दिल सागर
अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयरले अहिले दोलखा सेयरमय भएको छ । देश विदेशमा रहेका र खेतबारीमा समेत सेयरकै चर्चा छ । दोलखा जिल्लाभर सेयर फाराम भर्ने प्रक्रिया चलिरहेको छ ।
दोलखा जिल्लाबासीका लागि ३ वर्गमा विभाजन गरी सेयर संकलन भइरहेको छ । वर्ग अनुसार हरियो, निलो र कालो रङको फाराम क्रमशः क, ख र ग वर्गले भर्ने व्यवस्था गरेको छ । अहिले न्यूनतम ३० कित्तादेखि ३०० कित्तासम्म खरिद गर्न सक्ने व्यवस्था गरेकोे छ ।
अप्पर तामाकोसीको सेयर दोलखाबासीका लागि प्रतिक्षाको विषय बनेको थियो । अहिले आधा दसकदेखिको सपना पूरा हुन थालेको छ । अहिले पनि जिल्लाबासीका लागि खुलेको सेयरमा कति लगानी गर्ने भन्नेमा सर्वसाधाराण मात्र होइन केही बुझेका पढेलेखेका, बुद्धिजीविहरुलाई पनि परेको छ । सेयर धेरै चाहनेहरु ऋण गरेरै भए पनि सकेसम्म अधिकतम् अर्थात ३० हजार बराबरको ३ सय कित्तामा नै लगानी गर्न खोजिरहेका छन् ।
वर्मा लामा नेतृत्वको पछिल्लो सेयर संघर्ष समितिको सबै मागमा सहमत हुन नसके तापनि सेयरको अधिकतम सिमा घटाउनु पर्छ भन्नेमा मेरो सहमति छ । तर कार्यान्वयन भएन त्यसमा आपत्ति जनाउनु पर्ने पनि छैन । एउटा जिल्लाबासीका लागि १ अर्ब ६ करोड बराबरको सेयर खुलेको हो । यो नेपालको इतिहाँसमै एउटै जिल्लाबाट फिर्ता नहुने गरी संकलन हुनु भनेको ठूलो आकारको सेयर हो ।
निष्कासनकर्ता कम्पनी र आयोजनाका लागि यति ठूलो सेयर नउठ्ला कि भन्ने आसंकाले पनि अधिकतम सिमा ३ सय कित्ता तोक्नु अन्यथा होइन । तर अहिले दोलखाबासीमा अप्पर तामाकोसीको सेयर चाँही किन्नै पर्छ भन्ने मानसिकता छ । स्थानीय जनप्रतिनिधिहरुले पनि बैंक गाउँमा नपुगे तापनि फाराम गाउँ टोलसम्म पु¥याउँदै छन् । स्थानीयस्तरबाटै सेयर संकलन गर्नका लागि लागि परेका छन् ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ पूर्ण कार्यान्वायनमा ल्याइसकेको छ । २०७४ जेठ १२ देखि धितोपत्र बोर्डले उक्त निर्देशिका लागू गराई सकेको छ । पछिल्लो निर्देशिकाले गरेको समानुपातिक सेयर बाँडफाँड प्रणालीले प्राथमिक सेयर साना लगानीमैत्री बनाएको छ ।
एक वर्ष अर्थात गत साउन एकदेखि आस्बा अनिवार्य भएसँगै पहिलो पटक हिमालयन पावर पार्टनरको साधारण सेयर बाँडफाँडदेखि यो लागू भएको छ । अहिलेसम्म एक दर्जन बढी कम्पनीको सेयरको आइपीओ र एफपीओमा यसको लागू भएको छ । तामाकोसीको हकमा स्थानीका लागि मात्र धितो पत्र बोर्डले डिम्याट र आस्वा प्रणाली मात्र अनिवार्य गरेन । तर बाँडफाँड प्रक्रिया उही नै हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बाट पनि बोर्डले वास्तविक लगानीकर्ताको हीतमा काम गर्न खाजेको देखिन्छ । आस्बा अनिवार्य हुनुअघि अर्थात असार मसान्तसम्म धितोपत्र बाँडफाँड निर्देशिका २०६८ ले गरेको व्यवस्था अनुसार सेयर बाँडफाँड हुँदै आएको थियो । जहाँ ५० हजार रुपैंयाभन्दा माथिका आवेदकलाई ठूला र ५० हजार भन्दा कम रकमका आवेदकलाई साना लगानीकर्ता भनेर वर्गीकरण गरिएको थियो ।
यो व्यवस्थामा साना लगानीकर्ताको आवेदन संख्या धेरै हुँदा उनीहरु सधैं गोलाप्रथामा पर्ने र १० कित्ता सेयरमा चित्त बुझाउन बाध्य थिए । नयाँ व्यवस्थाले सबै आवेदकलाई १० कित्ता सेयर वितरणलाई अनिवार्य गरेको छ ।
४० प्रतिशत सेयर अनिवार्य रुपमा साना लगानीकर्तालाई छुट्याएर बाँकी ६० प्रतिशत ठूलालाई बाँडफाँड गर्नुपर्ने व्यवस्था पुरानो निर्देशिकामा थियो । तर, नयाँ निर्देशिकाले सबै आवेदकलाई समानुपातिक रुपमा १० ले भाग जाने अंकमा सेयर बाँडफाँड गर्नुपर्ने र सेयर अपुग भएमा मात्र गोलाप्रथा गर्नुपर्ने व्यवस्था गरेको छ ।
यो व्यवस्थाले अब लगानीकर्ताले पाँच हजार रुपैंयाभन्दा बढी रकम हालेर सेयर आवेदन गर्नु नपर्ने भएको छ । सबै आवेदकले कम्तीमा १० कित्ता सेयर पाउने भएपछि १० लाख कित्ता माग्नेले पनि अन्त्यमा पाउने सेयर १० कित्ता नै हो । यस अर्थमा अब पाँच हजार रुपैंयाभन्दा बढीको सेयर आवेदन गर्नेले पनि अरु आइपीओमा १० कित्ता नै पाएका कार्यान्वयन भएको छ ।
यही आधारलाई हेर्दा अप्पर तामाकोसीको ठूलो आकारको सेयर र दोलखालीको जनसंख्यालाई हिसाव गर्दा ३० कित्ता अनिवार्य पाउने देखिन्छ । २०७१ को जिविसले गरेको सर्वेक्षणले २ लाख ८५ हजार दोलखाली सेयर लगानीयोग्य छन् । अहिले बढेर ३ लाख पुगेको हुनसक्छ । कम्तिमा २ लाखले सेयरमा आवेदन गर्न सक्ने देखिन्छ । २ लाखले मात्र आवेदन गर्दा पनि औसतमा ५ हजार लगानी गर्दा पुग्ने देखिन्छ ।
नयाँ प्रणाली अनुसार सेयर बाँडफाँड गर्दा ३० कित्ता सबैलाई पुग्दा, सेयर संख्या र बाँकी आवेदकलाई १० कित्ता पुगेमा थप्दै जाने हो । यो हिसावले अधिकतम १० हजारभन्दा बढी लगानी गर्नु नपर्ने देखिन्छ । २ लाखभन्दा बढी आवेदन परेमा आवेदन बन्द भएको मितिले ९० दिन अर्थात मंसिर १५ गतेसम्म लगानी फ्रिज हुने अवस्था छ । यसले धेरैधेरै लगानी गर्दा ३ महिनाभन्दा बढी र चाडपर्वको बेला ३ अर्बभन्दा बढी एउटै जिल्लाबासीको रकम अबरुद्ध हुँदा जिल्लाका अर्थतन्त्र हलचल गर्न नसक्ने अवस्थामा हुन सक्छ ।
असाध्यै न्यून आवेदन परेमा मात्र १० हजारभन्दा बढी लगानी गर्नेले पाउँने हुन् । तर यहाँ न्यून लगानी हुुनेभन्दा पनि यो नेपालकै इतिहाँसमा स्थानीयले सबैभन्दा बढी आवेदन पर्ने देखिन्छ । केही नहुनेले पनि ऋण गरेरै भए तापनि न्यूनतम् ३० कित्ता चाही किन्ने योजना बनाएका छन् । त्यसमा पनि तामाकोसीको सेयर भनेको सुनको फुल पार्ने कुखुरा भनेर हाम्रा नेताहरुले प्रचार गर्नु भएको छ । तर प्रतिफल कस्तो आउँछ भन्ने भोलीको विषय हो । तथापी लागत बढेर दोब्बर नै भए पनि भएका जलविद्युतहरुभन्दा राम्रो प्रतिफल दिने आयोजना भने हो ।
अहिले तत्कालका लागि सबैको बैंक खाता र डिम्याट खाता नहोला भन्ने उद्देश्यले आवेदन पुरानो प्रणालीमा व्यवस्था गरेको छ । तर ३ वर्षपछि किनबेच गर्नुपर्दा डिम्याट अनिवार्य नै हुन्छ । त्यसैले डिम्याट हुनेले र डिम्याट खोल्न सक्नेले डिम्याट उल्लेख गर्नु नै बुद्धिमानी हुन्छ ।
Be the first to comment on "कति हाल्ने अप्पर तामाकोसीको सेयर ?"