कटुवाचउर बजारमा आगलागी हुँदा तीन करोड बढीको क्षति

दीक्षण समाचार
चरिकोट, माघ १९
दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित कटुवाचउर बजारमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको क्षति भएको छ । बुधबार राति करिब ११ बजे रुद्रबहादुर ओलीको घरबाट फैलिएको आगलागीबाट ९ घर पसल तथा होटल जल्दा करिब तीन करोड बढीको क्षति भएको हो ।
रातिको समयमा बजारमा भएको आगलगाीको कारण अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आगलागीको कारण खोजी भइरहेको छ । रुद्रबहादुर ओलीको घरमा रहेको परालबाट आगलागी भएको भनिएपनि प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरेको छ ।
आगलागीबाट घर, होटल र पसलमा क्षति पुग्नुका साथै त्यहाँ भएका धनमाल, जिन्सी सामान, व्यापारिक सामाग्रीहरु जलेर नष्ट भएको र पशुचौपाय जलेर मरेको भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बजारमा सञ्चालित होटल, टेलरिङ, तरकारी तथा फलफूल, कृषि सामाग्री, कस्मेटिक लगायतका पसलहरु आगलागीबाट नष्ट भएको कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक राजेश सिग्देलले बताउनु भयो । २५ देखि ३० वटा पशुचौपाया आगलागीमा परेर मरेका थिए । मानवीय क्षति भने नभएको उहाँले बताउनु भयो । उहाँले आगलागीबाट करिब तीन करोड बढीको क्षति भएको बताउनु भयो ।
ककसको घरपसल जल्यो ?
आगलागीबाट रुद्रबहादुर ओलीको घर र सोही घरमा सञ्चालित उत्तम ओलीको टेलर जलेको थियो । त्यहाँबाट सल्केको आगोले गोपिलाल थामीको पक्की ढलान घर र सोही घरमा सञ्चालित ओम बहादुर थामीको किराना पसल, शंकर ओलीको घर र सो घरमा कमला खातीले सञ्चालन गरिरहेको फलफुल तथा किराना पसल, राम बहादुर थामीले आफ्नै घरमा सञ्चालन गर्नु भएको होटल आगलागीबाट नष्ट भएको प्रवक्ता प्रहरी निरीक्षक सिग्देलले बताउनु भयो ।
यस्तै, चित्र प्रसाद सेढाईको घरमा भएको किराना पसल, नवराज सेढाइले आफ्नै पक्की घरमा सञ्चालन गरेको होटल, सन्तोष सेढाईको घर र सो घरमा सञ्चालित नारायण गिरीको फलफुत तथा खुद्रा सामाग्री पसलमा आगलगाीले क्षति पु¥याएको प्रवक्ता प्रहरी निरीक्षक सिग्देले बताउनु भयो । त्यसैगरी पुस्कर ओलीको घर र सोही घरमा सञ्चालित गोपाल खातीको कृषि सामाग्री पसल, दुर्गा ओलीले आफ्नै घरमा सञ्चालन गर्नु भएको कस्मेटिक पसल पनि आगलागीमा परेर नष्ट भएको उहाँले बताउनु भयो ।
ज्यान जोगियो, धन जोगिएन
सबै घर पिलरसहितको पक्की बनाइएको भएपनि माथि काठ तथा जस्ता लगाइएको र बेच्न राखिएका ग्यास सिलिन्डर जलेर पड्किएपछि आगलागी भीषण रुपमा फैलिएको स्थानीयलाई उद्हृत गर्दै प्रहरी निरीक्षक सिग्देलले बताउनु भयो । आगो लागेपछि स्थानीयवासी, सुरक्षाकर्मी र भीमेश्वर नगरपालिकाको दमकलले निभाउने प्रयास सफल हुन सकेन । राती लागेको आगो बिहान १० बजेपछि नियन्त्रणमा आएको थियो । भीषण रुपमा आगो फैलिएपछि नियन्त्रणमा सकस भएको थियो । मानिसले भागेर ज्यान जोगाएपनि धनमाल र सामाग्रीहरु जोगाउन नसकिएको बताइएको छ । पक्की सडक छेउमै आगलगाी हुँदा पनि दमकल र सुरक्षाकर्मी ढिला पुग्दा धेरै क्षति भएको स्थानीयले आरोप लगाएका छन् । आगलागी नियन्त्रणमा भीमेश्वर नगरपालिकाको दमकल प्रयोग भएको थियो, भने १५ नेपाल प्रहरी र १५ शसस्त्र प्रहरी परिचालित भएका थिए ।
राहत र पुनस्थापना सघाउन अनुरोध
घरबार विहीन भएपछि अग्नीपीडितहरु स्थानीयको आश्रय लिन बाध्य भएका छन् । अग्नी पीडित परिवारलाई राहत उपलब्ध गराउन र पुनस्थापनामा सघाउन सामाजिक संघसंस्था र समाजसेवीहरु सक्रिय भएका छन् । बिहीबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले राहत सामाग्री उपलब्ध गराएको छ । राहत सामाग्रीमा तत्काल आवश्यक पर्ने त्रिपाल, भाँडाकुँडा, कपडा लगायतका सामाग्रीहरु रहेको सभापति गोकर्ण प्रसाद पोखरेलले बताउनु भयो । उहाँले दुःख व्यक्त गर्दै यो विपतको घडीमा सबैलाई सहयोगमा जुट्न अनुरोध गर्नु भयो ।

Shares

Be the first to comment on "कटुवाचउर बजारमा आगलागी हुँदा तीन करोड बढीको क्षति"

Leave a comment

Your email address will not be published.


*