आफ्नै भवनबाट वडाको सेवा प्रवाह सुरु

इश्वर बिश्वकर्मा
चरिकोट, साउन ३०
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ४ को सेवा प्रवाह वडा कै पक्की भवनबाट सुरु भएको छ ।
भीमेश्वर नगरपालिकाको ७२ लाखकाे लागतमा जिलु स्थित डाडाँगाउँमा निर्माण सम्पन्न भएको चार कोठे पक्की भवनबाट सेवा प्रवाह सुरु भएको हो ।
शुक्रबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले वडा कार्यालय उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै पाण्डेले समृद्धिको चाहना पुरा गर्न नागरिकको तर्फबाट पनि सहयोग हुनु पर्ने बताए । उनले कृषिमा उर्वर जिलुलाई अझै चर्चित बनाउन राजनितिक दलभन्दा माथी उठेर काम गर्नुे पर्ने धारणा प्रस्तुत गरेका थिए ।
२०७५ माघबाट निर्माण सुरु गरिएको १ तले भवन १८ महिनापछि निर्माण सम्पन्न भएको हो । कार्यालय भवनमा हल र महिला पुरुषको लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था रहेको वडाध्यक्ष हरिवंश चौलागाईँले बताए । भवनमा वडा प्रशासन शाखासहित प्राविधीक शाखा र कृषि भेटेनरी शाखा सञ्चालन हुने उनले बताए । कार्यालय भवन निर्माणका लागि स्थानीय कृष्ण प्रसाद घिमिरे, गणेश बहादुर केसी, विर बहादुर चौलागाईँले ११ आना जग्गा दान गरेका थिए । १९ सय वर्गमिटर सार्वजनिक जग्गा वडा कार्यालयका लागि प्रयोग गरिएको छ । यसअघि टहलेस्थित भाडाको भवनबाट वडाको सेवा प्रवाह हुदैँ आएको थियो ।
भवन उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्का, नेपाली काँग्रेस महासमिति सदस्य केशवराज चौलागाईँ लगायतले मन्तव्य राखेका थिए ।

Shares

Be the first to comment on "आफ्नै भवनबाट वडाको सेवा प्रवाह सुरु"

Leave a comment

Your email address will not be published.


*