चरिकोट, –दोलखाको कालिञ्चोक गाउँपालिकाले पहिलेको झैँ नियमित रुपमा विद्यालय सञ्चालन गर्ने भएको छ । शनिबार र आइतबार बिदा दिने सरकारको निर्णयलाई अस्विकार गर्दै गाउँपालिकाले शनिबार बाहेक अन्य दिन पहिलेकै व्यवस्था अनुसार विद्यालय सञ्चालन गर्ने भएको हो । “अर्काे सूचना जारी नभएसम्मको लागि साबिक बमोजिम नै शनिबार बाहेक अरु दिन) नियमित रुपमा पठन पाठन गराउन हुन सुचित गरिन्छ।” पालिकाले बुधबार जारी गरेको सूचनामा भनिएको छ । जिरी नगरपालिकाले जेठ ६ गते सार्वजनिक सूचना जारी गरी सरकारको निर्णयलाई अवज्ञा गर्दै पहिलेकै व्यवस्था अनुसार विद्यालय सञ्चालन गर्न निर्देशन दिएको थियो । सरकारले सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय जेठ १ गतेबाट लागू गरेपछि शिक्षण संस्था पनि सो दिन बन्द हुने र अन्य दिन अध्ययन समय बढाएर सञ्चालन गर्ने शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले सूचनामार्फत जानकारी दिएको थियो । उक्त व्यवस्था अनुसार शिक्षण संस्थाहरु सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः ३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन भइरहेका छन् ।
यो निर्णयपूर्व शनिबार बाहेक आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म शैक्षिक संस्था सञ्चालन हुने गरेको थियो । तर यो व्यवस्था अव्यवहारिक भएको भन्दै पालिकाहरुले पहिलेको व्यवस्था अनुसार नै शिक्षण संस्था सञ्चालन गरिरहेका छन् । दुई दिने बिदा खारेजीको माग पनि उठ्न थालेको छ ।
Be the first to comment on "कालिञ्चोक गाउँपालिकाले आइतबार विद्यालय सञ्चालन गर्ने"