बलराम शिवाकोटी
देशको संघीय राजधानी काठमाडौँबाट १३२ किलोमिटरको यात्रापछि देशकै सुन्दर हिमाली जिल्ला दोलखाको सदरमुकाम चरिकोट आइपुगिन्छ । नेपाली समयको प्रमाणिक आधार गौरीशङ्कर हिमालको काख अनि प्रसिद्ध दोलखा भीमेश्वर र कालिञ्चोक मन्दिर, शैलुङ, जिरी, लगायत थुप्रै प्राकृतिक तथा सांस्कृतिक सम्पदाको धनी दोलखा जिल्ला पछिल्लो समयमा आन्तरिक पर्यटकले भरिभराउ हुने गरेको छ । त्यसमा पनि अधिकांश स्थानहरुमा जाने मुख्य मार्ग सदरमुकाम चरिकोटबाटै पर्दछ । चरिकोटको सातदोबाटो जिल्लाकै सबैभन्दा बढि स्थानका मानिस भेटिने, अझ भनौँ चरिकोट आएका हरेक व्यक्ति सातदाोबाटो नपुगी चरिकोट आएको अनुभव गर्न पनि सक्दैनन् । पारिलो घाम लाग्ने, हाटबजार पनि यतै लाग्ने, जिल्लाका अधिकांश गा्रमिण भेगमा जाने यातायात भेटिने स्थान, अनि हरेक किसिमका कार्यक्रम, राजनैतिक होस वा संघ संस्थाहरुका सबैका कार्यक्रमरु यहि सातदोबाटोमै हुने गर्छन् । अझ गर्मी मौसमको समयमा त राजधानी काठमाडौँ लगायत अन्य तराईका जिल्लाहरुबाट पारिवारिक भ्रमण तथा अन्य सेमिनार गोष्ठि गर्नेहरुको रोजाई चरिकोट नै हुने गरेको पाइन्छ । आन्तरिक पर्यटक जब सातदोबाटो ओर्लन्छन् , तब यहि सातदोबाटोलाई हेरेर जिल्लाको सभ्यता बुझ्छन र बुझ्न खोज्छन् सायद । यहि होला दोलखाको इज्जत र सभ्यताको प्रारम्भिक पहिचान देखाउने मुख्य थलो । यति धेरै महत्त्व बोकेको चरिकोट बजार र त्यसको मुटु सातदोबाटोमा ट्राफिक व्यवस्थापनको जटिलता त छँदै छ, त्यो भन्दा बढी खानेपानी र व्यवस्थित शौचालयको अभाव छ । साना दुइवटा यात्रु प्रतिक्षालय भएपनि यात्रुको चाप अनुसार प्रयाप्त देखिदैन । केहि महिना अगाडि जेष्ठ नागरिक लगायत केहि नागरिकहरुको सक्रियतामा यात्रुको पीडा बुझेर खानेपानीको व्यवस्था गरेका छन् । तर सबैभन्दा बढि अभाव त व्यवस्थित सार्वजनिक शौचालयको छ । शौचालय नहुँदा यात्रु लगायत दोलखामा आउने बाह्य तथा आन्तरिक पर्यटकहरुले सास्ती भोग्नु परेको छ । शौचालय भनेको सभ्यताको प्रतिक हो । ढिलै भएपनि बजारबासीले स्वस्फूर्त रुपमा बजार सफा गर्ने गरेका छन् । यो अत्यन्त स्वागत योग्य कुरा हो । तर जति सफा गरेपनि व्यवस्थित सार्वजनिक शौचालयको व्यवस्था नभइकन बजारको रुप परिवर्तन हुनेवाला छैन । न त जिल्लाको इज्जत नै बस्छ । स्थानीय सरकारले समेत शौचालय बनाउने सुरसार गरेको देखिदैन । सम्पूर्ण विकास भन्दा अगाडि मानव सभ्यताको सुचक शौचालयलाई मानेर योजना किन बनाइँदैन ? मानिसको व्यक्तिगत घरमा पनि घरको कोठा भन्दा राम्रो शौचालयलाई खर्च गरेको देखिन्छ । भीमेश्वर नगरपालिको योजनामा सार्वजनिक शौचालयको योजना किन समेटिदैन ? व्यवस्थित शौचालय बनाउने कामलाई योजनालाई उच्च प्राथमिकतमा राखिनु पर्ने होइन र ? व्यवस्थित सार्वजनिक शौचालय नहुँदा त्यसको सबैभन्दा बढी असर बिरामी, महिला र बुद्धहरुमा पर्ने गरेको छ । यो पीडा कसले बुझिदिने । भएको एउटा शौचालयको अवस्था पनि खराब छ । त्यो पनि अपायक र फोहोर छ । भीमेश्वर नगरपालिकालाई सुन्दर नमूना पर्यटकीय शहर बनाउँछु भनेर जनप्रतिनिधिहरुले भाषण गरको त सुनिन्छ । तर कसरी सम्भव होला र व्यवस्थित सार्वजनिक शौचालयको निर्माण विना नगरको सम्बृद्धि ? शौचालय सम्यताको प्रतिक हो । सडकका छेउ र भित्ताहरु दू्रर्गन्घित भैरहेका छन् । कतिपयले सडको वरिपरि नै दिसापिसाव गर्ने गरेका छन् । यसबाट सरुवा रोगको पनि उत्तिकै जोखिम रहेको छ । यदि नगरपालिकाले भीमेश्वर नगरको सम्वृद्धि चाहेको हो भने नगरपालिकाले सातदोबाटो लगाएत अन्य आवश्यक ठाउँमा शौचालय निर्माण गर्ने कार्य छिटोभन्दा छिटो आगाडि बढाउनु पर्ने देखिन्छ । शौचालयको अभावले हामीले एकातिर दिनानुदिन सरुवा रोगलाई स्वागत गरिरहेका छौँ भने अर्कोतिर जिल्लाबासीको सभ्यता र इज्जतको नै अवमूल्यन गरिरहेका त छैनौँ ? यो सोचनीय प्र्रश्न हुनसक्छ । सातदोबाटोमा भेटिने आम नागरिकहरुको गुनासो भनेकै चरिकोट को सातदोबाटो लगायत व्यस्त स्थानमा शौचालय नभएको भन्ने रहेको छ । यतिखेर नगरको योजनासमेत बनिरहेको छ । जनताले स्थानीय सरकार पाएका छन् । जनताको गहिरो आशा स्थानीय सरकाप्रति नै रहेको छ । धेरै नागरिक चरिकोटको सातदोबाटोमा छिटो भन्दा छिटो व्यवस्थित सार्वजनिक शौचालय बनेको हेर्ने अभिलाशामा रहेका छन् । तमाम दोलखाली जनता र भीमेश्वर नगरका जनता बुझ्न चाहन्छन्, कहिले बन्ला त सातदोबाटोमा व्यवस्थित शौचालय !
shiwakotibs007@gmail.com
Be the first to comment on "कहिले बन्ला सातदोबाटोमा व्यवस्थित शौचालय !"