कोरोना कैरन १४: फेरी कोरोना लागेर यतै आए हुन्थ्यो !

पत्रकार अर्जुन अपवाद कोरोनाबाट संक्रमित भए । अहिले उनि कोरोना संक्रमणबाट मुक्त भइ नियमित काममा फर्किसकेका छन् । उनले स्वाव दिँदादेखि रिपोर्ट नेगेटिभ आउँदासम्मको समयलाई दैनिकीका रुपमा लेखेका छन् । उनको दैनिकीलाई हामी यो श्रृङ्खलामा १५ अंकसम्म प्रकाशन गर्नेछौं।

२०७७ मंसिर ४ गते साथीहरुलाई विहानैदेखि रिपोर्ट कस्को के आउने भन्ने खुल्दुली थियो । हामीभन्दा अगाडि नै संक्रमित भएको साथीले मैले त सपनामा पोजेटिभ आएको देखें भनेर सुनाएको थियो । उसलाई एक हप्तामा जाँच गर्दा पनि पोजेटिभ रिजल्ट आएको हुनाले हामीले उसको नाम नै डबल पोजेटिभ राखेका थियौं । विहानै आमालाई फोन गरेको थिएँ । बालाई पनि फोन गरें । मैनापोखरी हुनुहुँदो रहेछ । रुघा लागेको बताउनुभएको थियो । बैनीलाई फोन गरें । रिताले फोन गरेर तिलबारीमा गहत टिप्न लागेको बताएकी थिइ । एक जना मित्रले एउटा कानुनी सल्लाहका लागि फोन गरेका थिए । बाबुका २ श्रीमती भएको अवस्थामा छोराले जोडेको सम्पत्तीमा अर्की आमाको हक लाग्छ कि लाग्दैन भनेर ।  अर्का एक जना साथीले संस्था नविकरण प्रकृयाका बारेमा सल्लाह लिनका लागि फोन गरेका थिए । १० बजेपछि साथीहरु विभिन्न खालका हल्ला फैलाउन थाले । कोहि ३ जनाको मात्र नेगेटिभ भयो भन्न थाले कोही के । कोहि के । रिपोर्ट पोजेटिभ आए के गर्ने भनेर योजना बनाउन थाले कोहि । माथिल्लो तामाकोसी सरोकार समिति दर्ता हुँदा नै विरोध भएको थियो दोलखामा । त्यसले एउटा पुस्तक निकाल्ने कुरा मलाई नेपाली कांग्रेस दोलखा सभापति रुद्र खड्काले बताएका थिए । एकदिन हामी पावन होटलमा चिया खाइरहेका बखत त्यसको प्रसङ्ग निस्किएको थियो । मैले पनि एउटा लेख पठाएको थिए । किताब प्रकाशन भयो कि भएन भनेर दिव्यध्वज कार्कीलाई फोन गरें । उठाएनन् । रुद्रलाई फोन गरें । काठमाण्डौ नै रहेछन् । उनिसँग अलिकति कुराकानी भयो ।किताब प्रकाशन भएको रैनछ । प्रकाशित हुने लेखको सुचीमा तपाँइको नाम राख्न लगाएको छु । उनले भनेका थिए ।भुपालले फोन गरेका थिए । मैले सबैभन्दा पहिला किनेको नेपाल जलविद्युत विकास कम्पनीको शेयर डिम्याटमा लानका लागि उनलाई कागजात दिएर पठाएको थिएँ । त्यसैका लागि उनले फोन गरेका थिए । जाने बेला बेड सिट सिरानीको खोल धुनुपर्छ भनेर सुरक्षाको जिम्मा लिएका दाईले हिजै भनेका थिए । रिपोर्ट कतिवेला आउँछ भन्ने टुंगो नभएपनि केहि साथीले त्यो धोइसकेका थिए । हामीले रिपोर्टको टुंगो नभएका कारण त्यो काम गरेका थिएनौं । न राती यतै सुत्नुपर्ने पो हो कि भनेर । साथीहरु कोही स्वास्थ्य शाखामा फोन गर्न लागे । त्यसको जवाफ चित्तवुझ्दो नआएर होला मसँगबाट रिपोर्ट लगेर धुलीखेल अस्पतालमा पनि फोन गर्न भ्याए । १ बजेतिर राजनसँग कुराकानी भएको थियो । उनिसँग सामान्य कुराकानी भए । उनलाई पनि कोरोना पोजेटिभ भएको कुरा मैले भनेको छैन । साँढे २ तिर जिल्ला स्वास्थ्य कार्यालयबाट फोन आयो । साथीहरु रिपोर्ट भन्छ भनेर ढुक्क भए । फोनमा एक महिलाले हाम्रो स्वास्थ्य अवस्था, दीर्घरोग भए नभएको, कहाँ बसिरहेको लगायतका विषयमा सोधखोज गरिन् । साथीहरु हिस्स परे । प्लाष्टिकहरु यताउता छरिएका थिए । सुरक्षा गार्ड दाइसँग पन्जा मागेर खाडल पुर्ने र त्यो जम्मा गरेर जलाउने काम गरियो । ४ बजे आफ्नै बेडमा पानीको बाफ लिइरहेको थिएँ । साथीहरु उता चलमलाए जस्तो लाग्यो । रिपोर्ट आएछ । मेरो समेत ५ जनाको नेगेटिभ । २ जनाको पोजेटिभ । पोजेटिभ साथीहरु निन्याउरो मुख लगाएर बसेका थिए । अरु साथीहरुमा उत्साह थियो । कोरोना जीउमा त थियो थिएन । एउटा कागजले हाम्रो वर्ग छुट्याएको थियो ‍। हुन त त्यही कागजले हामीलाई यत्रो दिन त्यो अवस्थामा राखेको थियो । यसो लाग्छ कैलेकाँहि शक्ति छ चैं के मा ? परिस्थितिमा कि अरु नै कुनै कुरामा ? आज जाने कि भोली । एक जना सरले एम्बुलेन्स लिन आउने बताए । त्यसो हुँदा खाना खाएर जाने कुरा भयो । म बेड सिट निकाल्नका लागि कोठातिर लागें । बेडसिट र सिरानीको कभर धोएर सुकाएँ । एम्बुलेन्स आइपुग्यो । नजिकै घर भएका साथीले आजको खाना घरमै खाने भयो । उनलाई पहिला एम्बुलेन्स पुर्‍याउन गयो । हामीले खाना खायौं । खाना पकाउने दाइ आफैं पनि १४ दिन क्वारेन्टाइन बसेका रहेछन् । भारतबाट फर्कँदाखेरी । पछि आएका साथीसँग आयुर्वेदिक औषधी थिएन । हाम्रा टिमका एकजनाले नेगेटिभ आएपछि त औषधी खान्न भनेर गफ दिएका थिए । नयाँ साथीले औषधी मागे । तर मात्रा पुग्दैन भनेर उनले दिएनन् । गफ लगाउनु र काम गर्नु दुई ध्रुवका कुरा हुन कि ! मैले उसलाई मेरो बाँकी आयुर्वेदीक औषधी र थर्मस दिएँ । उसँग भएको थर्मस आधा लिटर क्षमताको मात्रै थियो । मसँग भएको १ लिटरको । निस्कँदा अँध्यारै भइसकेको थियो । नजिकैको कर्किनी आमैलाई ल आमै हामी त लाग्यौं भनेर भनेको । फेरी पनि कोरोना लागेर यतै आए हुन्थ्यो नि भनिन । मैले कुनैदिन मिलेछ भने चिया नै खान आउँला नि भनें । आफु बल्ल निस्कन पा छ । उनको भनाई त्यस्तो छ । संसार गज्जबकै छ । ‘ एम्बुलेन्स चढ्न लाग्दा ६ बजेर २५ मिनेट गएको थियो । हाम्रा एक जना साथीले चालकलाइ एउटा फोटो खिचिदिन भने । उनले मोबाइल छून मानेनन् । एम्बुलेन्समा मसहित चारजना चढ्यौ । पहिला आमालाई फोन गरेर जानकारी दिएँ । आमा घरमै हुनुहुँदो रैछ । बुबालाई फोन गरेर जानकारी दिएँ । उहाँ कुडारमा बस्तुलाई घाँस हाल्दै हुनुहुँदो रैछ ।

क्रमश………..

Shares

Be the first to comment on "कोरोना कैरन १४: फेरी कोरोना लागेर यतै आए हुन्थ्यो !"

Leave a comment

Your email address will not be published.


*