छ। तीमध्ये ७८९ जना निको भएर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैबीच कोशी अस्पतालका चिकित्सकसहित चार स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएपछि बिहीवारदेखि बहिरङ्ग सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा. चुमनलाल दासले बताए।

Shares

Be the first to comment on "कोरोना भाइरस नेपालः थप तीन जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*