आरोग्य सेवा केन्द्रमा बिरामीको चाप

चरिकोट, ईस्वर विक /दोलखामा फाल्गुनदेखि ३ वटा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएका छन् । कोरोना कालमा आयुर्वेद उपचार पद्दतिको महत्व र लोकप्रियता बढ्दै गएको बेला घरआँगनबाटै यो सेवा निशूल्क उपलब्ध गराउने उद्देश्यले आरोग्य केन्द्र सञ्चालन गरिएको हो । यस्ता सेवा केन्द्र विगु गाउँपालिकाको वडा नं. ४ स्थित सिंगटी, शैलुङ गाउँपालिका वडा नं. ३ स्थित काटाकूटी र तामाकोशी गाउँपालिका वडा नं. ३ स्थित छौँडेमा रहेको छ । यी सेवा केन्द्रबाट आरोग्य केन्द्रहरुमा एक कविराज÷ बैद्य र एक जना सहयोगीले बिरामीको स्वास्थ्य परीक्षण, औषधी वितरण तथा योगाभ्यास लगायतका सेवा निशूल्क प्रदान गरिरहेका छन् । छौँडेमा फाल्गुन ७, सिंगटीमा १० गते र काटाकूटीमा २२ गते सेवा केन्द्रको उद्घघाटन गरिएको थियो । ३ वटै सेवा केन्द्रबाट सेवा लिनेको संख्या उच्च रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाकी डाक्टर पुनम नेपालले बताइन् । सेवा केन्द्रमा दैनिक १० देखि ३० जनासम्म बिरामी तथा सेवाग्राही सेवाका लागि आउँदछन् । शुक्रबारसम्ममा छौँडे सेवा केन्द्रबाट ८ सय ११, काटाकूटी केन्द्रबाट २ सय ५० जना र सिंगटी केन्द्रबाट ३ सय ८९ जना बिरामीले औषधी तथा उपचार सेवा लिएका छन् । उपचार सेवा लिएका मध्ये बाथ र पेट सम्बन्धी समस्या भएका बिरामी बढी रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका बैद्य निरीक्षक हरीनारायण महत्तोले बताए । आयुर्वेदिक औषधीले तुलनात्मक रुपमा ढिलो तर स्थायी रुपमा राहत दिने भएकोले पनि यो उपचार पद्धति निकै प्रभावकारी रहेको र निशूल्क सेवा पाउने भएपछि आरोग्य सेवा केन्द्रप्रति नागरिकहरुको आकर्षण बढेको हो । आरोग्य केन्द्रको कार्यालय सञ्चालनका लागि स्थानीय सरकारले कोठा व्यवस्थापन गरिदिएका थिए । जसमध्ये सिंगटीमा २ वटा, छौंडेमा ३ वटा वटा र बाघखोरमा २ वटा कोठामा सेवा केन्द्र सञ्चालित छ । निकट भविष्यमा थप कर्मचारी र कोठाको व्यवस्थापन गरी आयुर्वेद उपचार पद्धतिको सम्पुर्ण सेवा आरोग्य केन्द्रबाट उपलब्ध हुने जनाइएको छ । यसका निम्ति स्थानीय सरकारले पनि आवश्यक सहयोगको प्रतिबद्धता जनाएका छन् ।
Shares

Be the first to comment on "आरोग्य सेवा केन्द्रमा बिरामीको चाप"

Leave a comment

Your email address will not be published.


*