कोरोना कैरन २ ःजङलमा खोजिएको शान्ती

पत्रकार अर्जुन अपवाद कोरोनाबाट संक्रमित भए । अहिले उनि कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनले स्वाव दिँदादेखि रिपोर्ट नेगेटिभ आउँदासम्मको समयलाई दैनिकीका रुपमा लेखेका छन् । उनको दैनिकीलाई हामी यो श्रृङ्खला १५ अंकसम्म प्रकाशन गर्नेछौं।

उज्यालोको श्रोत हुन्छ, अँध्यारोको हुँदैन । मिठो लागेको थियो पढ्दा । आफ्नै तरिकाले अर्थ्याएको थिएँ । राम्रो हुँदा त्यसका कारणहरु देखिन्छन् । कसरी भयो भन्ने पत्ता लाग्छ । नराम्रो हुँदा कारण पत्ता लाग्दैन । त्यसलाई भोग्नु पर्छ । चुपचाप चुपचाप । विश्वलाई नै अँत्याएको छ कोरोनाले । के गर्ने के नगर्ने । वर्षदिन पुग्न लाग्दा पनि केहि भेउ मिलेको छैन । पहिलो चरणमा अलिक राम्रोसँग सामना गरेका देशहरु दोश्रो चरणमा लकडाउनमा छन् । अँध्यारोको श्रोत हुँदैन भनेको जस्तै यसको श्रोत भेटिएको छैन । कसरी सामना गर्ने भन्ने उपाय भेटिएको छैन । ठ्याक्कै प्रयोग हुने औषधी भेटिएको छैन । उठेपछि १५ मिनेटजति पर हिँडेर जाने र मुलको पानीमा मुख धुने दैनिकि थियो । जाने कि नजाने ? अलिक समय मनमा तर्कना चल्यो । सोचें बाटो हिँड्न त भैहाल्यो नि । कसैसँग छोईछिटो हुनुभएन । रोग नै यस्तै थियो । धारामा नै जाँदा त के नै पो भइहाल्ला र ? यहि तर्कनाले जित्यो । म धारातिर लागें । धारमा मानिसहरु थिए । म धारातिर नलागी लगातार अगाडि लागें । अलिक पर पुग्दा चराहरु मजाले गीत गाइरहेका थिए । उनिहरुलाई चैं साच्चै डर लाग्छ कि लाग्दैन होला । मैले मोबाइलमा आवाज रेकर्ड गरें । फर्कँदा धारामा कोहि थिएनन् मुख धोएर फर्किएँ । बाटामा भएका मानिसहरु, घरहरु विराना भए । बोल्न भएन । कुरा गर्न भएन । कुरा गरेकै भोलीपल्ट रुघा लाग्यो भने । खोकी लाग्यो भने । दीक्षण दैनिकका सम्पादक सिर्जन घिमिरेको जन्मदिन । १० बजेतिर फोन गरेर शुभकामना दिएँ । उनले चिया खाने निम्ता गरेका थिए । अरुबेला भए दगुर्दै जान हुन्थ्यो । यो बेलामा त निस्कन मिलेन ! फेसबुकले जन्मदिन देखाएपछि चितवनकी राधा ढकाललाई फोन गरेको थिएँ । टाढा थियो । नत्र त उनले पनि निम्ता गर्थिन होला । जान मिल्दैन्थ्यो । खानापछि जंगलतिर घुमियो । यहाँ स्वतन्त्रता थियो । रुखहरुले जीवजन्तुले शंका गर्दैनन् । किनभने तिनीहरुलाई कुनै डर छैन । रोगको डर हुने प्राणी सायद मानिसमात्र होला ।जंगलमा एउटा मन्दिर छ भनेर मलाई अलि अगाडि नै एकजनाले भनेका थिए । म त्यो मन्दिरमा गएको थिइन । आज अनयासै पुगियो ।हाम्रा जीवनमा धेरै कामहरु यस्तै अनयासमा नै हुन्छन होला । हामीले ख्याल गर्नु नगर्नु अर्कै कुरा हो ।जंगलबाट फर्किएपछि कोठाका अगाडि फूलेका फूलहरु पारिलो घाममा मुस्कुराइरहेका थिए । १र२ ओटा तस्विर लिएँ । साथीलाई जंगल घुम्न गएको भनें । उनले भने यो बेला कतै पनि ननिस्कनु अवगाल आउँछ ।जिल्लाकै ठूलोमध्येको एक सहकारीका बारेमा एउटा अनलाइनमा आएको समाचारले बजार तातेको छ । सहकारीका बारेमा केहि गम्भिर कुराहरु आएका थिए । केहिले फेसबुकमा प्रतिकृया दिन लागेका थिए । इश्वरसँग च्याट र फोन दुवैमा कुरा भएको थियो । उसले पिसिआरको रिपोर्ट आयो कि भनेर सोधेको थियो । रिपोर्ट आएको थिएन । मैले त्यहि जानकारी दिएँ । आज शनिवार । रिपोर्ट आएन । शनिवार आउने सम्भावना पनि थिएन । क्रमश……..

Shares

Be the first to comment on "कोरोना कैरन २ ःजङलमा खोजिएको शान्ती"

Leave a comment

Your email address will not be published.


*