”उहाँको निष्ठा आदर्श त्याग राजनीतिमा स्खलन भएको छ ”

केशब चौलागाई

म गौरीशंकर क्याम्पसको स्ववियु सभापति थिए । अखिल भन्नेहरु मलाई मन पर्दैनथ्यो,नेविसंघ पनि छ भन्ने मलाई सुझाउने मान्छे थिएन । म केवल विद्यार्थीहरुको नेता थिए । मलाई तात्कालिन पञ्चहरुले हाम्रो संघठनको जीत भयो भनेर दावी गरे । मैले अस्वीकार गरिन तर, मेरो राज्य व्यवस्था वदल्ने चाह विभिन्न समाहरोहमा प्रकट हुँदा अञ्चालाधीश लगायतका पञ्चायतका नेताहरु भित्र भित्रै नाराज थिए । मुलुकमा प्रजातन्त्रको पुनर्वहालीको लागि आन्दोलन चलिरहेको थियो । आन्दोलनप्रति ऐक्यवद्धता जनाउन स्ववियुको तर्फबाट क्याम्पसमा हड्तालको घोषणा गरियो र आन्दोलनकारीहसँग उठबस चल्न थाल्यो । जिल्लामा खासै प्रदर्शन भएन । पर्चाहरु छर्ने, लुकीलुकी कालो झण्डाहरु गाड्ने कामहरु र सडकमा पञ्चायत व्यवस्था मुर्दावाद भनेर लेख्ने लेखाउने कार्य गरिन्थ्यो । आन्दोलनको उत्तरार्धतिर तारा बहादुर कोईराला, रामजीवन सिंह, ताराबहादुर कार्की, बद्री चौलागाई, कृष्ण भुजेल, बद्रीभक्त श्रेष्ठ,कृष्ण भुजेल ,कुबेर थापा लगायतका साथीहरु कुबेर थापाको घरमा मिटिङ गरेर आन्दोलनका विभिन्न कार्यक्रमहरु बनायौं । चैत्र २४ मा पञ्चायती संविधान जलाउने कार्यक्रम थियो । त्यसको तयारी हुँदाहुँदै पञ्चायती व्यवस्था लर्खरायो । २६ गते त दलमाथिको प्रतिवन्ध हट्यो । ठाउँ ठाउँमा विजय जुलुस हुन थाले । दोलखा वजारको विजय जुलुस र सभालाई मैले पनि सम्बोधन गरेको थिए । जिल्लाका अन्य ठाउँहरुमा के कस्ता आन्दोलन भए मलाई खास थाह भएन । बैशाख ५ गते संयुक्त वाम मोर्चाको आयोजनामा विजय जुलुस र चरिकोटको टुंडीखेलमा सभा गरियो । त्यस सभामा फाट्टफुट्ट चारतारे झण्डाहरु पनि देखिन्थ्यो । त्यही सभामा लालकुमार केसी र मैले “आमा दिदी बैनीहो कति वस्छौ ,दासी भै’ भन्ने गीत गाएका थियौं ।” त्यो समयमा पशुपति चौंलागाई र रितबहादुर खड्कालाई थुनेको रहेछ । उनीहरु थुनामुक्त भएर त्यही सभामा आई पुगे । उनीहरुलाई सिन्दुर अविरले स्वागत गरियो । पशुपति चौंलागाईलाई त्यही दिन देखेको र भेटेको थिए । कथनी र करणीको तालमेल हुनु पर्छ भन्ने मान्यता राख्ने मलाई वामपन्थीहरुको राजनीतिले आकर्षित गर्न सकेन । त्याग तपस्याको चर्चा पाएका भीमबहादुर दाइलाई भेटेपछि नेविसंघ सम्हाल्ने जिम्मेवारी पनि दिनुभयो । म त्यही जेठ महिनादेखि नेपाली कांग्रेससंग आवद्ध भए र आजसम्म कृयाशील छु ।

त्यसपछि विभिन्न दलका नेताहरुँंग उठवस, छलफल वहस चल्न थाल्यो । तर पशुपति दाजुसँग त्यत्रो भेराईंचो भएन । “छ्यास्स छुस्स भेट त हुन्थ्यो ”खासै कुरा हुन्नथ्यो ।०५४ सालपछि जिल्ला बिकास समितिका सभा गोष्ठीहरुमा कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्न अक्सर म जाने गर्थें । ति समारोहमा कहिलेकाही भेट हुने गथ्र्यो । सायद मेरा विचार र प्रस्तुति मन पथ्र्यो होला मलाई धाप मार्नु हुन्थ्यो । ०६२–०६३ पछि हाम्रो भेराईंचो बढ्दै गयो । सद्भाव प्रकट हुन थाल्यो, सम्बन्ध अलि पारिवारिक बन्दै गयो । पार्टीगत कटाक्ष गर्न उहाँ पनि कम हुनुहुन्नथ्यो । तर व्यक्तिगत सद्भाव चाहिँ कहिलै घटेन । भीम दाईको अवसान भएपछि जिल्लाका नेताहरुमा पशुपति दाईलाई आदर्शको पथमा देख्न थालेका थिए मान्छेहरुले । केन्द्रीय तहमा पुगिसकेका दाजु पशुपतिलाई डनवाद र धनवाद हावी हुँदै गएका एमालेले जिल्लामा घेरावन्दी गर्न थाले । ०७४ को निर्वाचनमा उनलाई प्रदेससभा सदस्यको उम्मेदवारमा टक्र्याईयो । त्यो पनि अर्को निर्वाचन क्षेत्रमा । कांग्रेसको तर्फबाट म स्वयं उम्मेद्वार थिए । उहाँको निष्ठा,आदर्श ,त्याग र ईमानको राजनीति यही स्खलित भएको थियो । उहाँप्रति मेरो सद्धभाव हुंदा हुँदै पनि मैले निकै कटाक्ष गरेको थिए । आफ्नै पार्टीबाट अपहेलना व्यहोरेका आदरणीय दाजुलाई मैले निर्वाचनको प्रचलित परम्परा तोडेर नयाँ संस्कृति बसालौं भनेर सभाहरुमा खुल्ला आव्हान पनि गरे । “गाडी, घोडा, चुल्ठे मुन्द्रे, डन , धन , दौडादौडी सब बन्द गरौ , संयुक्त सभा आयोजना गरौ” , जिल्लाका एफ एमहरुबाट प्रत्यक्ष प्रशारण गरौं , आ–आफ्ना नीतिहरु प्रस्तुत गरौं, नयाँ परिपाटी थालनी गरौं, हार जित जे भएपनि एउटा परिपाटी सुरुवात गरौं, धेरै पटक भनें । दाजुले मेरो कुरालाई उपेक्षा गर्नु भयो । सायद उहालाई आफ्नो प्रतिष्ठा रक्षाको दवाव थियो । जसरी पनि जित्नै पर्ने थियो । पछिल्ला दिनमा केपी ओलीको हुकुमभित्र दाजुमा अन्तरनिहित सत्य डगमगाउन थाल्यो । आफैलाई न्याय गर्न नसकेका धारणाहरु प्रकट हुन थाले । केही आउरे भाउरेहरु संघीय माननीय भैरहंदा पशुपति चौंलागाई प्रदेश सभामा त्यो पनि निम्जो देखिनु संगति लाग्दैनथ्यो । केही कमी कमजोरीका वावजुद,राजनैतिक छुवाछुत,राजनीतिको अपराधीकरण गर्नु भएन । उहाँ सु–संस्कृत राजनैतिक संस्कारकै पथमा हुनु हुन्थ्यो । आर्थिक पृष्ठभूमि पनि औसत जनताकै जस्तो थियो । सबैलाई माया गर्नु हुन्थ्यो । महामारीमा पर्नु भो,उचित उपचार मिलेन भन्ने गुनासो पनि सुनियो । एउटा प्रिय मान्छे गुमाउनु परेकोमा अत्यन्त दुख लागेको छ । १३ औं पुण्यतिथिको अवसरमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु !(लेखक २०७४ सालको प्रदेशसभा निर्वाचनमा पशुपति चौलागाईका निकटतम प्रतिद्वन्द्वी हुन)

Shares

Be the first to comment on "”उहाँको निष्ठा आदर्श त्याग राजनीतिमा स्खलन भएको छ ”"

Leave a comment

Your email address will not be published.


*