कोभिड कहरले मेटिएको घुम्ने रहर पुनर्जागृत गराउन लागेका छौँः मन्त्री खड्का

दीक्षण समाचार
चरिकोट, असोज ११
बागमती प्रदेशका वन तथा वातावरण मन्त्रीले विशाल खड्काले दोलखालाई पर्यटकीय पूर्वाधार सम्पन्न सुन्दर जिल्लाको रुपमा स्थापित गरिने बताउनु भएको छ । बागमती खेलकुद विकास समितिद्वारा मंगलबार आयोजित अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताउनु भएको हो ।
उहाँले काठमाडौँबाट नजिक रहेर पनि ओझेल हुन थालेको दोलखालाई पूर्वाधार सम्पन्न बनाई पर्यटकका लागि प्रमुख आकर्षक जिल्लाको रुपमा विकास गरिने बताउनु भएको हो । “देशको राजधानी काठमाडौँ नजिक रहेको र पर्यटन सम्भावना बोकेको जिल्ला दोलखा हो । तर पूर्वाधार निर्माण पूरा हुन नसक्दा सम्भावना भएर पनि ओझेलमा परेको अनुभूति भएको छ ।” उहाँले भन्नुभयो “अब त्यस्ता पूर्वाधारलाई सम्पन्न गरी सुन्दर पर्यटकीय जिल्लाको रुपमा स्थापित गर्ने छौँ । यसको लागि सबैको सहयोग आवश्यक छ ।”
जिल्लाको पर्यटन व्यवसायमा सुख्खा लागेको छ । हौसिएर चलाउन थालिएको होटल सुनसान छ । होटल र लजमा पाहुनाको लागि तयार गरिएका सिरक डस्ना ढुसीले गनाइरहेको छ । जिल्लाको पर्यटन क्षेत्र सुस्ताएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री खड्काले भन्नुभयो “कोभिड कहरपछि दोलखा आउने पर्यटकको रहर मेटिँदै गएको अवस्थामा त्यो रहरलाई पुनर्जागृत गराउन तर्फ हामी लागेका छौँ ।”
मन्त्री खड्काले जिरी कृत्रिम ताल निर्माण, चिनसँग सीमा जोडिएको उत्तरी नाका सञ्चालन, लप्ची गुम्बा जाने सडक बाटो निर्माण लगायतका पूर्वाधारहरू निर्माणका लागि बजेट विनियोजन भएको र त्यसले जिल्लाको पर्यटन क्षेत्रलाई उकास्न टेवा पुग्ने बताउनु भयो । उहाँले बागमती प्रदेश सरकारले घुमफिर वर्ष सुरु गरेको बताउँदै पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न त्यसले सहयोग पुग्ने बताउनु भयो । उहाँले खेल र पर्यटन क्षेत्रमा विकास भएमात्र जिल्लाको पहिचान थप सबल र वृहत हुने सुनाउनु भयो ।
लामाचौर स्थित कालिञ्चोक माविको खेलमैदानमा सुरु भएको रेस्लिङ अहिले पनि जारी रहेको छ ।  

Shares

Be the first to comment on "कोभिड कहरले मेटिएको घुम्ने रहर पुनर्जागृत गराउन लागेका छौँः मन्त्री खड्का"

Leave a comment

Your email address will not be published.


*