बाबुराम शर्मा/ चरिकोट –नेपालमै पहिलो र नमुनायोग्य कालिञ्चोक कुरीमा “कुरी स्की एडभेन्चर सेन्टर” निर्माण हुन लागेको छ । पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले यसको गुरुयोजना तयार पारिसकेकाले डीपीआर तयार गरी यो सेन्टर निर्माण गर्ने तयारी भइरहेको प्रतिष्ठानका निर्देशक उत्तम भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार नेपाल सरकारको करिब पाँच लाख रुपियाँ लागतमा गुरुयोजना तयार भइसकेको छ । गुरुयोजना अनुसार डीपीआर तयारका लागि आगामी वर्षको बजेटमा समावेश गर्ने तयारी पनि भइसकेको छ । नेपालको पहिलो र नमुनाको यो स्की एडभेन्चर सेन्टर निर्माण हुने छ । स्कीको विकास गर्दै लाने लक्ष्य अनुसार सोलुखुम्बुको छ हजार ४७० मिटर उचाइको हिमालमा मेरापिक स्की निर्माण हुने पनि निश्चित भइसकेको छ । गुरुयोजना तयार गर्ने जिम्मा पाएको पास कन्सल्ट्यान्टका ईन्जिनियर देवराज खडकाका अनुसार तयार भएको गुरुयोजना बमोजिम यसको निर्माणका लागि भ्याट सहित करिब २८ करोड रुपियाँ लाग्ने छ । सेन्टरको क्षेत्रफल एक लाख १३ हजार वर्गमिटर रहेको छ । करिब दुई महिना मात्र हिमपात हुने यो थलोलाई बाह्ै महिना अन्य प्रविधि र क्रियाकलापबाट भए पनि चलायमान बनाउन विकल्पहरु पनि खोजिएका छन् । पास कन्सल्ट्यान्टका ईन्जिनियर खडकाले भन्नु भयो, “पानीको अभाव कम गर्न एक लाख लिटर क्षमताको पानी ट्याङकी निर्माण हुने छ । धार्मिक पर्यटकलाई लक्षित गरी यहाँ आध्यात्मिक ध्यान केन्द्र पनि निर्माण हुने छ । ”कृत्रिम हिउँ उत्पादनको प्रविधि पनि जडान हुने छ । आइस स्केटिङ पनि रहने छ । कृत्रिम वाल क्लाइम्बिङ, क्वार्ड बाइक ( सात मटिर लामो र ५.५ मिटर चौडाइ ) र सात सय मिटरको टिबार रुट समेतका संरचना निर्माण हुने गुरुयोजनामा उल्लेख रहेको छ । सिक्नेहरुका लागि सजिलो र मध्यम खाले र विज्ञका लागि जटिल स्की रुटहरु रहने छन् । उहाँले भन्नु भयो, यसको आइआरआर १२.५६ प्रतिशत रहेको छ । पे ब्याक पिरियड आठ वर्षको हुने छ । एनपीभी भ्यालु सात करोड ७३ लाख रहेको छ । कुरी केबुलकार र कालिञ्चोक गाउँपालिकाबाट प्राप्त तथ्याङकका आधारमा गुरुयोजना तयार भएको छ । दैनिक एक हजार पर्यटक अट्ने होटल तथा रेस्टुरेन्टको अपेक्षा राखिएको छ ।
सदरमुकाम चरीकोट र काठमाडौँबाट नजिक हुनु र कालिञ्चोक भगवतीको मन्दिर यहाँ रहनु यसका सबल पक्ष रहेका छन् भने पानीको स्रोतको अभाव,गुणस्तर सडक नहुनु, पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना हुँदाहुँदै पनि सरकारको पोलिसी नहुनु यसका कमजोरी पक्ष रहेका गुरुयोजनामा उललेख रहेको छ ।