दीक्षण समाचार
चरीकोट, फागुन १६
दोलखाको शैलुङ गाउँपालिकाले औँसा किरा नियन्त्रण गर्ने भएको छ । अमिला जातका फलफूलमा औँसा किराको प्रकोपबाट वर्षेनी क्षति बेहोर्दा चिन्तामा रहेका किसानहरु गाउँपालिकाले बजेट विनियोजन गरी किरा नियन्त्रण गर्न लागेको कुरा थाहा पाएपछि खुशी हुन थालेका छन् । साउँते, मागा, काटाकुटी लगयात पालिकाको तल्लो क्षेत्र अमिला जातका फलफूलको लागि उर्वर मानिन्छ । त्यसैले पनि यहाँका किसानहरु व्यवसायिक रुपमा सुन्तला लगायत अमिला जातका फलफूल खेती तर्फ उन्मुख भईरहेका छन् । तर चार वर्ष अघि देखिएको औँसा किराको प्रकोपले दुई वर्षदेखि ठूलो रुप लिएर खेती नै विनाश गर्न थालेपछि उनीहरु हतोत्साही र चिन्तित बनेका छन् । अहिले भने गाउँपालिकाले किसानको समस्यामा चासो दिएर औँसा किरा नियन्त्रणको प्रयासमा सक्रिय हुन लागेको गाउँपालिकाका कृषि शाखा प्रमुख गंगा माया जिरेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘पालिकाको बेँसी क्षेत्रमा अमिला जातको फलफूल फल्छ । तर त्यसमा ठूलो समस्या बनेर औँसा किराको प्रकोप देखा परेको छ । त्यसको नियन्त्रणको लागि उपयुक्त बिषादी प्रयोग गर्न किसानलाई प्रोत्साहित गरी पालिकाको सहयोगमा विषादी उपलब्ध गराउन लागेका छौँ ।‘ उहाँका अनुसार प्रोटिन बेड नामक विषादी प्रयोग गरेमा औँसा नियन्त्रण हुने देखिएपछि सोको प्रयोग गर्न किसानलाई सुझाइएको छ । उहाँले भन्नुभयो ’गत वर्ष फस्कुमा करिब तीन सय बोटमा प्रोटिन बेडको परीक्षण प्रयोगले किरा नियन्त्रणमा राम्रो नतिजा देखियो । सोको आधारमा यो वर्ष पनि उक्त विषादी प्रयोग गर्न फस्कु सहित अन्य भेगका किसानलाई वितरण गर्न लागेका हौँ ।’ विषादी प्राप्त गर्न चाहने किसान, कृषि फर्म, कृषक समूहले गाउँपालिकामा आवश्यक कागजात सहितको निवेदन दिनुपर्ने छ । प्राप्त निवेदनको आधारमा विषादी खरीद गरी किसानलाई प्रयोग विधि सम्बन्धि जानकारीसहित प्रदान गरिने कृषि शाखा प्रमुख जिरेलले बताउनुभयो । वडावडामा कृषि प्राविधिकहरु रहेका छन् । उहाँहरुको सहयोगमा किसानले आफ्ना फलफूलका बोटमा विषादी प्रयोग गर्न सक्नेछन् । औँसा किरा नियन्त्रणका लागि दुई लाख रुपैयाँ बजेट रहेको छ । धेरै किसानले निवेदन दिएमा पचास प्रतिशत अनुदानमा विषादी उपलब्ध गराइने उहाँले सुनाउनुभयो । सम्बन्धित निकायमा कृषि समूह, सहकारी, संस्था, समिति, कृषि फर्म दर्ता नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपी, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपी, संस्थागत निर्णयको प्रतिलिपी र वडा कार्यालयको सिफारिस सहित निवेदन दिएमा औँसा किरा नियन्त्रण कार्यक्रम अन्तर्गत विषादी प्राप्त गर्न सकिने छ ।
Be the first to comment on "औँसा किरा नियन्त्रण गर्न विषादीको प्रयोग"