इन्टरनेट प्रदायकलाई विद्युत प्राधिकरण दोलखाको पत्र

इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक ४
नेपाल विद्युत प्राधिकरण दोलखाले पोल भाडा तिर्न सम्झौताको लागि आउन अनुरोध गरेको छ । प्राधिकरणको पोल प्रयोग गरी सेवा प्रवाह गरिरहेका इन्टरनेट सेवा प्रदायक कम्पनी, टेलीफोन, केबल टेलिभिजन सेवा प्रदायकलाई पत्राचार गरी कार्तिक महिनाभित्र सम्झौताको लागि आउन अनुरोध गरेको हो ।

भाडा तिर्ने सम्झौताको लागि आउन प्राधिकरणले पटकपटक गरेको अनुरोधको इन्टरनेट कम्पनीहरुले वेवास्ता गरेपछि असोज दोस्रो साता केन्द्रको निर्देशन अनुसार साँकेतिक रुपमा भीमेश्वर नगरपालिका–२ दोलखा बजारस्थित एक पोलमा टांगिएको इन्टरनेटको तार काटिदिएको थियो । जसले गर्दा बजारका केही स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । देशैभर सांकेतिक रुपमा इन्टरनेटका तार काटिएपछि इन्टरनेट सेवाबाट सेवाग्राही वञ्चीत भएका थिए । यसले सेवाग्राही मर्कामा परेको भन्दै केही दिनपछि नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, उर्जा तथा जलश्रोत मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीबीच भएको छलफलले तोकिएको भाडा तिर्ने सहमति गरेको थियो । सोही सहमती अनुसार दोलखामा पनि पोल प्रयोग गर्ने कम्पनीहरुले पोल भाडा तिर्न सम्झौताको लागि आउन कार्तिक मसान्तसम्मको म्याद दिइएको प्राधिकरणका इन्जिनियर राजेन्द्र चौधरीले बताउनुभयो ।

उहाँका अनुसार पोल प्रयोग गर्नेहरुलाई सम्झौताको लागि आउन असोज १८ गते पत्राचार गरिएको हो । तर पत्राचार गरेको दुई साता बित्न लाग्दा पनि अहिलेसम्म कुनैपनि कम्पनीले सम्झौता गर्न आएका छैनन् । जिल्लाका विभिन्न स्थानमा वल्र्ड लिंक, सुविसु, एरोनेट लगायतका कम्पनीहरुले विद्युत प्राधिकरणको पोल प्रयोग गरी आफ्नो सेवा व्यापक रुपमा विस्तार गरिरहेका छन् । तर कुनैपनि कम्पनीले पोल भाडा तिर्ने गरेका छैनन् ।

Shares

Be the first to comment on "इन्टरनेट प्रदायकलाई विद्युत प्राधिकरण दोलखाको पत्र"

Leave a comment

Your email address will not be published.


*