आज फागुपूर्णिमा, अराजकता विरुद्ध दोलखा प्रहरी सक्रिय

ईश्वर बिश्वकर्मा
चरीकोट, चैत्र ३
वसन्त ऋतुको आगमनसँगै मनाइने होली यो बर्ष पहाडी जिल्लामा बिहीबार मनाइँदै छ। शुक्रबार तराईका जिल्लामा मनाईने छ। सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्वको होली पर्व हिन्दु धर्मावलम्बीहरुले विषेश पर्बको रुपमा मनाउने प्रचलन छ। होलीमा एकापसमा खुशी र सद्भाव कायम राख्दै मिठा परिकार सेवन गर्दै रंग र अबिर दलेर मनाइन्छ।
रंगहरुको पर्व होली आपसमा मिलेर मनाउँदा संस्कृति र परम्पराको जोगिन्छ । तर यहि पर्वको बाहानामा हुने अराजकता र उच्छृङ्खलाताले कसैलाई फाइदा गर्दैन। दोलखामा होलीको दिन त्यस्ता अराजकता र उच्छृङ्खलताको विरुद्ध प्रहरी खरो रुपमा प्रस्तुत हुने भएको छ। इच्छा हुनेले मेलमिलाप र सम्बन्ध बढाउन सौहार्दपूर्ण तरिकाले रंगहरु छ्यापी होली मनाउनु पर्छ। होलीको विषेशता र महत्व पनि यहि हो । तर व्यक्तिको इच्छा बिना रंग दल्ने, लोला हान्ने, नियम विपरीत सवारी चलाउने, मदिरा तथा लागुपदार्थ सेवन गर्ने लगायतका उच्छृङ्खल, अमर्यादित तथा अपराधिक गतिविधि हुन सक्छ। सोको मध्यनजर गर्दै अन्य दिनको तुलनामा होलीका दिन केही बढी प्रहरी परिचालन भएका छन्। उच्छृङ्खलता र अवाञ्छित गतिविधि हुन नदिने र भइहालेमा तत्काल नियन्त्रणका लागि सतर्कतापूर्वक तयारीका साथ प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो। उहाँले भन्नुभयो “ होलीमा खुशी र माया साटासाट गरी रंग दलेर खुशीयाली मनाइन्छ। तर मनोवृत्ति नकारात्मक भएकाहरुले होलीको महिमा र महत्व विपरित गर्छन् । उनीहरूले जोखिम र दुर्घटना पनि निम्ताउन सक्छन् । त्यसैले प्रहरी तम्तयार भइ मुख्य र भीड हुने बजारमा खटिएको छ।“ होली केन्द्रीत सुरक्षा योजना बनाएर प्रहरीले सक्रियता बढाएको हो । उहाँले भन्नुभयो “ प्रहरीको मुख्य उद्देश्य नै होली पर्व सुरक्षित, दुर्घटना रहित र मर्यादित बनाउनु हो । त्यहि उद्देश्य अनुरुप सुरक्षाको प्रत्याभूति दिन हाम्रो उपस्थित र सक्रियता हुन्छ।“ यस्तो बेला मानिसहरू रमाइलोमा व्यस्त हुन्छन्। रमाइलोको वाहनामा अनियन्त्रित हुनेहरु पनि बढ्न सक्छन् । त्यसको नियन्त्रण प्रहरीले गर्ने उहाँले बताउनुभयो। होलीको दिनभर जिल्लाका चरीकोट, जिरी, सिंगटी लगायतका मुख्य बजारमा प्रहरी जनशक्ति थप परिचालन हुने छन् । यो बेला ट्राफिक नियम उल्लघंन हुन सक्छ । त्यसको समेत नियन्त्रण गर्न ट्राफिक प्रहरीले अनुगमनका साथै कारबाही गर्ने छ । यसैबीच प्रहरीले होली मनाउँदा मर्यादित हुन सबैलाई अनुरोध गरेको छ । आफू रमाउँदा अरुलाई हानी र हैरानी नहुने गरी होली मनाउन प्रहरीको आग्रह छ । गएका दुई वर्षमा कोरोनाका कारण होली पर्व उल्लासमय भएको थिएन । तर यो वर्ष कोरोना साम्य भएकोले सावधानी अपनाउँदै हर्षाेल्लासको होली हुने भएको छ । पछिल्ला वर्षहरुमा होली आउनुभन्दा एक महिना पहिल्यै लोला हान्ने र रंग दल्ने गलत प्रवृत्तिको भने अन्त्य भएको पाइएको छ ।

Shares

Be the first to comment on "आज फागुपूर्णिमा, अराजकता विरुद्ध दोलखा प्रहरी सक्रिय"

Leave a comment

Your email address will not be published.


*