कालिञ्चोक र शैलुङमा हिउँको ‘घुम्टी’

दीक्षण समाचार
चरिकोट, पुस १०
दोलखा जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । यसै त सुन्दर कालिञ्चोक क्षेत्र हिउँको घुम्टो हाल्दा अझ मनमोहक देखिएको छ । तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा शुक्रबारदेखि पटकपटक हिउँ परेको हो । हिउँ परेपछि सुख्खा डाँडापाखा, रुखबुट्यान, पातपतिङ्गर सेताम्मे भएको छ । कुरी बजारको घर तथा होटलका छाना हिउँले ढाकेर सुन्दर देखिएको छ । हिमपात भएपछि चिसो त बढ्ने नै भईहाल्यो । तर चिसोको प्रवाह नगरी हिउँ खेल्न तथा यहाँको मज्जा लुट्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । एक प्रकारले भन्ने हो, भने हिउँसगैँ पर्यटकले भरिएको छ कालिञ्चोक । कोरोनाको कारण थिलथिलो बनेको यस क्षेत्रका पर्यटन व्यावसायलाई राहत मिलेको छ । हिउँ परेपछि यस अघि कालिञ्चोक नआएका पर्यटक हिउँ खेल्नकै लागि भएपनि आउने गर्दछन् । जसले गर्दा हिउँको प्रतिक्षामा पर्यटन व्यावसायी र पर्यटक बस्ने गरेका छन् । यो वर्ष पुसको पहिलो साताबाटै बिदाको दिनमा हिउँ परेपछि व्यावसायीहरु औधी खुशीले रमाएका छन् । खुशीका साथ अतिथिको आदारसत्कारमा व्यस्त भएका छन् । अरुबेला फुर्सदिला उनीहरु अहिले व्यस्त हुने नै भइहाले । कालिञ्चोक दर्शन लिमिटेडले पर्यटकको मागलाई दृष्टिगत गरी कुरीदेखि मन्दिरसम्म सेवा दिन चारवटा केबुलकार सञ्चालन गरिरहेको छ । एक व्यक्तिले केबलकार यात्राको लागि पाँच सय रुपैयाँ भाडाबापत तिर्नुपर्छ भने विद्यार्थी र बृद्धलाई १५ प्रतिशत छुट रहेको छ । चरिकोट–कुरी सडक विस्तार भएकोले कुरीसम्म सवारीसाधनमा पुग्न सकिन्छ । त्यसपछि करिब एक किलोमिटर केबुलकारको यात्रापछि मन्दिर पुग्न सकिन्छ । यसको अलावा पैदल यात्रामा पनि मन्दिरसम्म पुग्न सकिन्छ । यत्ता एक सय भन्दा बढी थुम्का रहेको शैलुङमा  पनि शनिबार हिउँ परेको छ । यहाँको थुम्का हिँउले छोपेपछि सेताम्मे सुन्दर देखिएको छ । शैलुङ गाउँपालिका–८ का अभिषेककुमार धनुकेले हिमपातसगैँ पानी परेपछि चिसो बढेको छ । शनिबार शैलुङमा स्थानीय पर्यटकको घुँइचो लागेको छ । शैलुङको कालापानीमा रहेको प्रवेशद्धारसम्म सवारीसाधनमार्फत पुग्न सकिन्छ । त्यसपछि करिब एक घण्टा उकालो बाटो पैदल हिँडेपछि शैलुङ पुगिन्छ । उच्च भुभागमा हिउँ परेपछि जिल्लामा चिसो बढेको छ । चिसोको कारण स्वास्थ्य समस्या हुने भएकोले सावधानी अपनाउन स्वास्थ्यकर्मीको सुझाव छ । चिसोको कारण बालबालिका, बृद्धबृद्धा, दीर्घरोगी प्रभावित हुन्छन् । उनीहरुलाई चिसोबाट जोगाउन सेचतनासँगै आवश्यक सहयोग गर्न आवश्यक छ ।

Shares

Be the first to comment on "कालिञ्चोक र शैलुङमा हिउँको ‘घुम्टी’"

Leave a comment

Your email address will not be published.


*