चरिकोट (दीस) ः आगामी मंसिर १६ गते हुने गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदमा हुने उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवार चयन गरेको छ । बिहीबार पालिकास्तरीय बैठकले उपप्रमुख पदका लागि निमलेकी शेर्पालाई सर्वसम्मत रुपमा उम्मेदवारका रुपमा चयन गरेको हो । हाल नेकपा माओवादी केन्द्र गौरीशंकर पार्टीकी कोषाध्यक्ष रहनु भएकी शेर्पालाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय नेकपा माओवादीका केन्द्रीय सदस्य विशाल खड्काले जानकारी दिनु भयो । शेर्पा हाल स्वास्थ्य स्वयंसेविकामा सक्रिय रहनु भएको छ ।
स्थानीय तहको उपनिर्वाचनमा दोलखाको गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदमा राजनैतिक दललाई महिलालाई अनिवार्य उम्मेद्वार बनाउन निर्वाचन आयोगले यस अघि नै निर्देशन दिएको छ । स्थानीय तहमा आयोगले गरेको निर्णयमा हाल प्रमुख पदमा पुरुष निर्वाचित छन्, त्यहाँ उपप्रमुख पदमा महिलालाई अनिवार्य रूपमा उम्मेदवार बनाउनु पर्ने व्यवस्था गरेको छ । सोही कारण गौरीशंकर गाउँपालिकामा राजनैतिक दलहरुले महिलालाई नै उम्मेद्वार बनाउनु पर्ने छ । हाल सो पालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रबाट विश्वास कार्की रहनु भएको छ ।
दोलखाका प्रमुख दलहरु नेकपा एमाले र नेपाली कांगे्रसले हालसम्म उपनिर्वाचनका लागि उम्मेद्वार घोषणा गरेका छैनन् । गौरीशंकर गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका श्यामसुन्दर तामाङ निर्वाचित हुनु भएको थियो ।
उहाँले ४ हजार ७ सय ४१ मत ल्याउनु भएको थियो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी मुना शिवाकोटीले ३ हजार २ सय ८१ मत प्राप्त गर्नु भएको थियो । नेपाली कांग्रेसबाट निर्वाचित तामाङको गतबर्ष हृदयघातका कारण निधन भएको थियो । उहाँको निधन पछि उपप्रमुख पदमा निर्वाचन हुन लागेको हो ।गत बर्ष निर्वाचन भएको गठबन्धन हाल केन्द्र देखि प्रदेश सम्म भत्किएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेले निर्वाचनको बेला गठबन्धन नगर्ने बताउदै आएका छन् । सोही कारण पनि उपप्रमुख पदमा तीन दल बीच कडा प्रतिष्पर्धा हुनसक्ने जानकारहरुले बताएका छन् ।
निर्वाचन आयोगले मंसिर १६ गते नै गौरीशंकर गाउँपालिकासहित देशका विभिन्न स्थानीय तहमा प्रमुखदेखि वडा अध्यक्षसम्मको रिक्त पदका लागि निर्वाचन मार्फत ती स्थानमा जनप्रतिनिधी निर्वाचित गर्दैछ ।
Be the first to comment on "उपप्रमुख पदमा माओवादी केन्द्रबाट निमलेकी शेर्पा उम्मेद्वार हुने"