कोरोनाको बीचमा होली पर्व

जानुका न्यौपाने

होली हरेक वर्ष फाल्गुण शुक्ल पूर्णीमा अर्थात् फागु पूर्णीमाका दिनमा मनाईने रंगको पर्व हो । तर, यस वर्ष विगतमा झैं खुल्ला रुपमा उत्साहका साथ मनाउन मानिसहरु केहिहदसम्म हच्किएको पाइयो । यसैबेला गत वर्षदेखि शुरु भएको कोरोना केही सहज होला कि भन्ने मानिसहरुमा उत्साह थपिन नपाउँदै फेरि यही समयमा वातावरण प्रदुषण र कोरोनाको त्रास एकैपटक देखा परेको छ नेपालमा । त्यसकारण पनि मानिसहरुले रंगसँग खुलेर रमाउन नसकेको महशुस भएको छ । घर घरमा विभिन्न समूह बनाएर खेल्ने गरिएको होली यस वर्ष धेरैजसो सामाजिक सञ्जालमा पूराना यादहरु समेटेर पोष्ट गरेको पाइयो । यसले पनि मानिसहरु अझै असहज वातावरणमा रहेकाछन् भन्ने बुझाएको छ । कोरोनाले गर्दा परेको आर्थिक, सामाजिक, राजनीतिक, भौतिक लगायतका विकासबाट पछाडि धकेलिएका नागरिकहरुमा निराशा, मनमा चिन्ता र विकल्प बिहिन भएर केही युवा, बालबालिका, वयष्क, जेयष्ठ नागरिकले आत्महत्या गरेका घटनाहरु पनि बढ्दै गएका छन् । तर, यस वर्षको होलीले यी सबै दुरदशाहरुको अन्त्य गरोस्, कोरोनाको कहर हटेर जाओस् भन्ने अपेक्षा रहेको छ ।

होलीको सन्दर्भमा थोरै इतिहास कोट्याउँदा पौराणिक कारण र हिन्दु सँस्कृति अनुसार त्रेता युगसँग यसको इतिहास जोडिएको पाइन्छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रंग घोलेर एक अर्कालाई लगाई रमाइलो गर्ने प्रचलन रहेको छ । यसमा पनि हिरण्यकश्यपुकी बहिनीले आफ्नो भदा प्रल्हादलाई आगोमा भष्म पार्नबाट जोगाई बलिदानी दिइएको कुरा उल्लेख गरेको पाइन्छ । र, आज सोही दिनलाई स्मरण स्वरुप यो पर्व मनाउन थालिएको भन्ने इतिहासमा उल्लेख छ । यो पर्व पहाडमा अघिल्लो दिन र तराईमा भोलिपल्ट मनाउने गरिन्छ । यसरी हेर्दा यहाँ पनि महिलाको बलिदानी उल्लेखनीय रहेको पाइयो । त्रेता युगमा विष्णु नरसिंह अवतारको वर्णन अनि उत्पती पनि होली अनि प्रल्हाद घटनाक्रमसँग सम्बन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चाृ गरिएको छ । भगवान श्रीकृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालकृष्णले बध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको विवरण पनि इतिहासमा पाइन्छ ।

होलीले वसन्त ऋतुको आगमनको शंखघोष गर्दछ । होली रंगहरुको चाड हो । होलीको दिन मानिसहरुले एक अर्कामाथि विभिन्न प्रकारका रंगहरु लगाएर एक अर्कालाई रंगिन बनाउँछन् । यो पर्वमा बालबालिका देखि ज्येष्ठ नागरिक सम्म सबैले रमाइलो गर्छन् । युवा पुस्ताका मानिसहरु झनै धेरै रमाउने गर्दछन् होलीमा । यस पर्वले पूरानो कटुता समाप्त गरेर, द्वेष, वैमनस्यता, दुस्मनीहरुलाई बिर्साएर सदभाव र मेलमिलापका साथ सम्पूर्ण मानिसहरु एक अर्का बीच अदित्तिय सम्बन्ध स्थापित गराउने भन्ने मान्यता रहेको छ । हामी सबै आशा गरौं कि हाम्रो देशमा सर्वोच्च अदालतको फैसला अनुरुप अवैधानिक ठहरिएको नेकपा भित्र देखिएको राजनीतिक असामञ्जस्यता लगायत देशमा आएको कोरोनाको कहर, आर्थिक, सामाजिक, साँस्कृतिक, वातारणीय प्रदुषण सबै आजकै दिनबाट कम हुँदै जाओस देशमा देखिएको सबैखाले खैलाबैला शान्त हुँदै आओस् ।

हो हामी होली पर्वलाई घरपरिवार, साथीभाइ आपसमा रंगमा रंगिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णीमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवाहरु तथा प्रौढा अवस्था मानिसहरु समूह समूहमा हातमा रंग र रंगीन घोल लिएर गाउँदै, बजाउँदै आफसी रिसईबीहरुलाई बिर्सेर उत्साह र उमगंका साथ मनाउने रंगीन पर्वको रुपमा लिन्छौं । फागुन शुक्ल अष्टमीको दिन काठमाण्डौंको बसन्तपुर दरवार अगाडि चीर विशेष रुपले सजाएर लिंगो गाडेपछि होली शुरु भएको र त्यसलाई ढलाएर अनि जलाएर समाप्त भएको ठानिने गरिन्छ । होली रंगको पर्व हो । यसको धार्मिक भन्दा पनि साँस्कृतिक महत्व रहेको छ । यस पर्वमा विसंगतीलाई रंग मार्फत उडाउँदै आगामी नयाँ वर्ष सुखद, उल्लासमय र रंगीन रुपमा शुभारम्भ होस भन्ने यसै होलीको दिनबाट मानिन्छ ।
विगतका इतिहास अध्ययन गर्दा होलिका दहनको खुशियालीमा होली पर्व मनाइएको होइन भन्ने पनि छ । होलीमा होलिका रुपी विकृतिको दहन गरिने भनिए पनि यो कहिलेदेखि फागुमा जोडियो त्यसको यकिन तथ्य भने मैले भेटेको छैन । नेपाल प्राकृतिक, जैविक, धार्मिक तथा कला र सँस्कृतिक विविधताले भरिएको देश हो । यहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । तीनै पर्वहरु मध्ये होली पनि एक हो जसले नेपालीको मेलमिलापको सँस्कृतिलाई झल्काएको हुन्छ । त्यसैगरी नीलो रंगले मानवता र धर्यता, पहेंलो भगवान श्रीकृष्णको प्रिय रंग, रातो रंग साहसको सुचक हो भन्ने भनाई पनि सुनिन्छ । आज खोला, धारा, पँधेरा, नहर, इनारहरु रंगिन हुन्छन् । पानीको अत्याधिक प्रयोग गरिन्छ । शुक्ल पक्षको ठूलो चन्द्रमाको छत्रछाँयामा होलीका विभिन्न गीतहरु गाउँदै विभिन्न तवरबाट रमाइलो गर्ने चलन छ । नेपालमा सरकारको तर्फबाट होलीको दिन सार्वजनिक विदा दिने गरिएको छ । विविधताका आधारमा धार्मिक मान्यतालाई परै छाडेर उत्साह र सदभावका रुपमा यस पर्वलाई मानेर आम नेपालीजनहरु जुनसुकै धर्म या समुदायका भएपनि होलीका दिन एउटै आँगन र तालमा रमाउँछन् । बालबालिका पिच्कारी, बेलुनहरुका साथ मज्जा लिन्छन् । पिच्कारी किनेर मात्र नभई स्थानीय रुपमा पाइने बाँस, निगालो प्लाष्टीकका बोतल आदिको पनि बनाएर प्रयोग गर्छन् । यो पर्व वयस्कहरुको लागि भातृत्व र साहसको पर्व हो ।
शुरुमा म रंग खेल्दिन मलाई यसको समस्या (एलर्जी) छ भने पनि रंगनि माहोल बनेपछि विस्तारै साथीभाइको रंग भरिएका हात अनि पानीका फोहोराबाट बच्न हम्मे पर्ने गरेका युवाहरुको विगतको अनुभव कोरोनाले गर्दा यस वर्ष पुराना यादहरु सँगाल्दै अनि अविर र केसरीको चुटुक्क टिकाका साथमा परिवारका ज्येष्ठजनले दिएको आशिषका साथमा होली सम्पन्न भएको छ । लगभग अधिकाँश मानिसहरुको होली ठूलो जमघट विना नै पारिवारिक रुपमौ मनाएर सकिएको कुरा सामाजिक सञ्जालबाट पनि पुष्टी भएको छ । आगामी वर्ष यो वर्षको भन्दा उल्लासमय वातावरणमा मनाउन पाइयोस्, कोरोनाको कहरका कारण आर्थिक, सामाजिक, राजनीतिक रुपमा देखिएका समस्याहरु अन्त्य हुने छ भन्ने सकारात्मक सन्देश आम नेपालीमा दिएर जाओस् यस वर्षको होलीले शुभकामना ।

शुरुशुरुमा जो कोही पनि यसपाला म रंग खेल्दिन भनेर बसेतापनि सुस्तरी रंगीन माहोल अनि साथीभाईको रंग भरिएका हात अनि पानीका फोहोरावाट वच्न हम्मे हम्मे पर्दछ । पुराना यादहरु सँगाल्दै अनि अविर र केसरीको चुटुक्क टिकाका साथमा वृद्ध पुस्ताले दिएका आशिषको पनि होलीमा विशेष महत्व रहन्छ ।

Shares

Be the first to comment on "कोरोनाको बीचमा होली पर्व"

Leave a comment

Your email address will not be published.


*