कोरोना कहरमाः कारागारबाट २ सय भन्दा बढी मुढा बिक्री

ईश्वर बिश्वकर्मा चरिकोट,  –दोलखा कारागारका कैदीबन्दीद्वारा निर्मित २ सय भन्दा बढी मुढा बिक्री भएको छ । बन्दाबन्दी खुलेपश्चात साउन देखि मंसिर १३ सम्मको अवधीमा कैदीबन्दीद्वारा निर्मित २ सय ५० वटा मुढा बिक्री भएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी गरिएको बन्दाबन्दीमा मुढाले बजार पाएको थिएन । बन्दाबन्दी खुलेको केही साता पछि मुढा बिक्री हुन थालेको हो । कैदीबन्दीले हालसम्म मुढा बिक्रीबाट १ लाख २५ हजार भन्दा बढी आम्दानी गरेको कारागार प्रशासनले जनाएको छ । कारागारबाट उत्पादित मुढा प्रतिगोटा ५ सय रुपैयाँमा बिक्री हुने गरेको जिल्ला कारागार दोलखाका नायब सुब्बा पदम केसीले बताए । बन्दाबन्दीमा पनि कैदीबन्दीले मुढा निर्माण गरेका थिए । तर उक्त समयमा मुढा बिक्री भएको थिएन । ना.सु केसीले भनेल बन्दाबन्दी खुलेपछि मुढा बिक्री हुन थालेको हो । यस अघि मिहिनेत गरेर बनाइएको मुढा बिक्री सन्तोषजनक हुने गरेको थियो । तर कोरोना पछि मुढा बिक्रीमा गिरावट आएकोले कम संख्यामा उत्पादन गर्ने गरिएको कैदीबन्दीले बताएका छन् । मुढा निर्माणको लागि धागो, बाँस, टायर, डोरी, रङ लगायतका सामग्री आवश्यक पर्दछ । ति सामग्री उपलब्ध गराउन कारागार प्रशासनले सहयोग गर्दछ
थन्कियो त्रिशुल
कोरोनाले दोलखा भीमेश्वर, कालिञ्चोक लगायतका मठमन्दिर बन्द रहेका छन् । जसको प्रभाव कैदीबन्दीको आयआर्जनमा समेत परेको छ । मठमन्दिर बन्द हुँदा कैदीबन्दीले उत्पादन गरेको त्रिशुल बिक्री हुन सकेको छैन् । मठमन्दिर खुल्ला हुँदा केहि संख्यामा त्रिशुल बिक्री हुने गरेको भएपनि अहिले त्यस्तो नभएको कैदीबन्दीहरुले बताए । त्रिशुलसगैँ कारागारमा उत्पादित दियो र चुरा राख्ने स्ड्यान्ड एउटा पनि बिक्री हुन नसकेको कैदीबन्दीले गुनासो गरेका छन् । विभिन्न कारणले बन्दी जीवन बिताइरहेका कैदीबन्दीले मुढा, दियो, त्रिशुल, निर्माणका साथै कपडा सिलाउने काम गर्दै आएका छन् ।यी सबै कार्यको लागि कच्चापदार्थ जुटाउन कारागार प्रशासनले सहयोग गर्ने गरेको छ । कैदीबन्दीले समूहमा काम गरी समूहमै आम्दानीसमेत गर्ने गरेका छन् । आम्दानी भागबण्डा गरी कामको आधारमा लिने गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा हाल १ सय ५७ जना पुरुष कैदीबन्दी रहेका छन् ।

Shares

Be the first to comment on "कोरोना कहरमाः कारागारबाट २ सय भन्दा बढी मुढा बिक्री"

Leave a comment

Your email address will not be published.


*