दीक्षण समाचार
चरिकोट, मंसिर १८
दोलखाको प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार भरत केसी निर्वाचित हुनु भएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सभापति बर्मा लामालाई पराजित गरी विजय हासिल गर्नु भएको हो । आइतबार बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार १९ हजार ४ सय १४ मत प्राप्त गरी केसी विजयी हुनु भएको हो, भने प्रतिद्धन्द्धी कांग्रेस सभापति लामाले १७ हजार ५ सय ९५ मत ल्याएर दोस्रो स्थानमा चित्त बुझाउनु भएको छ । विजयी केसीले लामाले भन्दा एक हजार ८ सय १९ मत बढी पाउनु भएको हो । सुरुवाती अग्रता लामाले लिएपनि अन्तिममा भीमेश्वरको मत गणना गर्दा केसीले शानदार जित निकाल्नु भएको हो । यसअघि भीमेश्वर नगरपालिकाको बागडोर सम्हाल्ने अवसर पाउनु भएका केसीले पहिलो पटक संसदीय यात्रा गर्ने मौका पाउनु भएको छ। केसी २०७४ सालमा कांग्रेसका ईश्वर नारायण मानन्धरलाई पराजित गरी नगर प्रमुख हुनु भएको थियो। नगर प्रमुख हुँदा विकास निर्माणको जग बसाल्न सफल भएको उहाँले धेरै पटक दाबी गर्नु भएको छ । उहाँले चुनावमा गरेका वाचा र प्रतिवद्धता पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ। नवनिर्वाचित सांसद केसीले विजयी गराने मतदातालाई धन्यवाद दिदै समृद्ध दोलखा निर्माणमा भूमिका निर्वाह गर्ने बताउनुभयो। दोस्रो स्थान स्वीकार गर्नु भएका लामा यसअघि पनि मेलुङ गाउँपालिकाको अध्यक्षमा पराजित हुनु भएको थियो । अघिल्लो प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा पनि उहाँ हार बेहोर्न बाध्य हुनु भएको थियो। उहाँको यो तेस्रो हार हो । सभापति बर्मा लामाले यो निर्वाचनमा आफ्नै पार्टीवाट अन्तर्घात गरेका कारण आफू पराजित हुनुपरेको बताउनुभयो। उहाँले कांग्रेस नेता, कार्यकर्ता, मतदाता र सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ।
Be the first to comment on "एमालेका केसी निर्वाचित, कांग्रेस सभापति लामा पराजित"