ईश्वर विश्वकर्मा
चरिकोट, साउन २५
दोलखामा २०७४ को स्थानीय तहको चुनावमा सबै स्थानीय तह जितेर एमालेले आफूलाई पहिलो शक्तिको रुपमा परिचित गरायो । तर उक्त शक्ति पाँच वर्ष सम्मै कायम रहन सकेन । जसले गर्दा गत बैशाखमा सम्पन्न स्थानीय तहको दोस्रो चुनावको परिणाम एमालेको पक्षमा अपेक्षाकृत हुन सकेन । एमालेले दुई वटा पालिकामा मात्र आफ्नो विजयी यात्रा सीमित राख्यो । वडामा पनि सन्तोषजनक नतिजा पाउन कठिन भयो । जित्ने आशा र अठोट सहित तीन दलीय गठबन्धनसँग चुनावमा एक्लै मुकाबिला ग¥यो । तर एमालेले नतिजा अपेक्षा विपरीत ल्यायो । यसो हुँदा पनि एमालेले दुःख प्रकट गरेन । कति पनि विचलित भएन । बरु आगामी चुनावमा आफ्नो पक्षमा नतिजा ल्याउन पार्टीलाई थप मजबुत बनाउनु पर्ने आवश्यक ठान्यो । सोही बमोजिम अहिले पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान तीव्र बनाएको छ ।
सुदृढ र शुद्ध हुँदै आउँदो निर्वाचनमा उत्कृष्ट नतिजा हासिल गर्न अहिले देखि नै आन्तरिक गृहकार्य थालिएको सचिव हिरा थोकरले बताउनुभयो । उहाँका अनुसार सो अभियान अन्तर्गत वडा, पालिका र जिल्ला स्तरमा स्थानीय निवार्चनको समीक्षा सहित आगामी निर्वाचनमा सफल हुने सन्दर्भमा अन्तरक्रिया, छलफल र प्रशिक्षण भेलालाई व्यापक पारिएको छ ।
पार्टीलाई नीति, पद्धति र विधिसम्मत चलायमान र सुदृढ बनाउने उद्देश्यले साउन १४ गतेदेखि एक महिने अभियानमा नेता तथा कार्यकर्ताको सक्रियता बढाइएको सचिव थोकरले बताउनुभयो । शुद्धीकरण अन्तर्गत पार्टीको विधि विपरीत गर्ने नेता तथा कार्यकर्तालाई कारबाहीको दायरामा ल्याइने छ । पार्टीलाई चुनावमा सहयोग नगर्नेको पहिचान गरी प्राप्त प्रमाणित आधारहरूलाई विश्लेषण गर्दै कारबाही गरिने छ । सचिव थोकरका अनुसार अन्तरघात गर्नेहरूलाई स्पष्टीकरण सोध्नेदेखि सचेत गराउने र निलम्बन गर्ने सम्मका कारबाही हुने छ । पार्टी भित्रको विकृतिलाई निर्मूल पार्दै विशुद्ध राजनीतिक, सांगठनिक र सामाजिक गतिविधिलाई प्रवर्द्धन र संवर्द्धन गर्ने उद्देश्य रहेको सचिव थोकरले बताउनुभयो ।
सुदृढीकरण अन्तर्गत संगठन सदस्यता नवीकरण, सदस्य थपघट, गठन, पुनर्गठन, पार्टी प्रवेश, प्रशिक्षण तथा जागरण कार्यक्रम सञ्चालन भइरहेको छ । पालिका स्तरमा एक संयोजक र एक सहजकर्ता तोकी अभियानलाई लक्ष्य अनुसार अघि बढाइएको छ । वर्षात् मौसममा असहजता भएपनि सोको बिचमा पनि अभियानमा सफलता पूर्वक सञ्चालन भइरहेको छ । अहिले करिब २० वटा भन्दा बढी वडामा वडा स्तरीय र चार बढी पालिकामा पालिका स्तरीय कार्यक्रम सम्पन्न भएका छन् । निर्धारित समयसम्म सबै वडा, पालिका र सम्भव भएसम्म टोल स्तरीय कार्यक्रम गरिने सचिव थोकरले बताउनुभयो ।
अभियानमा नेता तथा कार्यकर्ताको उत्साह र उल्लेख्य सहभागिता रहको छ । यो उत्साह चुनावमा पनि देखिने उहाँले अपेक्षा गर्नुभयो । अभियानको क्रममा गरिएको चुनावी समिक्षाको प्रारम्भिक विवरण अनुसार पार्टीमा अन्तर्घातका कारण चुनावमा अपेक्षित नतिजा आउन नसकेको पाइएको छ । त्यसरी अन्तर्घात गर्नेको पहिचान र पुष्टि भए कारबाही गर्ने सचिव थोकरले बताउनुभयो । अभियानको क्रममा भएका प्रत्येक गतिविधिलाई समावेश गरी प्रतिवेदन लेखन कार्य समेत जारी रहेको छ । उक्त प्रतिवेदन भदौ १५ गते जिल्ला कमिटीलाई हस्तान्तरण गरी अभियानको समेत समापन गरिने छ ।
Be the first to comment on "एमाले दोलखाको सुदृढ हुने अभियान तीव्र"