ईश्वर बिश्वकर्मा
चरिकोट, साउन १७
किर्तिमानी बन्ने लक्ष्य पूरा गर्न अभिनय कार्कीको तयारी जारी छ । दोलखाको कालिञ्चोक गाउँपालिका–३ पोखरेका कार्कीको अठोट विश्वलाई जित्दै किर्तिमान रच्ने हो । त्यसैको पूर्णता र सफलताका लागि उहाँ आत्मविश्वास बटुल्दै नेपाल यात्राको क्रममा साइकलमा दौडिरहनु भएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने उहाँको उद्देश्य र तयारीमा साइकल यात्रा जोडिएको छ । साइकलमा हुँइकिदै गर्दा एक चरणको तयारी पुरा हुन लागेको छ । कार्की विश्व साइकल यात्री पुष्कर शाह र किर्तिमानी व्यक्तिबाट प्रभावित हुनुहुन्छ । त्यसैले आफूले पनि किर्तिमान रच्न दुई चरणको तयारी गरेको उहाँले सुनाउनुभयो । उहाँले पहिलो चरणमा पैदल यात्रा सक्नु भएको छ, र दोस्रो चरण अन्तर्गत अहिले नेपाल साइकल यात्राको क्रममा हुनुहुन्छ ।
साइकल यात्राको उद्देश्य किर्तिमान रच्ने तयारी मात्र होइन, पर्यटन प्रवर्द्धन र लागू औषध दुर्व्यसन विरुद्ध सचेतना प्रवाह गर्ने रहेको उहाँले सुनाउनुभयो। । उहाँको साइकल यात्राको नारा रहेको छ, ‘फ्रस्ट्रेसन डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौँ, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरू एकजुट बनौँ ।’ सभ्य समाज र राष्ट्र निर्माणको लागि युवाहरू तनाव र कुलतबाट मुक्त भएर एकजुट हुन आवश्यक रहेको उहाँको जोड छ । यात्राको क्रममा कार्कीले पर्यटकीय स्थलहरूको अध्ययन अवलोकन र प्रचारका साथै विद्यालय तथा समुदायमा अन्तरक्रिया गरिरहनुभएको छ । गत वर्षको पौष १५ गते दोलखाको सदरमुकाम चरिकोटदेखि सुरु भएको उहाँको साइकल यात्रा अन्तिम चरणमा आएको छ । उहाँ आफ्नो यात्रा समापनको नजिक हुनुहुन्छ । हालसम्म ७० वटा जिल्ला भ्रमण गरिसक्नुभएका कार्कीले विभिन्न कठिनाइ तथा चुनौतीको सामना गर्नु परेको थियो । यद्यपि दृढ इच्छाशक्ति र हिम्मतका साथ उहाँले आफ्नो यात्रालाई सफल बनाउन कस्सिनुभएको छ । उहाँ अहिले उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरको यात्रापछि नुवाकोट हुँदै रसुवा जाने तयारीमा हुनुहुन्छ । रसुवाबाट पुनः काठमाडौं फर्किएर काभ्रेपलान्चोक र सिन्धुपाल्चोक हुँदै आफ्नै गृह जिल्ला दोलखा पुगेर यात्राको समापन गर्नहुने छ । उहाँको यात्रा समापनसँगै विश्व किर्तिमानका लागि परामर्श लिने तथा अन्य तयारी गर्ने योजना छ ।
Be the first to comment on "किर्तिमान रच्ने अभिनयको चाहना"