उज्यालो भविष्य संस्थामा नयाँ नेतृत्व

दीक्षण समाचार
चरिकोट, असार ४
शनिबार उज्यालो भविष्य संस्था दोलखाको नयाँ नेतृत्व चयन भएको छ । सदरमुकाम चरिकोटमा आयोजित चौँथो साधारणसभाले पुनः राजन बस्नेतको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णकुमारी जोशी, उपाध्यक्षमा लक्ष्मी थापा, महासचिवमा निर्जला आचार्य, सविचमा सिर्जना श्रेष्ठ, कोषाध्यक्षमा शकुन बस्नेत चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा राम ओली, शुसिला श्रेष्ठ, प्रकाश बस्नेत, ईश्वर बिश्वकर्मा र अम्बिका सुवेदी (मैनाली) चयन हुनुभएको छ । कार्यक्रम संयोजकमा भरत बस्नेत चयन हुनुभएको छ। संस्थाले नाम र उद्देश्य अनुरूप सामाजिक कार्य निरन्तर गरिरहेको अध्यक्ष बस्नेतले बताउनुभयो । आफ्नो नेतृत्वको नयाँ कार्य समितिले नयाँ उर्जा र उत्साहका साथ सामाजिक कार्यमा सक्रिय हुँदै समाजमा रूपान्तरणकारी भूमिका प्रदर्शन गरिने उहाँले बताउनुभयो । विशेषगरि महिला, बालबालिका र युवाको क्षेत्रमा काम गर्दै आएको संस्थाले समाजमा सचेतनामूलक कार्यदेखि सहयोग र सहकार्यको माध्यमबाट समाजमा उज्यालो छर्ने प्रयत्नशील भइरहेको अध्यक्ष बस्नेतले बताउनुभयो ।
साधारण सभाको उद्घाटन भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले गर्नुभएको थियो । सो अवसरमा उहाँले संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै सामाजिक भावना र चेतनाले ओतप्रोत संस्थाले समाजमा पु¥याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले सामाजिक सङ्घसंस्थाहरूले महिला, बालबालिका र दलित जनजाति लगायत पिछडिएका, पछि पारिएका वर्गको निम्ति काम गरी उनीहरूको उत्थानमा सहयाेग गर्नुपर्ने बताउनुभयो । गत बैशाख ३० गते निर्वाचित प्रमुख मानन्धरले आफूलाई ’मेयर साहेब‘ भन्दा पनि नजिकको नातेदारको रुपमा लिन नगरवासीलाई आग्रह गर्नुभयो । ” मलाई मेयर साहेब भन्दा पनि दाजुभाइ वा नजिकको नाताले सम्बोधन गर्दा खुशी लाग्छ ।“ उहाँले भन्नुभयो ” म मेयर साहेब होइन, तपाइकै आफन्त वा नजिकको नातेदार हुँ ।“
साधारण सभाको अवसरमा संस्थाले विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई सम्मान गरेको छ । जिरी अस्पतालमा कार्यरत डाक्टर देवेन्द्र गौतम, भीमेश्वर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरिशरण शिवाकोटी र पत्रकार दीपक बस्नेतलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको हो । संस्थाले आफ्नो साधारणसभाको अवसरमा गौरीशंकर बालगृहलाई खेलकुदको सामाग्री प्रदान गरेको छ । बालगृहमा आश्रित बालकहरूका खेलप्रतिको लगाबमा बढोत्तरी गर्नका भलिबल र फुटबल वितरण गरिएको संस्थाका अध्यक्ष बस्नेतले बताउनुभयो ।

Shares

Be the first to comment on "उज्यालो भविष्य संस्थामा नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*