इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक ८
व्यावसायिक रुपमा कृषि खेती गर्ने रहर र जाँगर भए पनि पर्याप्त सिंचाई सुविधाको अभावमा किसानहरुले हैरानी खेप्नुपर्ने बाध्यता छ । यो बाध्यात्मक स्थितिका बीच अधिकांश किसानले जेनतेन आकाशे पानीको भरमा खेती योग्य जमिन बाँझो रहन दिएका छैनन् । यसरी नै वर्षाैँदेखि खेती गर्दै आएका तामाकोशी नदी किनारको केही उचाइमा रहेका बस्तीका किसानहरुको सपना थियो, तामाकोशीको पानी ल्याई सजिलै आफ्नो खेतबारी सिंचित गर्ने । अनि प्रशस्तमात्रामा अन्नबाली तथा तरकारी उत्पादन गर्ने । लामो समयदेखि सिंचाई समस्या भोग्दै आएका किसानहरुको यो सपना केही वर्षपछि साकार हुने लक्षण देखिएको छ ।
बागमति प्रदेश सरकार अन्तर्गत जिल्ला सदरमुकाम चरिकोटमा अवस्थित जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले सिंचाई सुविधा विस्तार, संरक्षण तथा संवद्र्धन गर्ने क्रममा चालु आवमा लिफ्ट सिंचाई आयोजना पनि सञ्चालन गर्दैछ । यस अन्तर्गत बैतेश्वर गाउँपालिका–७ मा मार्बुटार लिफ्ट सिंचाई योजना, भीमेश्वर नगरपालिका–५ मा चर्नावती लिफ्ट सिंचाई योजना, तामाकोशी गाउँपालिका–५ मा किर्ने गाउँ लिफ्ट सिंचाई योजना र तामाकोशी गाउँपालिका–३ स्थित जफे डुनडेरबगरमा लिफ्ट सिंचाई योजना सञ्चालन हुने भएको कार्यालय प्रमुख मनिस महर्जनले बताउनुभयो । यी सिंचाई योजनामा तामाकोशीको पानी विद्युत शक्तिको प्रयोगबाट पम्ममार्फत पानी तानेर बस्तीका किसानहरुको खेतबारीमा पु¥याउने प्रमुख लक्ष्य राखिएको छ ।
कार्यालय प्रमुख महर्जनका अनुसार करिब चार करोड कुल लागत लाग्ने अनुमान गरिएको मार्बुटार लिफ्ट सिंचाई योजना चालु वर्षबाट सुरु हुने भएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो सिंचाई सुविधाले ४५ हेक्टर खेतीयोग्य जमिन सिंचाई हुने छ । चालु आवको यो योजना सञ्चालनको लागि एक करोड ५ लाख रुपैयाँ बजेट प्राप्त भएको र केही महिनापछि काम थालनी हुने उहाँले बताउनुभयो । गत वर्ष यस योजनाको लागि ३० लाख रुपयाँ रकम प्राप्त भएपनि खर्च गर्न नसकेपछि फिर्ता गयो । तर यो वर्ष भने त्यस्तो नहुने इन्जिनियर नेत्र प्रसाद पौडेलले बताउनुभयो ।
चर्नावती लिफ्ट सिंचाई योजनाका लागि चालु आवमा एक करोड रुपैयाँ बजेट रहेको छ । किर्ने गाउँ लिफ्ट सिंचाई योजनाको लागि २० लाख, जफे डुनडेरबगरमा लिफ्ट सिंचाई योजनाको लागि २० लाख रुपैयाँ बजेट प्राप्त छ । यी तीन योजनाको यथाशीघ्र सर्वेक्षण तथा डिपिआर निर्माण गरी काम सुरु गरिने बताइएको छ ।
यस्तो छ यो वर्ष सञ्चालन हुने योजनाहरु
कार्यालयले चालु आवमा प्रदेश अन्तर्गत विविध कार्यक्रम सञ्चालन गरिहेको छ । २२ वटा सिंचाई योजना, २४ वटा नदी नियन्त्रण तथा पहिरो व्यवस्थापन योजना, १० वटा सिंचाई योजनाहरुको मर्मत कार्य, १ वटा ग्रामीण विद्युतीकरण कार्यक्रम, चार वटा विस्तृत सर्भेक्षण कार्य र एक वटा सिंचाई गुरुयोजना तयार गर्ने कार्य सञ्चालन हुने बताइएको छ ।
त्यस्तै संघीय सशर्त अनुदान कार्यक्रम अन्तर्गत चार वटा मझौला सिंचाई आयोजना, सात वटा नयाँ प्रविधिमा आधारित सिंचाई आयोजना, दुई वटा समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजना, एक वटा नदी नियन्त्रण तथा पहिरो व्यवस्थापन र एक वटा मर्मत सम्भार आयोजना सञ्चालनमा छ ।
इन्जिनियर पौडेलले सिंचाई सुविधाका लागि पूर्वाधारहरु निर्माणमा प्रगति हासिल भइरहेको दाबी गर्नुभएको छ । उहाँले कार्यालयको गाडी २२ वर्ष पुरानो र थोत्रो भएकोले योजना अनुगमन निरिक्षणका लागि पुग्न हैरानी खेप्न बाध्य भएको गुनासो गर्नुभयो । यो वर्ष भने गाडी खरीदका लागि पनि बजेट रहेको सुनाउनुभयो ।
थोत्रो साइनबोर्ड
कार्यालय भनेर चिन्नको लागि प्रस्टँग देखिने गरी साइनबोर्ड राखिनुपर्छ । तर जलश्रोत तथा सिंचाई डिभिजन कार्यालयमा भने साइनबोर्ड झुन्ड्याइएको भएपनि अक्षर बुभm्न कठिन हुन्छ । चरिकोट स्थित चरिघ्याङमा रहेको सो कार्यालयको साइनबोर्ड ठाउँठाउँमा च्यातिएर अक्षर नबुझिने भएपनि यसलाई फालेर नयाँ साइनबोर्ड राख्न कार्यालयको ध्यान गएको देखिदैन । साइनबोर्ड राख्नुभनेको कार्यालय सबैले सहजै चिनुन भनेर राखिन्छ । तर यस कार्यालयले यसमा चासो दिएको छैन ।
Be the first to comment on "किसानको खेतबारीमा लिफ्टमार्फत तामाकोशीको पानी"