एकदिवसीय मान्यता पाउने दुई टोली लगभग पक्का, बाँकी १ मा यस्तो छ नेपालको सम्भावना

काठमाडौं, २५ फागुन- आफ्नो मात्र होइन, टेस्ट मान्यताप्राप्त अफगानिस्तान र एकदिवसीय मान्यता पाइसकेको नेदरल्याण्ड्सको खराब प्रदर्शनले नेपाललाई एकदिवसीय मान्यता पाउन निकै कठिन हुने देखिएको छ ।

आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सहभागी नेपालले आफ्नो प्रमुख लक्ष्य भेट्ने हो भने अब न्यूनतम २ खेल जित्नै पर्ने अवस्था आएको छ । कि त समूह चरणमा बाँकी दुवै खेल, नभए सातौं प्लेसका लागि हुने प्लेअफका दुवै खेल जित्नुपर्ने हुन्छ । अन्यथा नेपाली क्रिकेटले आगामी चारवर्ष एकदिवसीय टोलीका रूपमा रहने स्वर्णिम मौका गुमाउने छ ।

प्रतियोगितामा सहभागी १० मध्ये ५ वटा (वेस्ट इण्डिज, जिम्बाब्वे, अफगानिस्तान, आयरल्याण्ड र नेदरल्याण्ड्स) टोलीसँग यो मान्यता छ । त्यसमा ४ वटा (वेस्ट इण्डिज, जिम्बाब्वे, अफगानिस्तान र आयरल्याण्ड) त टेस्ट टीम नै हुन् । बाँकी ५ एसोसिएट टीम (नेपाल, स्कटल्याण्ड, युएई, हङकङ र पपुवान्युगिनी)मध्ये शीर्ष ३ ले ४ वर्षका लागि एकदिवसीय मान्यता पाउनेछन् ।

नेपाल रहेकै समूह ‘बी’मा रहेको स्कटल्याण्डले लगातार ३ खेल जित्दै शीर्ष ६ मा स्थान पक्का गरिसकेको छ । हालसम्मको नतिजा हेर्दा उसको एकदिवसीय मान्यता करीब पक्का भएको छ । नेदरल्याण्ड्सबाहेकका कम्तिमा ४ वटा एसोसिएट टीम शीर्ष ६ मा पुगेमा मात्र स्कटल्याण्डले एकदिवसीय मान्यता पाउन कुर्नुपर्ने हुन्छ, त्यो सम्भावना अहिले देखिएको छैन । त्यसैले एकदिवसीय मान्यता पाउने ३ मध्ये स्कटल्याण्ड एक टोली पक्का हो ।

बिहीबार भएको खेलमा नेदरल्याण्ड्सलाई युएईले पराजित गर्नु स्कटल्याण्डबाहेकका बाँकी एसोसिएट टोलीका लागि टाउको दुखाइको विषय बनेको छ । युएईले आफ्ना ३ मध्ये २ खेल जितेको छ । जसले उसलाई अंकतालिकाको तेस्रो स्थानमा कायम राखेको छ ।

समूहका ५ मध्ये पपुवान्युगिनी शीर्ष ६ मा नपर्ने पक्का भइसक्दा हालसम्मका दुवै खेल हारेको नेदरल्याण्ड्सलाई पनि सुपरसिक्समा पुग्न निकै कठिन देखिएको छ । नेदरल्याण्ड्सले अब वेस्टइण्डिज र पपुवान्युगिनीसँग खेल्न बाँकी छ । नेटरनरेट निकै नकारात्मक रहेको अवस्थामा नेदरल्याण्ड्सले बाँकी दुवै खेल जितेर मात्र पुग्नेछैन, रन रेटमा पनि निकै सुधार गर्नुपर्नेछ ।

यदि त्यसो हुन नसकेमा युएई बाँकी खेल हार्दा पनि शीर्ष ६ मा पुग्नेछ । यसरी हेर्दा एकदिवसीय मान्यता पाउने दोस्रो टोली युएई हुने सम्भावना निकै प्रबल छ ।

बाँकी १ स्थानका लागि ३ टोलीको भिडन्त !

 

एकदिवसीय मान्यता पाउने २ टोलीको चित्र लगभग प्रष्ट भइसक्दा अब नेपाल, हङकङ र पिएनजीमध्ये १ टिमले मात्र त्यो सुनौलो मौका पाउने देखिन्छ । दौडमा बिहीबार अफगानिस्तानलाई हराएको हङकङ सबैभन्दा अघि छ ।

नेपाल २ र पिएनजी ३ खेल हारेर अंकविहीन छन् । यस्तो अवस्थामा हङकङले नेपाललाई हराए पुग्छ । तर नेपालले बाँकी २ खेलमा अफगानिस्तान र हङकङ दुवैलाई हराउनुपर्ने हुन्छ । अझ हङकङले जिम्बाब्वेलाई हराउन सके नेपालले बाँकी दुई खेल जितेर पनि रनरेटको भर पर्नुपर्ने अवस्था आउनसक्छ ।

नेपालसामु दुई मात्र बाटो

पहिलो : समूहका दुवै खेल जित्ने

समूहका बाँकी दुवै खेल (अफगानिस्तान र हङकङसँग) जित्दा नेपालले एकदिवसीय मान्यता मात्र होइन सुपरसिक्समा पुग्ने अवसर पनि पाउनसक्छ । तर हङकङले जिम्बाब्वेलाई हराउन सके दुई खेल जितेर पनि नेट रनरेटमा अघि रहनुपर्ने हुन्छ । नेपालको नेट रनरेट -१.६ र हङकङको -०.८ मा छ । हङकङले जिम्बाब्वेलाई जितेको खण्डमा नेपाललाई दुवै खेलमा प्रभावशाली जित आवश्यक पर्नसक्छ ।

दोस्रो :सातौं हुने

स्कटल्याण्डजस्तै युएई र हङकङले पनि सुपरसिक्समा स्थान बनाए भने यो बाटो सबैका लागि बन्द हुनेछ । यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ । सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रश प्लेअफ हुनेछ । समूह ‘ए’मा चौंथो हुने टोलीले समूह ‘बी’को पाँचौं र समूह ‘बी’मा चौंथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन् ।

दुवै खेल जित्ने टोलीले सातौं स्थानका लागि खेल्नेछन्,भने हार्ने दुईले नवौं स्थानका लागि आमनेसामने हुनेछन् । यदि प्लेअफको पहिलो खेल जितेमा सातौं स्थानका लागि हुने खेल पनि जितेर एकदिवसीय मान्यता पाउन सकिन्छ । स्मरण रहोस्, त्यसका लागि स्कटल्याण्डजस्तै युएई र हङकङ दुवै सुपरसिक्समा पुग्नुहुँदैन, एक टिम असफल हुनुपर्छ ।

सभार लोकान्तर

Shares

Be the first to comment on "एकदिवसीय मान्यता पाउने दुई टोली लगभग पक्का, बाँकी १ मा यस्तो छ नेपालको सम्भावना"

Leave a comment

Your email address will not be published.


*