दीक्षण समाचार /चरिकोट, –कोरोना रोकथाममा ध्यान केन्द्रित गरेको स्वास्थ्य कार्यालयले अभिमुखिकरण तालिम, गोष्ठि लगायतका कार्यक्रम गर्न सकेन । समुहमा कार्यक्रम गर्दा कोरोना फैलावट हुने भन्दै कार्यालयले यस्ता कार्यक्रमहरु सञ्चालन नगरेको हो ।कोरोना रोकथाममै व्यस्त भएको र निषेधाज्ञाका कारण भीडभाड गर्न नमिल्ने भएको हुँदा कार्यक्रम नगरिएको कार्यालयले जनाएको छ । गत वर्ष तालिम, गोष्ठि तथा अभिमुखिकरण कार्यक्रम गरी सात वटा कार्यक्रम नगरिएको बताइएको छ । नसर्ने रोग सम्बन्धि कार्यक्रम, कार्यक्रम अनुगमन तथा सुपरिवेक्षण, अकुपेशनल हेल्थ अभिमुखिकरण कार्यक्रम, परिवार नियोजन, किशोरकिशोरी तथा प्रजनन स्वास्थ्य सेवा सुदृढीकरण तथा विस्तार, सिबिआईएमएनसिआई कार्यक्रम सञ्चालन हुन सकेन । राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका कार्यक्रम तालिम तथा सम्मान बिदाई, महिला स्वयमसेविकाका लागि अभिमुखिकरण, आमा समुह पुर्नजागरण कार्यक्रम र किशोर किशोरीको लागि आफूलाई चिन कार्यक्रम सञ्चालन गर्न नसकिएको कार्यालयले जनाएको छ ।
चालु आवमा सञ्चालनमा हुने योजनाहरु
स्वास्थ्य कार्यालयले चालु आवमा कोरोना रोकथामका साथै अन्य योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । एकीकृत जनस्वास्थ्य अभियान कार्यक्रम, प्रदेशमा बसोबास गर्ने अति सिमान्तकृत एवं लोपोन्मुख जातीहरुको मातृ तथा बाल स्वास्थ्य सेवामा सहज पहुँच तथा उपभोग बढाउन संस्थागत सुत्केरी र तिनका बालबालिकाकाले पूर्ण खोप लगाएका आमाहरुलाई रु पाँच हजार उत्प्रेरण खर्च प्रदान गर्ने भएको छ । त्यसैगरी कोरोना भाईरस लगायत महामारी तथा विपद् व्यवस्थापन तथा आरआरटी परिचालन गर्ने कार्यालयले जनाएको छ । प्रसुती केन्द्रमा सौर्य उर्जा जडान, आवश्यक औजार उपकरणको खरीद तथा व्यवस्थापन, चाइल्ड टु फेमिली सामाजिक परिचालन कार्यक्रम र स्वास्थ्य आमा समुहलाई स्वास्थ्य प्रर्वद्धन प्रविधिको अनुशरण लागि अनुदान, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि छात्रछात्राहरुको लागि विद्यालयमा आधारित गोष्ठी कार्यक्रम सञ्चालन हुने छ । यसको लागि आवश्यक बजेटको व्यवस्था रहेको बताइएको छ ।
Be the first to comment on "कोरानाले स्वास्थ्य कार्यालय दोलखाका सात कार्यक्रम सञ्चालन भएन"