दीक्षण समाचार
चरिकोट, माघ १
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले शनिबार माघे संक्रान्तिकाे अवसरमा कवि मानबहादुर खड्का (एमबी) लाई सम्मान गरेको छ । पत्रकार एवं साहित्यकार चिरञ्जीवी मास्केले आफ्नो जन्मदिने आमा र कर्म दिने आमाको नाममा स्थापना गर्नुभएको विष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मान पुरस्कारबाट यो वर्ष कवि खड्का पुरस्कृत हुनुभएको हो । भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसीले कवि खड्कालाई नगद दश हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरी खादा ओढाएर सम्मान गर्नुभयो । साहित्य लेखन मार्फत कला, साहित्य र संस्कृतिको जगेर्ना र समग्र विकासमा पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको समितिले जनाएको छ । भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहनुभएका कवि खड्काले ‘डाँडाको लाँकुरी‘ कविता संग्रह प्रकाशन गर्नुभएको छ, भने उहाँको फुटकर कविताहरू सामाजिक सञ्जाल लगायत विभिन्न अनलाइन तथा पत्रपत्रिकामा प्रकाशित भएका छन् । समितिले वार्षिक रुपमा प्रकाशन गर्दै आएको प्रदेय नामक पुस्तक सार्वजनिक गरिएको छ । यसपालिको पुस्तकमा जिल्लामा रहेका धार्मिक स्थल, कुटी र गुफाको बारेमा चर्चा गरिएको खोजमूलक सामग्री प्रकाशित रहेको छ । नगरप्रमुख केसीले पुस्तकको विमोचन गर्नुभयो ।
सो अवसरमा उहाँले जिल्लाको मठमन्दिर, गुफाको चर्चा गरिएको पुस्तक अत्यन्तै उपयोगी रहेको बताउनुभयो । उहाँले भीमेश्वर नगरपालिकाको समृद्धिको निम्ति शिक्षा, स्वास्थ्य, उद्योग लगायतका क्षेत्रमा मात्र नभई कला, साहित्य, मनोरञ्जन र संस्कृत संरक्षणमा नगरले लगानी गरेको सुनाउनुभयो । समृद्ध भीमेश्वर निर्माणका लागि लेखक तथा सर्जकहरुले आफ्नो सिर्जना मार्फत सहयोग गर्नुपर्ने उहाँको अनुरोध थियो । सो समारोहमा समितिका संरक्षक चिरञ्जीवी मास्केले यो वर्षको प्रदेय पुस्तक प्रकाशन गर्नका लागि भीमेश्वर नगरपालिकाले सहयोग र हौसला प्रदान गरेको सुनाउँनुहुँदै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
समितिका अध्यक्ष विष्णु सुवेदीले पछिल्ला वर्षमा साहित्यिक गतिविधि सुस्तता छाएको बेला भीमेश्वर नगरपालिकाको सहयोगले गरेपछि साहित्यिक गतिविधिले तीव्रता पाउन थालेको सुनाउनुभयो । उहाँले भीमेश्वर नगरपालिकाका जनप्रतिनिधिको कार्यकाल सकिन लागेकोले साहित्य क्षेत्रको विकास र समृद्धिको लागि नीतिगत व्यवस्था गरेर मात्र गएमा साहित्य क्षेत्रमा ठूलो उपहार हुने बताउनुभयो । भीमेश्वर संस्कृति प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठले जिल्लाको कला, साहित्य र संस्कृतिको प्रगतिका लागि सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनुभयो । स्थानीय सरकारले साहित्यिक कृर्ति प्रकाशनको लागि सहयोग गरी साहित्यकारलाई हौसला दिइनुपर्ने सुनाउनुभयो । समारोहमा समितिका सल्लाहकार एवं नेकपा दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर नेपाली कांग्रेसका क्षेत्रीय सभापति चित्र दाहाल, साहित्यकार जित कार्की, विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका उपाध्यक्ष मुरारी दुलाल, अग्रज पत्रकार शम्भु गौतम, नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रृजनकुमार घिमिरे, प्रेस युनियन दोलखाका कार्यवाहक अध्यक्ष गोकर्ण भण्डारी, प्रेस चौतारी नेपाल दोलखाका संयोजक प्रभु जिरेल, दोलखा उद्योग महासंघका सचिव विमल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
Be the first to comment on "कवि एमबी खड्का पुरस्कृत"